२१ मंसिर २०८२, शनिवार

तीन जना उत्कृष्ट प्रतिभा र एक जोडी ज्येष्ठ नागरिक सम्मानित

२१ मंसिर २०८२, शनिवार
Image

मेचीनगर, २० मंसिर । मेचीनगर–११ को लाल–भागिरथा बानियाँ प्रतिष्ठानले यसपटक तीन जना उत्कृष्ट प्रतिभा र एक जोडी ज्येष्ठ नागरिकलाई सम्मानसहित पुरस्कृत गरेको छ ।

शनिबार धाइजन स्थित जालपा सभाहलमा प्रतिष्ठानको ७ औं बार्षिक उत्सवमा उत्कृष्ट प्रतिभा पुरस्कार झापाका वरिष्ठ पत्रकार नकुल काजीलाई, लालबहादुर उत्कृष्ट कृषि पुरस्कार इन्द्र पाठक अध्यक्ष रहेको उज्यालो भविष्य जैविक कृषक समूहलाई र भागिरथा उत्कृष्ट गृहिणी पुरस्कार मालती राजबंशीलाई सम्मानसहित पुरस्कृत गरिएको हो ।

उनीहरुलाई जनही नगद ३१ हजार राशिसहित प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ । भद्रपुर–८ निवासी काजी झापाका वरिष्ठ पत्रकार हुन् । पाठक अध्यक्ष रहेको समूहले मेचीनगर–९ मा अर्गानिक कृषि खेती गर्दै आएको छ ।

त्यस्तै, ७० वर्षीय उत्कृष्ट गृहिणी मालती राजबंशी मेचीनगर–७ स्थित मदन वस्ती निवासी हुन् । उनले १२१ वर्षीया सासुआमा पुहानी राजबंशीको हेरचाह गर्दै आएकी छन् ।

यसैगरी प्रतिष्ठानले मेचीनगर–११ निवासी एकजोडी ज्येष्ठ दम्पतीलाई पनि सम्मान गरिएको छ । जसमा ९० वर्षीय हेमलाल खतिवडा र ८१ वर्षीया तुलसा खतिवडालाई नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ ।

सबै पुरस्कृत प्रतिभाहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य एवम् समाजसेवी गोपालकुमार वस्नेत, बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाई, प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँ लगायतले सम्मान गरेका थिए ।

चार जना विद्यार्थी सम्मानित

यसैबीच प्रतिष्ठानले मंसिर १९ गते चारआलीको सहिद दशरथ चन्द माविमा विद्यार्थी माझ गरिएको ‘ज्येष्ठ नागरिकको अभिभावकत्व, युवा समुदायको संरक्षण गर्ने दायित्व’ विषयक वक्तित्वकला प्रतियोगिता विजेता बनेका चार जना विद्यार्थीहरुलाई पनि नगदसहित सम्मान गरेको छ ।

वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने मेचीनगर–१० धुलाबारी माविकी जयन्ती बुढाथोकी, दोस्रो हुने दोस्रो मेचीनगर–१२ स्थित सरस्वती बालकल्याण माविका विद्यार्थी डिमेश्वरी भट्टराई, तेस्रो हुने मेचीनगर–१४ स्थित बाल सुवोधिनी माविकी अनुजा रायमाझी र सान्तवना हुने मेचीनगर–९ स्थित कवि शिरोमणि माविका साजन मगरलाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि समाजसेवी वस्नेत, मेचीनगर–७ का वडाध्यक्ष प्रलादमणि ओली, सम्मानित व्यक्तित्व पत्रकार नकुल काजी लगायतले समाजमा योगदान गर्ने अग्रजहरुलाई खोजेर, चिनेर सम्मान गर्न सके सेवाको महत्व हुने बताएका थिए ।

प्रतिष्ठानका अध्यक्ष बानियाँले अर्गानिक कृषि खेती किसान वा समूह, पत्रकारिताबाट समाजमा पुर्याएको योगदान र सासुआमाको स्याहार सुसारमा अहोरात्र खट्ने वुहारीहरुको असल कर्मप्रति भावलाई मध्येनजर गरेर यसपटक प्रतिभाहरुलाई पुरस्कृत गर्न पाउँदा खुशी भएको बताएका छन् ।

विगत ७ वर्षदेखि प्रत्येक वर्ष मंसिर २० गते स्व. लालबहादुर बानियाँको स्मृतिमा प्रतिष्ठानले प्रतिभाहरुलाई सम्मान गर्दै आएको छ ।

प्रतिष्ठानकी कोषाध्यक्ष आशा बानियाँ उप्रेतीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् ।

प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सचिव डम्बर देउजाले र सञ्चालन सहसचिव उपेन्द्र बानियाँले गरेका थिए ।