७ असार २०८३, आइतवार

झापामा बन्यजन्तुले नखाने ‘मेकाडामिया नट्स’को लोभलाग्दो खेती

७ असार २०८३, आइतवार
Image

झापा, ७ असार । मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडी जंगलको छेउका बासिन्दा हात्तीको बथान र बाँदरको फौजले बाली सखाप पार्ला भनेर जहिल्यै पिरोलिएका हुन्छन् । तर, स्थानीय भूपेन्द्र तामाङलाई भने यो समस्याले सताउन छाडेको छ । पेशाले इन्जिनियर तामाङले वन्यजन्तुले नखाने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती गरेपछि उहाँको यो प्रयास झापामै लोभलाग्दो उदाहरण बनेको छ ।

इन्जिनियर तामाङले टुकु कृषि फार्म दर्ता गरी ६ वर्षअघि दुई बिगाहा निजी जग्गामा ३०० वटा ‘मेकाडामिया नट्स’का बिरुवा रोप्नुभएको थियो । पोखरास्थित कृषि अनुसन्धान केन्द्रबाट प्रतिगोटा रु दुई सयका दरले बिरुवा खरिद गरेर ल्याई उहाँले नेपालमै पहिलोपटक यति ठूलो क्षेत्रफलमा यसको व्यावसायिक खेती सुरु गर्नुभएको हो ।

ओमेगा–१, ओमेगा–२ र ओमेगा–३ जस्ता पोषक तत्व प्रचुर मात्रामा पाइने भएकाले अन्तर्राष्ट्रिय बजारमा ‘मेकाडामिया नट्स’लाई निकै महँगो फल मानिन्छ । जंगलको छेउमा खेतबारी भएकाले कुन बाली सुरक्षित होला भनी खोजी गर्ने क्रममा आफूले यसको खेतीबारे थाहा पाएको तामाङ बताउनुहुन्छ ।

“न बाँदरले टोकेर खान सक्छ, न हात्तीको सुँढले सोहोर्न सक्छ भन्ने थाहा पाएपछि पोखरा पुगेर बिरुवा ल्याएँ,” खेती सुरु गर्दाको अनुभव साझा गर्दै उहाँले भन्नुभयो– “यसको बोटको पातमा काँडा हुने र फल अत्यन्तै कडा हुने भएकाले वन्यजन्तुले यसलाई बिगार गर्न सक्दैनन् । पोथ्रे बोटमा झुप्पा बनेर फल्ने यो फल भदौमा पाक्ने गर्दछ, जसलाई चराचुरुंगीले समेत क्षति पुर्याउन सक्दैनन् ।

इन्जिनियर तामाङ कार्यालय अवधिबाहेकको समय र बिदाका दिन फार्ममै व्यस्त रहने गर्नुहुन्छ । उहाँले आफ्नो पुराना सुपारी बगानभित्र खाली रहेको स्थान उपयोग गरी मेकाडामिया रोप्नुभएको हो । उहाँको फार्ममा सुपारीका अतिरिक्त एक किलोभन्दा बढी तौल हुने आँप, सावर सप, आल्मन्ड, नासपाती, अमेरिकन आरु, कालो आँप, एभोकाडो, ल्वाङ र सीताफल लगायत दर्जन बढी प्रजातिका फलफूलसमेत हुर्किएका छन् ।

विभिन्न प्रजातिका फलफूल भए पनि उहाँले ‘मेकाडामिया नट्स’लाई नै प्राथमिकता दिनुभएको छ । गत वर्षदेखि सामान्य फल्न सुरु गरेको यो खेतीले यसपालि मनग्य उत्पादन दिएको छ । अन्तर्राष्ट्रिय बजारमा राम्रो निर्यात सम्भावना रहेको यो फल नेपाली बजारमै प्रति किलो रु. दुई हजारका दरले सजिलै बिक्री हुने उहाँले जानकारी दिनुभयो ।

‘मेकाडामिया नट्स’को एउटा बोटले ४० देखि ६० केजीसम्म फल दिने गर्दछ । केही समयअघिको असिनापानीले उत्पादनमा सामान्य क्षति पुर्याए तापनि यस वर्ष फार्मबाट दुई हजार केजी फल उत्पादन हुने आँकलन गरिएको छ । जसबाट चालु सिजनमा मात्रै रु. ४० लाख आम्दानी हुने तामाङको भनाई छ ।

खेती सुरु गरेदेखि हालसम्म करिब रु १४ लाख लगानी भइसकेको र यस वर्ष मात्रै २५ लाख रुपैयाँभन्दा बढी खुद मुनाफा हुने उहाँ जिकिर गर्नुहुन्छ ।

कृषि ज्ञान केन्द्र भद्रपुरका प्रमुख सागर विष्टका अनुसार झापामा अन्यत्र यसको व्यावसायिक खेती भएको जानकारी छैन । बुद्धशान्ति, अर्जुनधारा लगायतका केही पालिकामा शौखका लागि किसानले एकाध बोट रोपेको पाइए पनि तामाङले गरेको यो खेती सरकारी निकायका लागिसमेत चासो र अध्ययनको विषय बनेको छ ।

आफ्नो फार्म पूर्ण रूपमा प्रांगारिक (अर्गानिक) रहेको दाबी गर्दै तामाङ भन्नुहुन्छ,– “बिरुवालाई रोग र कीराबाट जोगाउन कुनै पनि रासायनिक विषादी र मल प्रयोग गरिएको छैन । रैथाने मलकै प्रयोगबाट भविष्यमा अर्गानिक ‘मेकाडामिया नट्स’को आफ्नै नेपाली ब्रान्डिङ गर्ने तयारी गरिरहेको छु ।” 

उहाँले जागिरबाट अवकाश पाएपछि पूर्ण रूपमा कृषिमा समर्पित हुने योजनाका साथ फार्म विस्तार गरिरहेको सुनाउनुभयो ।

मूलतः अस्ट्रेलियाको जंगलमा उत्पत्ति भएको र ‘अस्ट्रेलियन नट्स’ समेत भनिने यो फल नेपालमा पहिलोपटक सन् १९६२ मा त्रिसुली फार्ममा भित्राइएको इतिहास छ । हाल नेपालको त्रिसुली फार्मसहित विभिन्न कृषि अनुसन्धान केन्द्र र पोखरा आसपासका क्षेत्रमा यसको खेती विस्तार हुने क्रममा छ ।

‘मेकाडामिया नट्स’को बोट कडा र जराहरू झाडीजस्तो हुने भएकाले यो प्रतिकूल हावापानी, मौसम र माटोमा पनि सजिलै फस्टाउन सक्छ । यसका लागि गर्मी समयको औसत तापक्रम २५ देखि ३२ डिग्री सेन्टिग्रेड उपयुक्त मानिन्छ ।

झापाका विभिन्न क्षेत्रमा जंगली हात्ती र बाँदरले बालीनाली नष्ट गर्दा किसानहरू हैरान भइरहेका बेला इन्जिनियर तामाङले भित्राएको यो खेती जंगल आसपासका अन्य पीडित किसानहरूका लागि पनि एउटा उत्कृष्ट र दीगो बैकल्पिक खेती बन्न सक्छ ।