१७ असोज २०८२, शुक्रवार

कचनकबलको मेची नदीमा बन्यो झोलुंगे पुल

१३ असोज २०८२, सोमवार
Image

झापा, १४ असोज । मुलुककै होचो गाउँपालिका कचनकबलको वडा नं. ५ पाठामारीस्थित मेची नदीमा नवनिर्मित झोलुंगे पुल नयाँ पर्यटकीय गन्तब्य बनेको छ । 

नेपाल सरकारको रु. चार करोड १२ लाख २९ हजार लागतमा बनेको ४४२.४० मिटर लम्वाईको यो पुल नीलगिरी महावीर जेभीले निर्माण गरेको हो ।

वडा नं. ५ का अध्यक्ष नुर आलमले भारतीय सीमा नजिक बनेको झोलुंगे पुल सञ्चालनमा आएपछि दुबै मुलुकका युवायुवती फोटो र भिडियो खिच्नका लागि पुलमा घुइँचो लाग्न थालेको बताउनुभयो ।

“मेची नदी पार गर्न दुबै मुलुकका नागरिकलाई अब सहज भएको अवस्था छ,” उहाँ भन्नुहुन्छ– “अर्कातिर नदीमा बनेको लामो झोलुंगे पुल पर्यटकीय आकर्षणको केन्द्र समेत बन्न पुगेको छ ।”

वि.सं. २०७३ मंसिर १७ गते ठेक्का लागेको यो पुल बन्न बजेट अभावले धेरै बर्ष लाग्यो । पुल नहुँदा यहाँका बासिन्दाले बर्खा याममा दुई घण्टा पालो कुरेर काठको डुंगाबाट मेची नदी पार गर्दै आएका थिए ।

स्थानीय झट्टु हलुवाईले मेचीमा पुल तरेर आवतजावत गर्ने कचनकबलबासीको वर्षौदेखिको चाहना बल्ल पूरा भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ– “सीमा क्षेत्रका बासिन्दाले अनेक कामका लागि एक देशबाट अर्को देशमा आउजाउ गर्न पर्ने हुन्छ । मेचीमा पुल बनोस् भन्ने धेरै वर्षदेखिको चाहना थियो । बल्ल अहिले साकार भयो ।”

मेची नदीमाथि बनेको उक्त पुलको दुबैतर्फ नेपाली भूभाग रहेको छ । मेची नदी पारि पुलको पूर्वी भागमा ३० बिगाहाभन्दा बढी क्षेत्रफलको जग्गा नेपालकै हो । भारततिर पाठामारी भन्ने बजार छ भने पुलको पूर्वी भागलाई धोबीभिट्टा भन्ने गरिएको छ । 

चाडपर्व आइसकेको हुँदा स्थानीयबासीलाई वारिपारि गर्न असहज नहोस् भनेर कुनै तामझाम नगरी यही भदौ ३१ गते पुल सञ्चालनमा ल्याइएको वडाध्यक्ष आलमले बताउनुभयो । पुलको दुबै किनारामा पहुँच मार्गको स्तरोन्नति गर्न बाँकी रहेको कारण हाल पैदल र साइकल यात्रीलाई मात्र आवतजावत गर्न दिइएको छ । एक महिनापछि मोटरसाइकल ओहोरदोहोर गर्न सक्ने गरी पहुँच मार्गको स्तरोन्नति गरिने वडाध्यक्ष आलमले बताउनुभयो ।

नेपालकै होचो भूभाग भएकाले कचनकबल क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बन्दै आएको छ । यहाँका पोखरी, गन्धर्व वस्तीसँगै अब झोलुंगे पुल पनि पर्यटकीय क्षेत्रको रुपमा चिनिएको छ ।