झापा, ११ असोज । जेनजी आन्दोलनमा आगजनी हुँदा ध्वस्त भएको दमक इलाका प्रहरी कार्यालयलाई शान्ति सुरक्षा व्यवस्था मिलाउनका लागि चार थान सवारी साधन सहयोगस्वरुप प्राप्त भएको छ ।
कमल गाउँपालिकाले प्र१–०२–००१ झ ०७३० नम्बरको चार पांग्रे सवारी साधन दिएको छ भने दमक नगरपालिकाले दुई थान मोटरसाइकल खरिद गरेर दिएको छ । दमक खानेपानी तथा उपभोक्ता समितिले एउटा पिकअप भ्यान दिएको छ ।
भदौ २४ गते दमक इलाका प्रहरी कार्यालयमा आन्दोलनकारीले आगजनी र तोडफोड गरेका थिए । आगजनीमा इप्रकाको तीन तले भवन र सबै सवारी साधन जलेर क्षति भएको थियो ।
कमल गाउँपालिकाले यसअघि प्रहरी चौकीलाई दिदै आएको पिकअप भ्यान इलाका प्रहरी कार्यालयलाई दिएको हो । दमक नगरपालिकाले दुई थान मोटरसाइकल खरिद गरेर इप्रकालाई दिएको नगरप्रमुख राम थापाले बताउनुभयो । नगरको शान्ति सुब्यवस्था मिलाउन प्रहरीलाई साधन श्रोतको अभाव भएकाले सवारी साधन जुटाइएको उहाँको भनाई छ ।
ध्रुवतारा स्पोर्टिङ क्लव दमकले समेत इप्रकाको पुनःनिर्माणका लागि रु. एक लाख ५१ हजार सहयोगको घोषणा गरेको छ । इप्रकाको पुनःनिर्माणका लागि समुदायबाट जुट्ने सहयोगलाई व्यवस्थित गर्न नगरप्रमुख राम थापाको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरिएको छ । समितिमा दमकको नगर उद्योग वाणिज्य संघ, रेडक्रस सोसाइटी लगायतको सहभागिता रहेको छ ।
जस्तोसुकै कठिन परिस्थिति भए तापनि प्रहरीहरुले शान्ति सुरक्षाको जिम्मेवारी निर्वाह गरिरहेको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राम तिम्सिनाले बताउनुभयो । आगजनीका कारण मुख्य कार्यालयबाट विस्थापित प्रहरीहरु सब्जी बजारको खाली भवन लगायत बाहिरका विभिन्न संरचनामा आश्रय लिएर सेवा प्रदान गरिरहेको उहाँले जानकारी दिनुभयो ।
समुदायबाट प्रहरी कार्यालयलाई ल्यापटप, फर्निचर, टेबल, कुर्सी, बिजुलीका पंखा लगायतका सामान सहयोगस्वरुप जुटिरहेको छ । “नगरबासी संघ संस्था र दाताबाट सहयोग जुटाएर प्रहरीलाई आफ्नै भवनमा छिटोभन्दा छिटो सार्ने र शान्ति सुरक्षाको बन्दोबस्त चुस्त बनाउने प्रयासमा छौं” –नगरप्रमुख थापाले भन्नुभयो ।