१ चैत २०८२, आइतवार

चौरासीको चुनावमा राप्रपा पहिलो पार्टी बन्छ : राप्रपा अध्यक्ष लिङ्देन

१५ भदौ २०८२, आइतवार
Image

झापा, १४ भदौ  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले आगामी २०८४ सालको आम चुनावमा राप्रपा देशको पहिलो पार्टी बन्ने बताउनु भएको छ ।

उहाँले पार्टीको ११ औं झापा जिल्ला अधिवेशनलाई आज विर्तामोडमा सम्बोधन गर्दै राप्रपाले आगामी चुनाव नजिते देश बर्वादीको बाटोतिर जाने दावी गर्नुभयो । ठूला दलहरुको व्यवहार हेरिसकेको हुँदा अब जनताले राप्रपाप्रति आशा गरेको बताउनुभयो । 

मुलुकका ठूला राजनीतिक दलले पालैपालो सत्ता चलाएर देशलाई भ्रष्टाचारमा डुबाएको आरोप लगाउँदै उहाँले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचनबाट कार्यकारी प्रधानमन्त्री चुन्ने व्यवस्था गर्न माग गर्नुभयो ।

उहाँले राप्रपा भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिविरुद्ध पार्टीभित्र र बाहिर दुबैतिर सम्झौताहीन ढंगले उभिने जनाउँदै पार्टीभित्र अनुशासन नमान्ने र अवसर लिएर कमाउला भन्ने सोचेकाहरुले आफ्नो बाटो तताए हुने धारणा व्यक्त गर्नुभयो ।

“राप्रपा एउटा पार्टी मात्र होइन भ्रष्टाचारविरुद्धको अभियान हो,” उहाँले भन्नुभयो– “राप्रपा जस्तो पार्टी बलियो भएन भने देश बर्वाद हुन्छ ।” उहाँले एउटा चुनाव जित्नु वा हार्नु मात्र आफ्नो उद्देश्य नभएको जिकीर गर्दै देश बनाउने हुटहुटीले भ्रष्टाचार र भ्रष्ट व्यवस्थाविरुद्ध उभिएको बताउनुभयो ।

अधिवेशनमा बोल्दै राप्रपाका प्रवक्ता एवम् प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले मुलुकको अवस्था बदल्न देशको व्यवस्था बदल्नु पर्ने खाँचो रहेको चर्चा गर्नुभयो ।

“यही अवस्था रहिरह्यो भने न देश बन्छ, न हाम्रा सन्ततिको भविष्य,” उहाँको भनाई थियो– “त्यसैले मुलुकको अवस्था र व्यवस्था दुबै बदल्न सडक र सदनबाट राप्रपाले अगुवाई गर्ने छ ।” 

पार्टीकी केन्द्रीय सदस्य खुश्वु ओलीले हाम्रै पालामा देश बनाउने हो भने राप्रपाले आगामी चुनावमा बहुमत ल्याएर सरकारको नेतृत्व गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा राम्रयाका कोशी प्रदेश अध्यक्ष एवम् दमकका नगरप्रमुख राम थापा, पार्टीका केन्द्रीय सदस्य भारतेन्दु कुमार मल्लिक, झापा क्षेत्र नं १ का अध्यक्ष नरेन्द्र कुमार खड्का लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

अधिवेशनले केशव ओझाको अध्यक्षता जिल्ला कार्य समिति सर्वसम्मत निर्वाचित गरेको छ ।