१७ फागुन २०८२, आइतवार

आध्यात्मिक पर्यटनको नयाँ गन्तव्य बन्दै ‘तपस्याधाम’

१७ फागुन २०८२, आइतवार
Image

झापा, १७ फागुन । मेचीनगर–१० धुलाबारीमा नवनिर्मित ‘तपस्याधाम’ आध्यात्मिक पर्यटनको नयाँ गन्तव्य बनेको छ । पूर्वपश्चिम राजमार्गको धुलाबारी मोडबाट डेढ किलोमिटर उत्तर लीलाबस्तीमा रु. १३ करोडको लागतमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले धामको निर्माण गरेको हो । 

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र उहाँका दाजु राज्यप्रकाश शर्माले स्वर्गीय मातापिता पर्शुराम शर्मा र सावित्रादेवी शर्माको स्मृतिमा निःशुल्क प्रदान गर्नु भएको पाँच कठ्ठा जग्गामा धामको आकर्षक संरचनाहरु निर्माण भएका छन् ।

धामकी सञ्चालिका एवम् बह्माकुमारी राजयोग सेवा केन्द्र धुलाबारीकी प्रमुख अनुसा दिदीका अनुसार तपस्याधाममा ध्यान कक्ष, तपस्यास्थल, प्रजापिता बह्मा बाबाको स्मारक, आवास कक्ष र सेमिनार हलहरू निर्माण गरिएका छन् । 

राजयोग र ध्यानका माध्यमबाट मानसिक तनाव कम गर्न र आध्यात्मिक ज्ञान प्राप्त गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सुविधा पुर्याउन धामको निर्माण गरिएको उहाँले बताउनुभयो । भारतको राजस्थानस्थित माउन्ट आबुमा रहेको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको अन्तर्राष्ट्रिय मुख्यालयमा रहेका महत्त्वपूर्ण संरचनाहरुको प्रतिकृति यस धाममा पाइने भएकाले भारत र नेपालका आध्यात्मिक पर्यटकहरूलाई यसले आकर्षित गर्ने अपेक्षा गरिएको उहाँको भनाई छ ।

माउन्ट आबुकी राजयोगिनी उषा दिदी र ब्रह्माकुमारी राजयोग सेवा नेपालकी प्रमुख डा. राज दिदीलगायतले हालै तपस्याधामको अवलोकन गर्नु भएको थियो ।

जग्गादाता समेत रहनु भएको कांग्रेस उपसभापति शर्माले मातापिताको स्मृतिलाई जीवन्त राख्न र शान्ति प्रवर्धनका लागि समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने उद्देश्यले आफ्नो परिवारले जग्गा प्रदान गरेको बताउनुभयो ।