झापा, २७ असोज । बुद्धशान्ति गाउँपालिका–४ मा रु. तीन करोडको लागतमा बनेको पाल्यून देछेन छोइलिङ्ग गुम्बा टिमाई खोलाको कटानका कारण जोखिममा परेको छ ।
गत साताको अविरल बर्षाका कारण टिमाई खोलामा आएको बाढीले कटान गर्दा गुम्बा छेउमै खोला पुगेको गुम्बा सञ्चालन उपसमितिका संयोजक मेनथिङ तामाङले बताउनुभयो ।
कोशी प्रदेशको प्रख्यात धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा परिचित उक्त गुम्बा वि.संं. २०७९ मा दातासँग सहयोग जुटाएर निर्माण गरिएको तामाङले जानकारी दिनुभयो ।
एक विगाहा तीन कठ्ठा जमिनमा रु. तीन करोडभन्दा बढीको लगानीमा निर्माण गरिएको गुम्बा जोगाउन तत्काल तटबन्धनको आवश्यकता रहेको उहाँले बताउनुभयो । “हामीले स्थानीय, प्रदेश र संघीय सरकारलाई गुहारिरहेका छौं”, उहाँले भन्नुभयो, “तत्काल तटबन्धन गरेर खोला मोड्न नसके गुम्बा जोगाउन सक्ने अवस्था छैन ।”
उहाँले धार्मिक तथा सांस्कृतिक महत्वका सामाग्रीहरु र ऐतिहासिक दस्ताबेजका बस्तुहरु गुम्बामा रहेका छन् । गुम्बा नजिक पालिकाले उपलब्ध गराएको १० कठ्ठा जमिनमा रमणीय बुद्धपार्क निर्माण भइरहेको छ । पार्कमा ३० फिट अग्लो बुद्ध, डोल्मा लगायतको मूर्ति निर्माण भइसकेको छ ।
मदन भण्डारी राजमार्गदेखि करिब पाँच सय मिटर दक्षिणमा रहेको यस गुम्बामा नेपाल, भारत लगायतका मुलुकबाट धार्मिक पर्यटकहरु आउने गरेको उहाँको भनाई छ । गुम्बाका गुरु लापेन छेदाङ्गले बौद्ध धर्म सम्बन्धी शिक्षा लिन समेत विद्यार्थीहरु यहाँ आउने गरेको उहाँले बताउनुभयो ।