झापा, २३ पुस । नेपालमा उत्पादित छुर्पीको निर्यात ३२ प्रतिशतले बृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
चालू आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा पूर्वी नाका काँकडभिट्टा हुँदै रु. ४८ करोड ५२ लाख ७३ हजार मूल्य बराबरको दुई लाख ७५ हजार २४६ केजी छुर्पी निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईले जानकारी दिनुभयो ।
गत आव २०८१/८२ को सोही अवधिको तुलनामा चालू आवमा ३२ प्रतिशतले निर्यात बढेको हो । गत आवको साउनदेखि मङ्सिरसम्ममा रु. ३६ करोड ७६ लाख २३ हजार मूल्य बराबरको दुई लाख १७ हजार ६८ केजी छुर्पी निर्यात भएको उहाँले बताउनुभयो ।
गत आवको तुलनामा चालू आवमा छुर्पीको निर्यात रु. ११ करोड ७६ लाख ५० हजारले बढेको जनाइएको छ ।
नेपाली छुर्पी निर्यात हुने मुख्य नाका नै काँकडभिट्टा हो । मेची भन्सारबाट निर्यात हुने प्रमुख दश मालवस्तुको सूचीमा छुर्पी चौथो स्थानमा रहेको छ ।
पहाडी तथा हिमाली जिल्लामा दुग्धजन्य बस्तुबाट छुर्पी उत्पादन हुन्छ । निर्यात भएर अधिकांश छुर्पी यूरोप र अमेरिका पुग्ने गरेको छ । ती मुलुकमा यसलाई कुकुर र विरालोको खानाको रुपमा प्रयोग गर्छन् ।
नेपाल छुर्पी व्यवसायी संघका महासचिव ऋषि तिम्सिनाले नेपालमा उत्पादन हुने छुर्पीको ८० प्रतिशत हिस्सा कोशी प्रदेशले ओगटेको बताउनुभयो ।
नेपालबाट निर्यात हुने प्रमुख उत्पादन छुर्पीको उत्पादन र व्यवसाय प्रवर्धनका लागि राज्यले ध्यान दिन नसकेको महासचिव तिम्सिनाले गुनासो गर्नुभयो ।