४ वैशाख २०८१, मङ्गलवार

लागू औषधको कारोवारमा युवतीको प्रयोग बढ्दै

२७ फागुन २०७९, शनिवार
Image

झापा, २७ फागुन । इलामको चुलाचुली गाउँपालिका वडा नं. १ की ३४ वर्षीया मञ्जु चापागाईलाई शुक्रवार भारतबाट स्कुटर चढेर नेपाल आउँदै गर्दा भद्रपुरको मेची पुलमा प्रहरीले चेकजाँच गर्यो । उहाँले चलाएको स्कुटरबाट १६ ग्राम ८०० मिलिग्राम खैरो रंगको लिसाइलो पदार्थ बरामद भयो ।

बरामद भएको लिसाइलो पदार्थ लागू औषध ब्राउन सुगर थियो । युवतीले सामान्य अवस्थामा हाँकिरहेको स्कुटरको चेकजाँचमा यति धेरै प्रतिबन्धित लागू औषध फेला पर्ला भन्ने प्रहरीले सोचेकै थिएन ।

झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार लागू औषधको कारोवारमा अचेल युवतीको प्रयोग बढिरहेको हुँदा नाकामा प्रहरी चनाखो बनेको छ । चुलाचुलीकी मञ्जुले चलाएको प्रदेश १÷०१÷०१३ प १९७३ नम्बरको स्कुटीसँगै उहाँको साथबाट रु पाँच हजार ७५ र एक थान रेडमी मोबायल बरामद गरिएको सूचना अधिकारी रिजालले जानकारी दिनुभयो ।

भारतको सीमावर्ती पश्चिम बंगालस्थित पानीटंकी र बिहारको गलगलियाबाट ठूलो मात्रामा प्रतिबन्धित लागू औषध लुकीछिपी नेपाल भित्रिने गरेको छ । प्रहरीको निगरानी छल्न कारोवारीले युवतीको प्रयोग गर्न थालेपछि प्रहरीले सीमामा कडाइका साथ चेकजाँच गरिरहेको रिजालले बताउनुभयो ।

यही एक साताभित्र लागू औषधका कारोवारमा संलग्न ११ जनालाई झापाको प्रहरीले नियन्त्रणमा लिएर कानूनी कार्वाही अघि बढाएको छ । स्कुटी चालकदेखि लजमा बसेकासम्म युवतीको साथबाट प्रहरीले लागू औषध ब्राउन सुगर बरामद गरेको छ । 

प्रहरीले सात घटनामा पक्राउ गरेका ११ जनाबाटै ब्राउन सुगर बरामद भएको प्रहरीको भनाई छ । पक्राउ परेका व्यक्तिको औसत उमेर २० वर्ष रहेको छ । यसबाट झापामा ब्राउन सुगरको कारोबार र खपत ज्यादा हुने गरेको देखिएको छ । 

फागुन २० गते विर्तामोड वडा नं. २ का विश्वास संग्रौलाको डेरामा शंका लागी चेकजाँच गर्दा विर्तामोड–४ का विश्वास मण्डल र अनिशा मण्डल फेला परेका थिए । इलाका प्रहरी कार्यालय अनारमनीबाट दिइएको जानकारी अनुसार उनीहरुको साथबाट प्रहरी टोलीले आठ ग्राम खैरो धुलो जस्तो देखिने ब्राउन सुगर, रु. ११ हजार ६०० नगद, दुई थान मोवाइल र डिजिटल तराजु बरामद गरेको छ ।

यस घटनामा विर्तामोड–४ की २० वर्षीया युवती अनिशा मण्डललाई लागू औषधका कारोबारीले प्रयोग गरेको देखिएको छ । प्रहरीले युवतीसहित तीनै जनालाई अनुसन्धानका लागि पक्राउ गरी कानूनी कार्वाही अघि बढाएको छ ।

यसैगरी, अर्जुनधारा नगरपालिका वडा नं. ११ स्थित विर्तामोडको नयाँ बसपार्कमा रहेको पशुपतिनगर होटल एन्ड लजमा बस्दै आएकी मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ४ की १९ वर्षीया तिलु राईलाई शिवसताक्षी वडा नं. १२ का २० वर्षीय मनिष बरालसँगै पक्राउ गर्यो ।

उहाँहरुको साथबाट खैरो पदार्थ जस्तो देखिने ब्राउन सुगर अढाई ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । होटलमा बसेर लागू औषधको कारोवारमा संलग्न भएको आशंकामा प्रहरीले उहाँहरु बसेको कोठामा छापा मारेको थियो । 

फागुन २४ गते झापा गाउँपालिकाको सीमावर्ती लसुनाबाट सोही पालिका वडा नं. ५ का २२ वर्षीय देबेन्द्र चौधरी, फागुन २१ गते काँकरभिट्टाको मेची पुलबाट इलाम–१२ का सुजनबाला राई र विर्तामोड–१ का २१ वर्षीय विशाल धिमाल, फागुन २० गते नै काँकरभिट्टाको मेची पुलबाट विर्तामोड–१ का २१ वर्षीय विशाल धिमाल र फागुन १९ गते भद्रपुरस्थित मेची पुल नजिकबाट शिवसताक्षी–९ का २८ वर्षीय मोहन शेर्पा ब्राउन सुगरसहिति पक्राउ परेका छन् । 

झापा कारागारका आधाजसो कैदीबन्दी लागू औंषध अभियोगमा थुना परेकाहरु छन् । सहर र बजारतिर मात्र होइन, लागू औषधको सेवनकर्ता र कारोबारी ग्रामीण क्षेत्रमा छ्याप्ती छ्याप्ती देखिन थालेका छन् ।

अधिवक्ता डिगबहादुर बुढाथोकी प्रहरी र अदालतले प्रयोगको मात्रालाई मात्र आधार मानेर सजाय दिने नीति अवलम्बन गर्दा कारागारमा समेत लागूऔषधका कैदीबन्दीको संख्या बढेको बताउनुहुन्छ ।

लागूऔंषध नियन्त्रण ऐन २०३३ मा सेवनकर्ताको सुधारका लागि चिकित्सकको सल्लाहमा थोरै मात्रामा लागूऔषध लिन पाउने व्यवस्था भए तापनि यसको कार्यान्वयनमा ध्यान नगएको उहाँको भनाई छ । 

बढी संख्यामा थुनामा पुर्याउने नीति लिनुभन्दा सुधारात्मक गतिविधि बढाउन आवश्यक भएको अधिवक्ता बुढाथोकी बताउनुहुन्छ । लागूऔषधको सेवन गर्दा अधिकतम् एक वर्षसम्म र कारोबार गरेमा आजीवन काराबाससम्म कैद सजाय हुने कानूनी व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।