३ जेठ २०८३, आइतवार

विर्तामोडमा ग्राफिक डिजाइन तथा प्रिप्रेस तालिम

१७ वैशाख २०८३, बिहिवार
Image

बिर्तामोड, १७ बैशाख । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) झापाको आयोजनामा ग्राफिक डिजाइन तथा प्रिप्रेस सम्बन्धी ६० घण्टे स्किल अपग्रेड तालिम बुधबार बिर्तामोडमा सुरु गरिएको छ ।

हेल्भेटास इन्स्योर परियोजनासँगको वित्तीय साझेदारीमा क्यानले उक्त तालिम सञ्चालन गरेको हो । २० जना प्रशिक्षार्थीका लागि बिर्तामोडस्थित प्रथम आइटी सिस्टम प्रालिले उक्त तालिममा प्रशिक्षण दिनेछ ।

कार्यशालासहितको तालिममा आफ्नो ब्यावसायिक फर्ममा ग्राफिक डिजाइनको काम गर्ने तथा मुद्रण उद्योगमा डिजाइन गर्नुपर्ने कम्प्युटर आधारित जिम्मेवारीमा रहेर काम गर्दै आएका जनशक्तिलाई सहभागी गराइएको क्यान झापाका अध्यक्ष शुभ कुमाई पाठकले बताउनु भयो ।

बिर्तामोडको प्रथम आईटी सिस्टम प्रालिको हलमा सञ्चालन गरिएको तालिमको उद्घाटन बिर्तामोड नगरपालिका वडा नं ४ का वडाध्यक्ष राहुलकुमार शर्माले गरिदिनु भएको हो । तालिम उद्घाटन गर्दै उहाँले आजका सबैजसो कामहरु कम्प्युटरमा आधारित भएकाले डिजाइनसँग सम्बन्धित जनशक्तिलाई यस प्रकारको तालिम लाभदायी हुने विश्वास व्यक्त गर्नुभयोृ ।

तालिम उद्घाटन कार्यक्रममा क्यान कोशी प्रदेशका सचिव कृष्णप्रसाद घिमिरे, क्यान झापाका संस्थापक अध्यक्ष दिपेश पाठक, क्यान झापाका सल्लाहकार चैतन्यप्रकाश मैनाली लगायतले मन्तब्य राख्नु भएको थियो ।

अध्यक्ष शुभ कुमाई पाठकको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा उपाध्यक्ष लोकप्रिय खनालले तालिमको आवश्यकता र औचित्य प्रष्ट्याउँदै आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई शाब्दिक स्वागत गर्नुभएको थियो ।