झापा, ७ असार । पूर्वकै ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको पातालगंगा घैलाडुब्बा शिव तथा देवी मन्दिरमा शनिवार १०८ शिवलिङ्गको प्राणप्रतिष्ठा गरिएको छ ।
मेचीनगर नगरपालिका–५ र ८ स्थित उक्त मन्दिर पछिल्लो समय धार्मिक पर्यटकीय क्षेत्रका रूपमा प्रवद्र्धन हुन थालेको छ । महाभारतकालीन पौराणिक कथा र राणाकालीन इतिहाससँग जोडिएको यो मन्दिर पुरानो धार्मिकस्थलमध्ये एक मानिन्छ ।
दाताहरुको सहयोगमा निर्मित १०८ शिवलिङ्गको धर्मगुरु स्वामी डा. केशवानन्द गिरीले प्राणप्रतिष्ठा गर्नु भएको हो । यस अवसरमा शुक्रवार साँझ महाआरती समेत गरिएको थियो ।
यस धार्मिक क्षेत्रमा घैलाडुब्बा र पातालगंगा गरी दुई अलग अलग स्थान र मन्दिर छन् । घैलाडुब्बा मन्दिर क्षेत्र मेचीनगरको वडा नं. ५ मा र पातालगंगा क्षेत्र वडा नं. ८ मा पर्दछ ।
महाभारत कालमा पातालगंगा क्षेत्रमा भीमसेनसँग किचकले आत्मसमर्पण गरेको र पाण्डवहरूले जलधारा उत्पत्ति गरेको किंवदन्ती छ । मन्दिरबाट दुई सय मिटर दक्षिणमा ‘पातालगंगा भगवती’को उत्पत्ति स्थल रहेको छ । पातालगंगामा धरतीबाट बाह्रैमास सधैँ एकैनासको जलधारा उम्रिरहने गर्दछ ।
यस धार्मिक क्षेत्रमा भगवान भोलेनाथ, हनुमान, राधा सर्वेश्वर, भगवती छिन्नमस्ता, दुर्गा र नाग देवताका मन्दिर छन् । यहाँको मुख्य मन्दिर तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको पालामा बनेको सुरेन्द्रनगर घैलाडुब्बा देवी तथा शिव मन्दिर संरक्षण समितिका अध्यक्ष गणेशकुमार खरेलले बताउनुभयो । यस ऐतिहासिक मन्दिरमा सय वर्षीय पुजारी मणिराम दासले पूजाअर्चना गर्दै आउनुभएको उहाँले जानकारी दिनुभयो ।
पुरातत्व विभागले यस मन्दिरलाई वि.सं. २०७७ सालमा संरक्षणको सूचीमा राखेको उहाँले बताउनुभयो । मन्दिरको मुख्य विशेषता यसको अद्भूत निर्माण शैली हो । मन्दिरको मूल संरचनामा फलामको किला, काँटी, सिमेन्ट वा ढुंगाको प्रयोग नगरिएको र पूर्णरुपमा माटोबाट निर्मित रहेको धार्मिक गुरु एवं मन्दिर संरक्षण समितिका सदस्य पण्डित रामचन्द्र अधिकारीले बताउनुभयो ।