झापा, १२ असार । कोशी प्रदेशका १४ जिल्लामै डेंगुको संक्रमण फैलिएको स्वास्थ्य निर्देशानालय धनकुट्टाले जनाएको छ ।
निर्देशानालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा तीन हजार १८१ जना डेंगु संक्रमित रहेका छन् । जसमा तीन जनाको मृत्यु भएको उहाँले बताउनुभयो । पहाडी जिल्लामा डेंगु संक्रमित अत्यन्त न्यून रहे तापनि तराईका चार जिल्लामा बढी रहेको निर्देशानालको तथ्याङ्कले देखाएको छ ।
हालसम्म मोरङमा ९१३, झापा ८९७, सुनसरी ३७७, उदयपुरमा २७५, भोजपुर २२६, धनकुट्टा १४३, ओखलढुंगा १२१, पाँचथर ७०, खोटाङ १०, ताप्लेजुङ २, इलाम ५, सोलुखुम्बु ६ र तेह्रथुम दुई जनामा डेंगुको संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले विगत ५० बर्षको अवधिमा विश्वमा डेंगुको संक्रमण ३० गुणाले बढेको पाइएको बताउनुभयो । उहाँले प्रत्येक जिल्लामा स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्यकर्मीहरुद्वारा खोजपडताल र नष्ट गर्ने कार्यक्रम भइरहेको बताउनुभयो ।
निर्देशानालयकी अधिकृत खत्रीले एडिज एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोकेमा डेंगुको संक्रमण हुने हुँदा पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउन अनुरोध गर्नुभएको छ । “डेंगु हुनबाट बच्ने एउटै मात्र उपाय भनेको लामखुट्टेको टोकाईबाट जोगिने हो”, उहाँले भन्नुभयो, “घर वरिपरि सफा राख्ने र पानी जम्ने भाँडाकँुडा हटाउने गरेमा पनि एडिज जातको लामखुट्टेबाट बच्न सकिन्छ ।”
असाध्यै शरीर दुख्ने, खाना मन नलाग्ने, पखाला लाग्ने, उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु आदि डेंगुको लक्षण रहेको उहाँको भनाई छ । उहाँले यिनै लक्षणका आधारमा चिकित्सकहरुले डेंगु संक्रमितको किटको माध्यमबाट चेकजाँच र उपचार गर्ने उहाँले बताउनुभयो ।