झापा, १४ साउन । मेचीनगर नगरपालिकाले शारीरिक अपांगता भएका २०५ जनालाई ह्वीलचियर लगायतका सहायक सामग्री वितरण गरेको छ ।
वितरण गरिएका सहायक सामग्रीमा १८ वटा ह्लीलचियर, चार वटा सीपी ह्वीलचियर, २८ वटा बैशाखी, ५० वटा वाकिङ स्टिक, २० वटा वाकिङ फ्रेम, १५ वटा टोइलेट चियर, २५ वटा वाइट केन, २५ वटा कान सुन्ने मेसिन, १० वटा एयर मेट्रेस, एउटा एलएस बेल्ट, आठ वटा एल आकारको स्टिक र एउटा ट्राइपड स्टिक रहेको महिला, बालबालिका तथा समाज कल्याण शाखाकी प्रमुख जयन्ती खरेलले बताउनुभयो ।
वितरण गरिएका सामग्रीको मूल्य रु. २० लाख ४२ हजार रहेको छ । सीपी ह्वीलचियरको एउटाको मूल्य रु. एक लाख पाँच हजार पर्छ ।
कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, मेचीनगर नगरपालिका र करुणा फाउन्डेसनको साझेदारीमा सञ्चालित ‘अपांगता रोकथाम कार्यक्रम’ अन्तर्गत ती सामग्री वितरण गरिएको करुणा फाउन्डेसन नेपालका मेचीनगर संयोजक पदमबहादुर बराइलीले बताउनुभयो ।
मेचीनगर –१ का १७ वर्षीय राहुल गुरागाई जन्मजात हातखुट्टा नचल्ने र बोल्न नसक्ने शारीरिक अपांगता भएको व्यक्ति हुनुहुन्छ । उहाँले सीपी ह्वीलचियर पाउनु भएको छ ।
“जन्मेदेखि नै राहुल ओछ्यानमा छ,’ वुवा भूमि गुरागाईले भन्नुभयो –“ओछ्यानमै खुवाइदिनु पर्छ, ओछ्यानबाटै दिशापिसाव सोहोर्नु पर्छ । बाहिर कतै लैजाँदा काँधमा बोकेरै लैजान पर्छ । मेचीनगरले सीपी ह्वीलचियर दिएपछि धेरै राहत महसुस भएको छ ।”
नगरप्रमुख गोपाल बुढाथोकीले अपांगता भएका व्यक्तिको जीवनयापन सहज होस् भनेर यस्ता सहायक साम्रग्री वितरण गरिएको बताउनुभयो ।
विर्तामोडमा २९ जनालाई पठनपाठन
विर्तामोड नगरपालिकाले अपांगता रोकथाम कार्यक्रम अन्तर्गत २९ जना शारीरिक अपांगता भएका व्यक्तिलाई पठनपाठनको व्यवस्था गरेको छ ।
जसमध्ये १६ जनालाई घरमै शिक्षक पठाएर पढ्ने व्यवस्था मिलाइएको र १३ जनालाई विद्यालयमा भर्ना गरिएको उपप्रमुख नगेन्द्र संग्रौलाले बताउनुभयो । उहाँले नगरपालिकाले अपांगता पहिचान तथा परिचय पत्र वितरण, घरमै पुगेर तथ्यांक संकलन, शिविर सञ्चालन र सहायक सामग्री वितरण लगायतका कार्य गरेको जानकारी दिनुभयो ।
कोशी प्रदेश सरकार, बिर्तामोड नगरपालिका र करूणा फाउन्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारी र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा विर्तामोडमा अपांगता रोकथाम कार्यक्रम सञ्चालन भइरहेको छ ।
महिला बालबालिका तथा समाज कल्याण शाखाकी अधिकृत पुष्पा कार्कीले आर्थिक वर्ष २०८१÷८२ मा गर्भ रहनु पूर्व एक सय जना र गर्भ पश्चात २४७ जनालाई फोलिक एसिड चक्की वितरण गरिएको बताउनुभयो ।
बिर्तामोडमा अपांगता भएका व्यक्तिको संख्या एक हजार ११९ जना रहेको छ । जसमध्ये रातो कार्ड पाउने ३९८ जना, निलो कार्ड पाउने ४९७ जना, पहेँलो कार्ड पाउने १६० जना र सेतो कार्ड पाउने ६५ जना रहेको कार्कीले बताउनुभयो । नगरपालिकाले नवविवाहित ७९ जोडीलाई शुभकामना कार्डसमेत वितरण गरेको थियो ।