१३ वैशाख २०८१, बिहिवार

एक प्रतिशत बजेट राख्ने सहमतिपछि महावीरको धर्ना अन्त्य

१८ वैशाख २०८०, सोमवार
Image

झापा, १८ वैशाख । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सरकारसँग सम्झौता गर्दै धर्ना अन्त्य गर्नुभएको छ ।

उहाँले शुक्रवारदेखि माइतीघर मण्डलामा धर्ना गरिरहनु भएको थियो  । सरकार अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कारका लागि विकास बजेटको एक प्रतिशत रकम छुट्याउन सहमत भएपछि उहाँले सम्झौताको बटो लिनुभएको हो ।

अध्यक्ष महावीर पुन र सरकारबीच सोमबार सातबुँदे सहमति भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र आविष्कार केन्द्रका अध्यक्ष पुनले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सहमतिअनुसार अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्ने छ । 

कोषको व्यवस्थापन तथा सञ्चालनका लागि सरकारले ६० दिनभित्र विधेयकको मस्यौदा तयार पार्ने छ भने संघीय संसदको आउँदो अधिवेशनबाट विधेयक पास गर्ने छ । 

साथै आगामी आर्थिक वर्ष पुँजीगत (विकास) बजेटको एक प्रतिशत रकम कोषमा जम्मा गर्ने पनि सहमतिमा उल्लेख छ ।

अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारलाई प्रवद्र्धन गर्न आवश्यक नीतिगत, कानुनी एवं संस्थागत प्रबन्ध गर्ने, आविष्कारबाट उत्पादित वस्तु तथा सेवालाई आवश्यक पर्ने अनुमति, लाइसेन्स लगायतसँग सम्बन्धित कानुनी सुधारमा सहजीकरण गर्ने पनि सहमतिमा उल्लेख छ ।