७ वैशाख २०८१, शुक्रवार

राजनीतिक टिप्पणी

टक्कर गर्दै लिङ्देन बने ‘सिटौला जत्तिकै’ उपप्रधानमन्त्री

७ माघ २०७९, शनिवार
Image

झापा,  माघ । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौला अडानमा नलत्रिने नेताको रुपमा परिचित हुनुहुन्छ ।

झापा क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग चुनावमा दुईपटक पराजित सिटौला हार्न तयार हुनुभयो, तर लत्रिन तयार हुनुभएन ।

२०७४ को आम चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धन नेपाली कांग्रेससँगै थियो । सोही बमोजिम पार्टीका तत्कालीन अध्यक्ष कमल थापा मकवानपुरमा कांग्रेसकै समर्थनमा उम्मेद्वार हुनुहुन्थ्यो ।

देशभर बाम एकताको लहर चलिरहेको र नेकपा एमाले र माओबादीले चुनावी गठबन्धन गरेको त्यसबेला सिटौलालाई समानुपातिक सिटमा उम्मेद्वार बनाउने र झापा–३ मा राप्रपाका लिङ्देनलाई समर्थन गर्ने कांग्रेसको प्रष्ट निर्णय थियो ।

तर, सिटौलाले समानुपातिक उम्मेद्वार बन्न अस्वीकार गर्नुभयो । लिङ्देनलाई चुनावी प्रतिष्पर्धाको मैदान छाडिदिन मान्नु भएन । पार्टीकै नीति विपरीत उहाँ चुनावी भिडन्तमै होमिनुभयो, लिङ्देनसँग । आखिर सिटौला पराजित हुनुभयो ।

चुनाव २०७९ मा फेरि आयो । राप्रपा अध्यक्ष लिङ्देन एमालेसँगको जोखिमपूर्ण बाटोभन्दा पाँचदलीय सत्ता गठबन्धनसँगै सहकार्य गरेर झापा–३ मा आफ्नो उम्मेद्वारी कायम राख्न चाहनुहुन्थ्यो । कांग्रेस उम्मेद्वारको टिकट बाँड्ने समितिको संयोजक नै आफु भएका बेला सिटौलाले फेरि लिङ्देनसँग भिड्ने बाटो रोज्नुभयो । चुनावमा उहाँ सफल बन्नुभएन ।

एकपछि अर्को गर्दै सिटौला परास्त भइरहेको बेला राप्रपा अध्यक्ष लिङ्देन भने क्रमशः सफलताको उकालो चढिरहनु भएको छ । सिटौला ओरालोतिर र लिङ्देन उकालोतिर लागिरहनु भएको देखिन्छ ।

२०५६ को चुनावमा सोही क्षेत्रबाट बिजयी सांसद् सिटौला २०६४ सालपछि लोकप्रियताको शिखरमा हुनुहुन्थ्यो । माओबादीलाई शान्ति प्रक्रियामा ल्याउने र गणतन्त्र घोषणा गर्ने सूत्राधारको रुपमा सिटौलाको ख्याति चुलिएको हो ।

यही क्रममा सिटौला गृहमन्त्री हुँदै उपप्रधानमन्त्री बन्नुभयो । उहाँसँगै प्रतिष्पर्धाको राजनीतिमा रहेका लिङ्देन अहिले त्यही उपप्रधानमन्त्री पदमा पुग्नु भएको छ । अब दुबैको राजकीय हैसियत बराबरी तहमा पुगेको छ ।

कट्टर लोकतन्त्रबादी एवम् गणतन्त्रबादी नेताको छवि बनाउनु भएको सिटौला पार्टीकै समर्थकको बलमा राजकीय ओहोदाहरुमा पुग्नु भएको हो । कट्टर राजाबादी लिङ्देन भने आफ्नै पार्टीको एकल बलबुँतामा राजकीय ओहोदामा पुग्नु भएको होइन । उहाँलाई नेकपा एमालेले काँधमा बोकेर त्यहाँ पुर्याउँदै आएको छ ।