१५ चैत २०८०, बिहिवार

छ लेनको ‘मितेरी पुल’ सञ्चालन, पूर्वीनाकामा उल्लास

१७ पुष २०७९, आइतवार
Image

मेचीनगर, १७ पुस । एसियाली देशहरुलाई सडक सञ्जालले जोड्ने एसियाली राजमार्ग आइपुगेको काँकरभिट्टामा आज छ लेनको मितेरी पुल सञ्चालनमा आउँदा उल्लास छाएको छ ।

पूर्वीनाका काँकडभिट्टाको अन्तर्राष्ट्रिय सीमामा छ लेनको नयाँ पुल निर्माण भएको डेढ वर्षपछि आज बल्ल सञ्चालनमा आएको हो ।

मेची भन्सार कार्यालय र भारतीय भन्सार कार्यालयका अधिकारीहरुले आज दिउँसो १ बजे आ–आफ्नो मुलुकको झण्डा फहराउँदै यातायातका साधनलाई प्रस्थान अनुमति दिएर सो पुल सञ्चालन गर्नुभएको हो ।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले नेपालतिर र नक्सलबारी भन्सार डिभिजनकी उपआयुक्त छिरिङ शेर्पाले भारततिर पुलको रिबन काट्नु भएको थियो ।

काँकडभिट्टाबाट भारतको पानीटंकी नाका जोड्ने मेची नदीमा निर्मित ‘मितेरी पुल’ ५७५ मिटर लामो छ । पुलको सञ्चालन हुने जानकारी पाएपछि आज दिउँसो कार्यक्रममा सर्वसाधारण र रस्थानीय सामाजिक व्यक्तिहरुको भीड लागेको थियो ।

सो अवसरमा जनप्रतिनिधि, उद्योगी व्यवसायी, पर्यटन व्यवसायी, सुरक्षा निकाय र मिडियाकर्मीको बाक्लो उपस्थिति थियो ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले २०७३ सालमा पुल निर्माणको सम्झौता गर्नुभएको थियो । पुलको आधा भाग नेपाली सीमाभित्र बनेको छ ।

एसिया उपक्षेत्रीय आर्थिक सहयोग–सडक सञ्जाल परियोजना अन्तर्गत एसियाली विकास बैंकको भारु एक अर्ब ६० करोड ऋण सहयोगमा भारत सरकारले नै पुलको निर्माण गरेको हो । 

निर्माणको क्रममा पुलको पश्चिमी भागमा पाँच सय मिटर एप्रोच सडक बनाउँदा त्यहाँ बसोबास गरेका ४३ परिवारलाई तीन करोड ३७ लाख रुपैयाँ मुआब्जा नेपाल सरकारले दिएको थियो ।

नयाँ पुल फराकिलो र सुविधाजनक भएको मेची भन्सार कार्यालयका प्रमुख पाठकले बताउनुभयो । उहाँका अनुसार पुलबाट सबै प्रकारका यातायातका साधनले आवागमनको अनुमति पाएका छन् । दक्षिणतर्फ रहेको पुरानो पुलबाट तीन चक्के टेम्पो, रिक्सा, मोटरसाइक र साइकललाई प्रवेश दिइने भएको छ ।

नयाँ पुल सञ्चालनमा नआउँदा पुरानो पुलमा यातायात र पैदल यात्रीको खेपिनसक्नु चाप थियो । 

मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले नयाँ पुल पूर्णरुपमा सञ्चालनमा आएपछि नाकाको अस्तब्यस्तता हट्ने र यात्रीलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।