१७ असोज २०८२, शुक्रवार

छत चुहिएको जीर्ण भवनमा आयूर्वेद औषधालय

१३ असोज २०८२, सोमवार
Image

झापा, १४ असोज । शिवसताक्षी–११ स्थित दुधे आयूर्वेद औषधालयका कर्मचारीले जोखिम मोलेर पानी चुहिने छत भएको २९ वर्ष पुरानो जीर्ण भवनबाट सेवा प्रदान गरिरहेका छन् ।

दुई तला रहेको उक्त भवनमा आठ वटा कोठा छन् । भूकम्पीय जोखिमयुक्त तिनै कोठामा बसेर छ जना कर्मचारीले दिनभर सयौ सेवाग्राहीलाई उपचार तथा परामर्श सेवा दिइरहेका हुन्छन् ।

“भवन जीर्ण भइसकेको छ, कुन बेला कस्तो जोखिम निम्तिने हो केही टुंगो छैन,” औषधालयका प्रमुख कविराज निरीक्षक राजेन्द्र पोखरेल भन्नुहुन्छ– “दुई तला भएको यो भवन धेरै पुरानो भइसकेको छ । सबैभन्दा जोखिमको विषय भनेको यो भवनमा जाली कसेर बनाइएको पिलर नै छैन ।”

भवन जोखिमयुक्त भए तापनि औषधालयमा सेवाग्राहीको भने घुइँचो लाग्ने गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा औषधालयबाट तीन हजार ९३२ जना बहिरंग विभाग (ओपीडी)का सहित आठ हजार १३२ जनाले उपचार सेवा लिएको पोखरेलले बताउनुभयो ।

उक्त अवधिमा पञ्चकर्म र पूर्वकर्म सेवा लिन एक हजार ८४५ जना, गाउँघर क्लिनिकमा सेवा लिन ३६९ जना र स्तनपायी आमा सेवा लिन ३२० जना सेवाग्राही आएको तथ्यांकले देखाउँछ ।

औषधालयले बहिरंग सेवा, औषधि वितरण, परामर्श सेवा, पञ्चकर्म सेवा, पूर्वकर्म सेवा, ज्येष्ठ नागरिक प्रवर्धन सेवा, स्तनपायी आमालाई मातृशिशु सुरक्षार्थ दुग्धवर्धक जडिबुटी वितरण सेवा, थेराप्युटिक सेवा, प्याथोलोजी सेवा, मर्म थेरापी सेवा र स्वस्थ जीवन परामर्श सेवा दिदै आएको छ ।

नगरको एकमात्र आयूर्वेद औषधालय भएकाले यसको स्तरोन्नति र सञ्चालनमा स्थानीय तहको भूमिका आवश्यक हुन्छ । औषधालयलाई नगरस्तरीय आयूर्वेद अस्पतालको रुपमा स्तरोन्नति गर्न आवश्यक बजेट माग गरिएको र नयाँ भवनका लागि जग्गाको खोजी भइरहेको औषधालय प्रमुख पोखरेल बताउनुहुन्छ ।

“गत वर्ष छत टालटुल मर्मत गरेका छौं, आधुनिक सुविधा सम्पन्न नयाँ भवनको खाँचो छ,” उहाँले भन्नुभयो– “यसका लागि स्थानीय र प्रदेश सरकारलाई निरन्तर आग्रह गरिरहेका छौं ।” जग्गा प्राप्तिका लागि सार्वजनिक सूचना जारी गरिएको र दुबै तहको सरकारसँग समन्वय भइरहेको उहाँको भनाई छ ।

नयाँ भवनमा योग तथा ध्यान हल, फिजियोथेरापी, एक्युपंचर, एक्स रे, भिडियो एक्स रे, आधुनिक प्रयोगशाला लगायतका सुविधाहरु उपलब्ध हुनुपर्ने उहाँको माग छ । अहिलेको भवनमा सेवाग्राहीका लागि छुट्टै शौचालयको समेत सुविधा उपलब्ध छैन ।