१२ साउन २०८१, शनिवार

कीर्ते धनीपूर्जा बाँडेर सुकुम्बासी ठग्ने दुई आरोपी पक्राउ

१८ वैशाख २०८०, सोमवार
Image

झापा, १८ बैशाख । जग्गाको नक्कली धनीपूर्जा दिएर मेचीनगर नगरपालिका वडा नं. ५ मेचीडाँडाका ६० परिवारसँग रकम असुली गरेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन् । आरोपीहरुले पीडितहरुसँग लाखौं रकम असुलेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार जग्गाको नक्क्ली धनीपूर्जा बनाएर दिएको आरोप लागेका मेचीनगर–६ का ७५ वर्षीय भूपध्वज दाहाललाई प्रहरीले आज पक्राउ गरेको छ । अर्का आरोपी सोही वडाका ७३ वर्षीय ज्ञानबहादुर गिरी केही दिन अघि नै पक्राउ परेका थिए । 

वर्षौदेखि ऐलानी जग्गामा बसोबास गर्दै आएका मेची डाँडाका सुकुम्बासी परिवारसँग जग्गाको धनीपूर्जा थिएन । धनीपूर्जा बनाएर घरमै ल्याइदिने भन्दै स्थानीय तीन जनाले रु. १० हजारदेखि ७० हजारसम्म रकम असुली गरेको पीडितहरुको भनाई छ । आरोपीमध्ये फरार एक जनाको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।

छ महिना अघि जग्गाधनीको फोटो टाँसिएको र रातो मसीले सही गरिएको सरकारी छापसहितको जग्गा धनीपूर्जा पाउँदा स्थानीय सुकुम्बासीहरु दंग थिए । तर, उनीहरुको यो खुशी लामो समय टिकेन । डेढ महिना अघि केही जग्गाधनीले मेचीनगर–६ को वडा कार्यालयमा एकीकृत सम्पत्ति कर तिर्न जाँदा सो धनीपूर्जा नक्कली भएको खुलासा भएको थियो । वडामा जाँदा मात्रै सुकुम्बासीहरुले धनीपूर्जाको नाममा ठगिएको पत्तो पाएका थिए ।

रकम असुलेर नक्कली धनीपूर्जा दिने व्यक्तिहरुविरुद्ध पीडितहरुले जिल्ला प्रशासन कार्यालय झापामा किटानी उजुरी दिएका छन् भने जिल्ला प्रशासनले घटनाको अनुसन्धान गर्न प्रहरी निकायलाई निर्देशन दिएको छ ।

ऐलानी तीन धुर जग्गामा बसोबास गर्दै आउनु भएकी मेचीनगर–६ की सरस्वती बरालले वडा कार्यालयमा तिरो बुझाउन जाँदा त्यहाँका कर्मचारीहरुले धनीपूर्जा नक्कली भएको जानकारी गराएको बताउनुभयो ।

“गाउँकै भूपध्वज दाहाल र ज्ञानबहादुर गिरीले पचास हजार रुपैयाँ दिनु, धनीपूर्जा बनाएर ल्याइदिन्छु भनेपछि रु. ३५ हजार बुझाएको थिएँ,” ठगीको शिकार हुनुभएकी सरस्वती बरालले भन्नुभयो–“वडामा तिरो बुझाउन जाँदा पो धनीपूर्जा नक्कली हो भनिदिए । मेरो पैसा पनि गयो, धनीपूर्जा पनि कीर्ते पर्यो ।”

वडा कार्यालयका कर्मचारीले कम्युटरमा धनीपूर्जाको कित्ता नम्बर भिडाउँदा नभेटिएपछि पीडित बराल वडा कार्यालयमै केहीबेर वेहोश हुनुभएको थियो । सो वस्तीका ५९ जनाले वडा कार्यालयमा गएर धनीपूर्जाको कित्ता नम्बर भिडाउँदा नभेटिएपछि गाउँमा बाँिडएिका सबै धनीपूर्जा कीर्ते भएको प्रमाणित भएको थियो । हाल सो गाउँका पीडितहरुको रुवाबासी छ । कतिले चर्को ब्याजमा ऋण काढेर धनीपूर्जाका लागि रकम बुझाएका थिए ।

धनीपूर्जा बनाइदिन्छु भनेर रकम असुली गर्नेहरुविरुद्ध पीडितहरुले गत चैत १७ गते वडा कार्यालयमा उजुरी दिएका थिए । वडाले पीडितको रकम फिर्ता गराउनका लागि गरेको प्रयास असफल भएपछि जिल्ला प्रशासन कार्यालयलाई पीडितहरुले गुहारेका हुन् । अब यो मुद्धा प्रशासनको न्यायिक कठघरामा पुगेको छ ।

गिरी र दाहालका परिवारले पीडितहरुलाई आधा रकम फिर्ता गरिदिने भन्दै वैशाख १० गते गाउँमै छलफल चलाएर घटनालाई सामसुम पार्न खोजेका थिए । छलफलमा सहमति भए अनुसारको म्यादभित्र रकम फिर्ता भएन । पीडितहरु अहिले न्याय खोज्दै जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय धाइरहेका छन् ।

सोहि ठाउँकी अर्की पीडित मीना खनालले रु. ६५ हजार दिएपछि आरोपीहरुले ६ धुरको धनीपूर्जा बनाएर ल्याइदिएको बताउनुभयो । रकम असुली र धनीपूर्जा लेनदेनमा वृद्ध व्यक्तिहरु प्रत्यक्ष रुपमा जोडिए तापनि कुनै ठूलो गिरोह यस धन्धामा संलग्न हुनसक्ने पीडितहरुले आशंका गरेका छन् । नेकपा एमाले मेचीनगर एक प्रेस विज्ञप्ति प्रकाशित गरी कीर्ते धनीपूर्जा बनाएर सुकुम्बासीसँग रकम असुलिएको घटनाको गहिरो छानविन हुनुपर्ने माग गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रिजालले ठगिएको भन्दै उजुरी दिन आउने पीडितहरु बढिरहेको बताउनुभयो । पक्राउ परेका आरोपीहरुविरुद्ध कीर्ते जालसाझी मुद्धा अन्तर्गत कानूनी कार्वाही हुने उहाँले बताउनुभयो ।