८ वैशाख २०८१, शनिवार

झापाले गर्दैछ मुलुकको राजकीय नेतृत्व

७ माघ २०७९, शनिवार
Image

झापा, ७ माघ । मुलुकको सभामुख र उपसभामुख दुबै झापा जिल्ला निवासी हुनुहुन्छ । त्यति मात्र होइन, दुबै एउटै नगरपालिका अर्जुनधाराका हुनुहुन्छ ।

सभामुख देबराज घिमिरे अर्जुनधारा वडा नं. ५ निवासी हुनुहुन्छ । उहाँ नेकपा एमालेका हुनुहुन्थ्यो ।

त्यसैगरी, उपसभामुख इन्दिरा रानामगर सोही नगरपालिकाका वडा नं. ११ निवासी हुनुहुन्छ । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी हुनुहुन्थ्यो ।

संविधानमा सभामुख र उपसभामुख अलग अलग राजनीतिक दल र लिङ्गबाट हुनुपर्ने स्पष्ट व्यवस्था छ । तर, भूगोलका बारेमा भने संविधानमा केही उल्लेख छैन ।

यसपटक दुबै पदमा एउटै जिल्ला, निर्वाचन क्षेत्र र नगरपालिकाको भएपछि भूगोलका आधारमा पनि सभामुख र उपसभामुख अलग क्षेत्रको हुनुपर्ने व्यवस्था हुनुपर्ने आवाज सामाजिक सञ्जालमा उठ्न थालेको छ ।

झापाले राज्यका मुख्य पदहरुमा धेरै अवसर पाएको भनेर पनि सामाजिक सञ्जालमा टिप्पणी हुन थालेको छ । कसै कसैले अब राष्ट्रपति र उपराष्ट्रपति पनि झापातिरैबाट खोज्नु पर्ने भन्दै व्यंग्य गर्नुभएको छ ।

स्मरणीय के छ भने सभामुख र उपसभामुख मात्र होइन, अहिले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरु क्रमशः केपी शर्मा ओली र राजेन्द्र लिङ्देन झापाकै हुनुहुन्छ ।

प्रदेश नं. १ को मुख्यमन्त्री हिक्मत कार्की, राष्ट्रिय सभाको नेकपा एमाले संसदीय दलका नेता देबेन्द्र दाहाल, प्रदेश नं. १ को नेपाली कांग्रेसका अध्यक्ष उद्धव थापा, प्रदेश नं. १ को राप्रपा संसदीय दलका नेता भक्ति सिटौला र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश सिटौला झापाकै हुनुहुन्छ ।

त्यसैगरी, सञ्चारमाध्यमको नेतृत्वमा पनि झापाली नै हावी छन् । 

कान्तिपुर दैनिकको सम्पादकमा सुधिर शर्मा, अनलाइन खबरका सम्पादक शिव गाउँले, अन्नपूर्ण पोस्ट दैनिकका सम्पादक अखण्ड भण्डारी र सेतोपाटीका सम्पादक अमित ढकाल पनि झापाकै हुनुहुन्छ ।

झापालीले काठमाडौंमा नेतृत्वदायी भूमिका धेरै पाएको भनेर सबैभन्दा बढी चर्चा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला भएको हो ।