झापा, १९ कात्तिक । सानो माई खोलामा गत वर्ष आएको बाढीले झापा गाउँपालिका–१ का ६५ वर्षीय राजु अग्रवालको दुई बिगाहा उर्बर धानखेत बगाएर बगरमा परिणत गरेको थियो । तर, उहाँले निराशालाई आशामा बदल्दै त्यही बगरमा बदाम खेती सुरु गर्नुभयो ।
बगर खेतमा अहिले २० क्वीन्टल बदाम फलेपछि अग्रवाल उत्साही हुनुभएको छ । बजारमा उहाँले फलाएको बदाम प्रतिकेजी रु. १०४ का दरले विक्री भइरहेको छ ।
“धान फल्ने खेत बालुवाको बगर बनेपछि दुःख लाग्नु स्वाभाविकै थियो,” उहाँले बदाम खेती गर्दाको संघर्षको कथा सुनाउँदै भन्नुभयो– “बाढीको कहरबाट म स्तब्ध भएँ, तर बिचलित भइन । कुन खेती गर्न सकिन्छ भनेर सोधीखोजी गर्न थाले । बदाम फल्छ भन्ने थाहा पाएपछि म उत्साहका साथ नयाँ खेतीमा जुटेँ ।”
उहाँले भारतीय बजारबाट १० केजी बदामको बीउ ल्याएर सुरुमा पाँच कठ्ठा क्षेत्रफलमा बदामको परीक्षण खेती गर्नु भएको थियो । बाली सप्रिएपछि उत्साहित बन्नुभएका अग्रवालले हाल खेतीको क्षेत्रफल बढाएर दुई बिगाहा पु¥याउनु भएको छ ।
पहाडी क्षेत्रमा हुँदै आएको बदाम खेती झापा जस्तो तराई क्षेत्रमा फस्टाउनु अनौठो भएको छ । तर, कृषि प्राविधिकहरुले तराई क्षेत्रमा बदाम फल्छ भनेर दिएको सल्लाहलाई उहाँले परीक्षणबाटै सावित गर्नुभयो ।
धान वा अन्य परम्परागत बालीभन्दा बदाम खेतीबाट राम्रो फाइदा लिन सकिने उहाँको अनुभव छ । जेठ महिनामा रोपिएको बदाम कात्तिक महिनामा फलेपछि उहाँलाई अहिले बाली भित्राउने चटारो छ । बदाम लहरे बाली हो । उहाँले यसपाली फलेको बदाम विक्री गरेर रु. दुई लाखभन्दा बढी आम्दानी हुने बताउनुभयो ।
खुकुलो, हलुका र बलौटे–दोमट माटो भएकाले तराईको न्यानो मौसम बदाम उत्पादनका लागि अति उपयुक्त मानिने झापा गाउँपालिकाकी कृषि प्राविधिक रीता बर्देवाले बताउनुभयो । स्वादका लागि मात्र नभई स्वास्थ्यका दृष्टिकोणले पनि बदाम अति नै गुणकारी मानिन्छ ।