२२ वैशाख २०८१, शनिवार

चिया निकासीका अवरोध हटाउन जीटुजी पहल गछौं : महावाणिज्य दूत

२६ चैत २०७९, आइतवार
Image

झापा, २ चैत । भारतको कोलकातास्थित महावाणिज्य दूत ईश्वरीराज पौडेलले नेपाली चिया विश्वमै लोकप्रिय र गुणस्तरीय रहेको बताउँदै भारत निकासीका अवरोधहरु हटाउन जीटुजी पहल गरिने बताउनु भएको छ ।

नेपाली चियाको गुणस्तरका विषयमा भारतीय व्यवसायी र मिडियाबाट सिर्जना गरिएका भ्रमहरुको सप्रमाण खण्डन गर्दै निर्यात प्रवर्धनका अवरोधहरु हटाउन भारतीय सरोकारवाला पक्षसँग छलफल गरिने उहाँले बताउनु भयो ।

‘नेपालको चिया तथा कृषिजन्य उत्पादन निकासी प्रवर्धन’ सम्बन्धमा महावाणिज्य दूताबास र नेपाल चिया उत्पादक संघद्वारा आज झापाको काँकडभिट्टामा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाली व्यवसायीहरुले चिया निर्यातमा अवरोध उत्पन्न भइरहेको गुनासो सुनाएपछि उहाँले समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

नेपाली चियाले भारतीय चिया बजारलाई ध्वस्त पारेको भनी भारतीय मिडियामा भइरहेको दुष्प्रचार गलत भएको जनाउँदै उहाँले नेपाली चिया र भारतको दार्जीलिङको चियाको आ–आफ्नै लोकप्रियता रहेको स्पष्ट पार्नुभयो ।

उहाँले अहिलेसम्म नेपाली चिया भारतीय बजारमा निर्भर रहेको हुँदा अब बैकल्पिक बजार खोज्न समेत चिया व्यवसायीहरुलाई सुझाव दिनुभयो । “अब भारत बाहिर पनि बजार खोज्नु पर्छ,” उहाँले भन्नुभयो–“दक्षिण एसियाका अन्य छिमेकी, खाडी मुलुक र यूरोप पनि हाम्रो बजार बन्नसक्छ ।”

चिया उत्पादक तथा व्यवसायीहरुले नेपालमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन हुने चियाको भारत निकासीलाई सहज बनाउन भारतीय सरकारसँग जीटुजी तहबाट छलफल गर्न आवश्यक रहेको सुझाव व्यक्त गरेका थिए । 

नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार अग्रवालले नेपालको चिया बारेमा भारतमा दुष्प्रचार भइरहेको गुनासो सुनाउँदै यसलाई चिर्न नेपाल सरकार र मिडियाको सहयोग चाहिएको बताउनुभयो ।

“नेपाली चिया कमसल गुणस्तरको छ भनेर भारतमा प्रायोजित प्रचार भइरहेको छ, यसलाई रोकिनु पर्छ,” उहाँले भन्नुभयो–“अर्कोतिर नेपाली चियाको निर्यातमा भारतले ४० प्रतिशत भन्सार कर लगाउने तयारी गरिरहेकोमा हामी चिन्तित भएका छौं ।”

भारतले नेपालको चियामा ४० प्रतिशत भन्सार कर लगाएमा नेपाली चिया महँंगिएर भारतमा नबिक्ने र प्रतिष्पर्धामा टिक्न नसक्ने उहाँको भनाई थियो । अहिलेको शून्य भन्सार नीति कायम राख्नका लागि भारत सरकारसँग नेपाल सरकारले जीटुजी छलफल चलाउनु पर्ने उहाँले सुझाव राख्नुभयो ।

चिया उत्पादक किसन सरियाले नेपालबाट उत्पादित चियाको गुणस्तर प्रमाणपत्रलाई भारतमा मान्यता नमिल्ने हुँदा निर्यात व्यवसायीहरुले कोलकातामा नमुना पुर्याएर भारतीय प्रयोगशालाको रिपोर्ट ल्याउनु परिरहेको बताउनुभयो । नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त खाद्य प्रयोगशाला स्थापना गरिनु पर्ने र नेपालको प्रयोगशाला जाँचलाई भारतमा मान्यता दिइनु पर्ने उहाँको धारणा थियो ।

नेपाल चिया उत्पादक संघका उपाध्यक्ष आदित्य पराजुलीले भारतीय चिया बोर्ड नै नेपालको चिया रोक्ने कानूनी व्यवस्था लागू गराउन लागिपरेको जनाउँदै नेपाली चियामा कुनै मिसावट नभएको बारेमा भारतीय पक्षलाई आश्वस्त तुल्याउन आवश्यक रहेको बताउनुभयो ।

भारतीय बजार गुम्यो भने नेपालको चिया उद्योग धराशायी हुने जोखिम औंल्याउँदै उहाँले यसमा आश्रित लाखौं मजदुर, किसान, उद्योगी र व्यवसायी संकटमा पर्ने चेतावनी दिनुभयो । भारतमा नेपाली चियाका बारेमा भइरहेका नकारात्मक प्रचार र भ्रमलाई चिर्न कोलकतामै कार्यक्रम सञ्चालन गर्न उहाँले सुझाव दिनुभयो ।

मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकले चियाको निर्यातमा गैर भन्सार अवरोध हटाउन सबै लाग्नु पर्ने उल्लेख गर्दै नेपाली मिडियाले पनि चियाका बारेमा विश्व बजारमा फैलाइएका नकारात्मक भ्रमहरु चिर्न सघाउनु पर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले चियाको निर्यातका लागि भारतीय निर्भरता कम गर्न र अन्य मुलुकमा पठाउने बारेमा विकल्प खोज्न चिया व्यवसायीहरुलाई सुझाउनु भयो ।

चिया निर्यातमा संलग्न व्यवसायी रोशनकुमार अग्रवालले नेपालले भारतीय चियाको आयातलाई न्यूनीकरण र स्वदेशी चियाको संरक्षण गर्दै जाने नीति अन्तर्गत भन्सार महसुल ३० बाट बढाएर ४० प्रतिशत बनाएपछि भारतीय पक्ष चिढिएको बताउनुभयो ।

चिया उत्पादक तथा भारतीय चिया बोर्डले नेपाली चियालाई समेत भन्सार शुल्क लगाउने तयारी गरिरहेको जानकारी पाएको उहाँले बताउनुभयो । भारतले चियामा भन्सार शुल्क लगाएमा नेपाली चियाको निर्यातमा नकारात्मक असर पर्ने उहाँको भनाई थियो ।