झापा, २८ कात्तिक । रोजगारीका लागि यूरोप जाने भिसा त्यागेर आफ्नै देशमा केही गर्नुपर्छ भन्ने उद्देश्य लिनु भएको कचनकवल गाउँपालिका–४ का ३६ वर्षीय कृष्ण भट्टराई अहिले मखना खेतीमा रमाउनु भएको छ ।
खेतीका जानकार भारतीय नागरिक जाकिर हुसेनको परामर्शमा गत वर्ष पहिलोपल्ट उहाँले आफ्नै गाउँको १३ विगाहा जमिनमा मखना खेती सुरु गर्नु भएको थियो । उत्पादन भएको मखनाको दानालाई प्रशोधन गरेर नेपाली बजारमा विक्री गर्न यसपाली मखना प्रशोधन उद्योग स्थापना गरेको उहाँले बताउनुभयो ।
कराहीमा भुटेर बनाइने ‘मखना फुल’ खाजाका रूपमा र पूजाआजामा प्रसादका रूपमा निकै लोकप्रिय छ । लामो समयसम्म पानी जम्ने खेतमा मखना खेती हुने गरेको छ । भट्टराईले आफ्नो १० कठ्ठा र गाउँलेबाट लिजमा लिइएको १३ बिगाहा गरी कूल १३ बिगाहा १० कठ्ठा क्षेत्रफलमा मखना खेती गर्नु भएको थियो ।
उहाँले सगीता कृषि फर्म र जनजागरुप युवा कृषि फर्म दर्ता गरेर मखना खेती र प्रशोधन व्यवसाय सञ्चालन गरिरहनु भएको छ । उहाँले प्रति विगाहा १० देखि १२ क्विन्टलसम्म मखनाको दाना उत्पादन भएको जानकारी दिदै धान खेतीको तुलनामा यसबाट धेरै गुणा राम्रो आम्दानी हुने अनुभव सुनाउनुभयो । लिजमा लिइएको जग्गामा उहाँले प्रति बिगाहा २५ मन धानको मूल्य दिने सर्त दिदै आउनु भएको छ ।
उहाँले एक सय क्विन्टलभन्दा बढी मखाना उत्पादन गर्नु भएको जानकारी दिनुभयो । जसलाई प्रशोधन गर्दा लगभग तीन हजार केजीभन्दा बढी खानयोग्य मखानाको फुल उत्पादन हुने उहाँको अनुमान छ । खेतबाट संकलन गरिएको दानालाई प्रशोधन उद्योगमा आगोको रापमा फुराएर मकैको फुलजस्तो सेतो लाभा निकाल्ने कार्य धमाधम भइरहेको छ ।
प्रशोधित मखाना प्रतिकेजी रु. एक हजार ८०० का दरले फर्मबाटै विक्री हुने गरेको छ । प्रचलित बजार मूल्य अनुसार यसपाली उत्पादन गरेको मखानाबाट रु. ५० लाखभन्दा बढी आम्दानी हुने सम्भावना छ ।
उत्पादन भएको मखनाको दाना सस्तो दरमा भारतीय व्यापारीले किनेर लैजाने गरेका कारण आफूले स्वदेशी बजारमै विक्री गर्नका लागि दानाबाट लाभा उत्पादन, प्याकेजिङ र बजारिकरण गर्नका लागि प्रशोधन उद्योग सञ्चालन गरेको उहाँले बताउनुभयो ।
“नेपालमा यसको प्रशोधन गर्न जान्ने दक्ष कामदार छैनन्,” उहाँले भन्नुभयो– “भारततिरबाटै मुख्य कामदार मगाएर काम गरिरहेको छु । हार्भेस्टिङ लगायतका काममा स्थानीयले रोजगारी पाइरहेका छन् ।”
उहाँले प्रतिकेजी रु. एक हजार ८०० सहुलियत दरमा प्रशोधित मखना बिक्री गरिरहनु भएको छ । काठमाडौं, धनगढी, बिराटनगरसहित मुलुकका विभिन्न सहरबाट मखना खरिदकर्ताहरु कचनकबल आउने गरेका छन् ।
नेपालले वार्षिक करोडौँ मूल्यको मखना भारतबाट आयात गर्दै आएको छ । हाल कचनकबलमा लगभग २०० बिगाहा क्षेत्रफलमा मखना खेती हुँदै आएको छ । धान खेतीको तुलनामा बढी आम्दानी हुने भएकाले स्थानीयबासी मखना खेतीतर्फ आकर्षित हुन थालेको कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई बताउनुहुन्छ ।
मखनामा प्रोटिन, फाइबर, पोटासियम र म्याग्नेसियम जस्ता पोषक तत्व प्रचुर मात्रामा पाइन्छ । मधुमेह, मुटु सम्बन्धी समस्या भएका र तौल घटाउन चाहनेहरूले यसलाई नियमित खानेकुराको रुपमा प्रयोग गर्दै आएका छन् ।