३० असोज २०८२, बिहिवार

‘चारआली खानेपानी’द्वारा उपभोक्ताको ‘घरमै हस्पिटल शैया’ लगायतका कल्याणकारी कार्यक्रम घोषणा

३० असोज २०८२, बिहिवार
Image

झापा, ३० असोज । चारआली साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले उपभोक्ताहरुका लागि कल्याणकारी योजनाहरु अघि बढाउने भएको छ ।

संस्थाको विहीवार आयोजित १७ औँ परिषद् सभामा अध्यक्ष राजन चिमरियाले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा गम्भीर अवस्थाका विरामीका लागि ह्वीलचियर र शैयादेखि आफ्नो क्षेत्रमा निम लगायतका उपयोगी विरुवा हुर्काउनेसम्मको कार्यक्रम प्रस्ताव गरिएको छ । 

प्रतिवेदनमा अशक्त भई बेडमा बस्नु पर्ने अवस्था भएका विरामीका लागि घरमै हस्पिटल बेड र ह्वीलचियरको व्यवस्था गरिने उल्लेख छ ।

संस्थाले मेचीनगर–११, १२, १३ र १४ का तीन हजार ७१० जना उपभोक्तालाई शुद्ध पिउने पानी वितरण गरिरहेको जनाउँदै संस्थाको क्षमता भने तीन हजार ५६८ जनाका लागि मात्र रहेको चिमरियाले बताउनुभयो ।

अध्यक्ष चिमरियाको नेतृत्वमा रहेको समितिले उपभोक्ता हितका लागि गरेका कार्यहरु प्रतिवेदनमा समेटिएको छ । उहाँले तीन 'स' अर्थात स्वास्थ्य, सुरक्षा र संकटको जानकारी दिने स्टीकर बनाएर हरेक उपभोक्ताको घरदैलोमा पुर्याइएको बताउनुभयो । स्टीकर बनाउने खर्च अध्यक्ष स्वयम्ले व्यक्तिगत रुपमा व्यहोरेर संस्थाको व्ययभार घटाउनु भएको छ ।

उहाँले प्रत्येक उपभोक्ताको घरमा कपडाको बलियो झोला वितरण गरिने, प्राङ्गारिक मल बनाउनका लागि कुहिने फोहोर संकलन गरेर मोहोरमा परिणत गर्ने र वातावरणीय स्वच्छताका लागि निम, स्वामी, धुपी लगायतका विरुवा रोप्ने कार्यक्रम प्रस्ताव गर्नु भएको छ ।

उपभोक्ता सदस्यको मृत्यु भएमा सो महिनाको महसुल रकम मिनाहा गर्ने र नामसारी निःशुल्क गर्ने उहाँको प्रस्ताव छ । 

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका प्रमुख सुरतलाल चौधरीले रिमोटबाट स्वीच थिचेर डिजिटल बोर्ड ओपन गर्दै सभाको उद्घाटन गर्नु भएको थियो । 

प्रमुख अतिथि चौधरीले संस्थालाई संघीय सरकारबाट रु. एक करोड ६० लाख बजेट बिनियोजनको व्यवस्था मिलाइएको जानकारी दिनुभएको थियो ।

कार्यक्रममा इटहरीका ल्याव प्रमुख रमेशकुमार यादव, बुधबारे खानेपानीका उपभोक्ता समितिका अध्यक्ष ध्रुब ओली, चारआली खानेपानीका सल्लाहकार ओमनाथ भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा संस्थाका उत्कृष्ट दुई जना कर्मचारी रोशन रिजाल र विनोद घिमिरेलाई जनही रु. १५ हजार ५५५ रुपैयाँसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो भने संस्थाका कर्मचारी डम्बर ओझालाई एक महिनाको तलब बराबरको रकमसहित दीर्घसेवा सम्मानबाट पुरस्कृत गरिएको थियो ।

चारआली साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष राजन चिमरियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष मैया कार्कीले र सञ्चालन सचिव प्रेमराज घिमिरेले गर्नु भएको थियो ।

कार्यक्रममा सर्पदंश उपचार केन्द्र चारआलीका अध्यक्ष दुर्गा भट्टराई, मेचीनगर वडा नं. ११ र १२ का वडा अध्यक्षहरु रुद्र डाँगी र मधु निरौला लगायतको उपस्थिति रहेको थियो ।