१६ चैत २०८०, शुक्रवार

बालकल्याणका विद्यार्थीलाई शैक्षिक र खेलकुद सामाग्री

१६ वैशाख २०८०, शनिवार
Image

शिवसताक्षी, १६ बैशाख । शिवसताक्षी–५ भेलामुनी स्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरु सधैंभन्दा शुक्रबार बेग्लै खुसीमा रमाए ।

विपन्न समुदायका बालबालिका अध्ययन गर्ने सो विद्यालयका १५१ जना विद्यार्थीलाई वडा नं. ५ ले स्कूल ब्याग, जुत्ता, मोजा, टाई र बेल्ट प्रदान गरेर अभिभावकलाई समेत खुसी तूल्याएको थियो । 

यतिमात्र होइन, कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुले अन्तिम परीक्षामा प्राप्त गरेको अंकका आधारमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई विष्णु–लक्ष्मी सिटौला कोषले वर्षेनी वितरण गर्ने पुरस्कार पनि शुक्रबार नै प्रदान गरिएको थियो । 

दुईवटै कार्यक्रमहरु विद्यालयको शैक्षिक उन्नयनका लागि जनप्रतिनिधि र समुदायका अगुवाहरुको रचनात्मक पहलको प्रतिफल थियो । 

विष्णु–लक्ष्मी सिटौला कोषका प्रमुख संरक्षक नरेन्द्रप्रकाश सिटौलाको अध्यक्षता तथा शिवसताक्षी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष सिकिन पासवानको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।

विद्यालयका शिक्षक राजनप्रसाद निरौलाले सञ्चालन गरेको सो कार्यक्रममा वडाध्यक्ष पासवानले आफ्नो वडाका सबै विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट बनाउने प्रयासमा रहेको बताए । 

वडाध्यक्षले वडाको बजेटबाट २ लाख ५० हजार रुपैयाँ खर्चेर उनीहरुका लागि स्कूल ब्याग, जुत्ता, मोजा, टाई र बेल्ट प्रदान गरेका थिए ।

सो कार्यक्रममा विष्णु–लक्ष्मी सिटौला कोषको तर्फबाट सबै कक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई स्टेशनरी सामग्री र सबै विद्यार्थीहरुलाई लक्षित गरी विद्यालयलाई एक–एक थान फुटबल र भलिबल प्रदान गरिएको थियो । 

कार्यक्रमको अध्यक्षता गरिरहेका पुरस्कार कोष संस्थापक सिटौलाले आफ्ना बुवाआमाको स्मृतिमा विद्यालयका बालबालिकालाई पुरस्कृत गरिँदै आएको स्मरण गराउँदै यसलाई निरन्तरता दिइने बताए । 

बालकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक दधिकुमार गणेशले स्वागत गरेको सो कार्यक्रममा पत्रकार गोपाल काफ्लेले विगतभन्दा यो वर्ष विद्यालयको स्वरुपमा केही फरक भएको बताए । 

कार्यक्रममा शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख छविालाल ढकालले बालबालिकाहरुले गृहकार्य गरे वा गरेनन् भन्नेतर्फ ध्यान दिन आग्रह गरे ।