९ मंसिर २०८१, आइतवार

मेचीनगरको ग्रासरुट

संघसंस्थामा निरन्तर हार खेप्दै एमाले

२१ चैत २०७९, मङ्गलवार
Image

मेचीनगर, २१ चैत । पछिल्लो आम चुनावमा दोस्रो दलमा खुम्चिएको नेकपा एमाले यतिबेला पार्टीको भुइँतहका कार्यकर्ता र कमिटीहरुको अवस्था बुझ्न ‘मिसन ग्रासरुट’ अभियानमा छ ।

मेचीनगरमा भने आम चुनावपछि सम्पन्न भएका सामुदायिक संघ संस्थाको चुनावमा एउटा (मेची उद्योग वाणिज्य संघ )मा बाहेक अरुमा एमालेले एकपछि अर्को हार व्यहोरिरहेको छ ।

‘मिसन ग्रासरुट’ चलाइरहेको अवस्थामा एमालेले व्यहोरिरहेको यो हारले उसको बलियो गढ कमजोर बन्दै गएको अनुमान गर्नेहरुलाई बल मिलेको छ ।

धुलाबारी र काँकरभिट्टा गाविस मिलाएर मेचीनगर नगरपालिकाको गठन भएको थियो । पछि यसमा ज्यामिगरढी, दुहागढी, बाहुनडाँगी र धाइजन गाविस पनि मिसिए ।

कम्युनिस्ट गढ भनेर चिनिएका यी क्षेत्रहरुमा हुने सबैखालका संघसंस्थाको चुनावमा विगतमा एमाले समर्थित उम्मेद्वारले जित्थे । तर अहिले परिस्थिति उल्टिएको देखिन्छ ।

प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको चुनावमा यस क्षेत्रबाट एमाले बढारिएको छ भने नगरपालिकाको चुनावमा उसले आफ्नो विरासत जोगायो ।

नगर चुनावपछि स्ववियू चुनाव भएका काँकरभिट्टा र त्रिदेव बहुमुखी क्याम्पसमा एमाले नराम्ररी पराजित भयो । मेची सामुदायिक सेवा केन्द्रमा पनि कांग्रेसका बागी उम्मेद्वारले चुनाव जिते । 

हातेमालो र पाँचपोखरी सामुदायिक बनको हालै चुनाव भयो । दुबैमा एमाले हेरेको हेर्यै भयो । हातेमालोमा कांग्रेस र पाँचपोखरीमा नेकपा एसले नेतृत्व हात पार्यो ।

हालै धुलाबारी खानेपानी उपभोक्ता समितिको चुनावको परिणामले त झन् नेकपा एमालेलाई निकै ठूलो धक्का दिएको छ । 

एमाले र उसका गठबन्धनका उम्मेद्वारहरुलाई कांग्रेसले हराइदियो । यस चुनावमा एमालेसँग नेकपा माओबादी, नेकपा एस र जसपा पनि गठबन्धनमा थिए भने कांग्रेससँग राप्रपा थियो । राष्ट्रिय स्वतन्त्र पार्टी एक्लै भिडेर आफ्नो सम्मानजनक हैसियत कायम गर्न सफल भयो ।

एकपछि अर्को हार खेप्दै आएको एमालेका लागि धुलाबारी खानेपानी चुनावको पराजय पाठ सिक्न लायक छ । बाम गठबन्धन गर्दा पनि एमाले किन यति कमजोर सावित भयो ? सबैले यही प्रश्न उठाउँछन् ।

सामाजिक सञ्जालहरुमा कतिपय एमालेजनहरु धुलाबारी खानेपानीको हारलाई अन्तरघातको उपज बताउँछन् भने अर्काथरि एमालेहरु उम्मेद्वार चयन नै गलत भएको दावी गर्छन् ।

कांग्रेसको परम्परागत वर्चस्व रहँदै आएको खानेपानी चुनावमा एमालेले कांग्रेसका मत समेत आकर्षित गर्न सक्ने उम्मेद्वार उठाउनु पथ्र्यो । तर पार्टीका क्षेत्रीय अध्यक्ष टिकाराम मग्राती, मेचीनगर–९ का वडाध्यक्ष कञ्चन तामाङ र वडा नं. १० का अध्यक्ष नारायण खनालले पार्टी नेतृत्वमा रहेका अरुहरु कसैको कुरा नसुनी हठपूर्वक उम्मेद्वार उठाउँदा परिणाम लज्जास्पद आएको चर्चा एमाले वृत्तमै हुने गरेको छ ।

संगठन कमजोर बनेको र समर्थक तप्कामा वितृष्णा बढेको कारण नेकपा एमाले ग्रासरुटमै संकटग्रस्त देखिएको छ । मेचीनगरमा चलिरहेको ग्रासरुट अभियानमा यस विषयमा भने छलफल हुने गरेको छैन ।