१४ वैशाख २०८१, शुक्रवार

समुदाय–प्रहरी साझेदारी कार्यक्रम

सार्वजनिक सुनुवाईमा कसले के भने ?

५ जेठ २०८०, शुक्रवार
Image

मेचीनगर, ५ जेठ । जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा काँकरभिट्टामा समुदाय–प्रहरी साझेदारी अन्तरगत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

विहीबार काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा आयोजित सो कार्यक्रममा मेचीनगरका विभिन्न विषयमा उठेका प्रश्नहरुको जवाफ सरोकारवाला निकायका प्रमुखहरुले दिएका थिए । 

सार्वजनिक सुनुवाईमा कस्ले के भने । हेनुहोस् जस्ताको त्यस्तै ।

मुक्ति पौडेल : सञ्चारकर्मी

पत्रकार र प्रहरीबीचमा सहकार्यको अभाव रहेको छ । त्यसलाई समन्वय गर्न आवश्यक छ ।

विटु गुरुङ : समाजसेवी

काँकरभिट्टा खुल्ला सीमा भएकोले लागुऔषधमा फसेका युवायुवतीका कारणचोरीका घटना बढेको छ । मेरै घरबाट ३ वटा मोवाइल चोरी भएको छ । यस्मा प्रहरीले ध्यान दिन जरुरी छ ।

राधा कार्की : समाजसेवी

विचौलियाका कारण जग्गा दलालीले गर्दा सोझासिधा नागरिकलाई ठगिएका छन् । बलात्कार जस्तो जघन्य विषयमा प्रहरीले अनुसन्धान गर्दा पुरुष वा महिला कस्को बढी गल्ती छ सुष्म ढंगले अध्यायन गर्नु पर्छ ।

दिलिप थापा : सञ्चारकर्मी

सञ्चारकर्मीहरुलाई सूचना दिँदा ईलाका प्रहरी कार्यालयबाटै उपलब्ध गराउँनु पर्छ । जिल्ला प्रहरी कार्यालयबाट समयमा सूचना नआउने गरिएको गुनासो छ ।

अर्जुनकुमार कार्की : वडाध्यक्ष

प्रहरी–प्रहरी जस्तो नदेखिएपछि जनताले हेर्ने दृष्टिकोण फरक छ ।

खडानन्द भण्डारी : यातायात व्यवसायी

यातायात तथा अन्य क्षेत्रमा लागेका मजदुरका पीडा सम्बोधन हुनुपर्छ ।

केशव गिरी : यातायात व्यवसायी

पानीट्याङ्कीदेखि काँकरभिट्टासम्मको सडकमा यात्रुलाई सास्ती भएको छ । त्यसको समाधान गर्न ढिला गर्नु हुँदैन । 

सुरेशकुमार श्रेष्ठ (गोपाल) : होटल संघ अध्यक्ष 

मेची पुलमा सिटी रिक्साको जाम छ । त्यहाँबाट २ नम्बरी काम हुन्छ । पाँच ठाउँमा प्रहरीको चेकजाँच छ । त्यसले पर्यटकलाई झन्झट भएको छ ।

पूर्ण योङहाङ : सिटीरिक्सा संघ अध्यक्ष

सिटीरिक्सा नगरमा सञ्चालनमा समस्या भएको छ । दर्ता र लाईसेन्सको व्यवस्था गर्नुपर्छ ।

नवराज घिमिरे : तरकारी संघ अध्यक्ष

भारतको पानीट्याङ्कीबाट तरकारी ल्याउँदा मेची पुलको गेटमा प्रहरीले हात मिलाउने गरेका छन् । यसको अन्त्य हुन जरुरी छ । 

नेत्र कार्की : ट्राभल्स संघ अध्यक्ष

भारत, बंगलादेश, भुटान लगायत अन्य मुलुकबाट आउने पर्यटकहरुलाई नाकामा सहज छैन । त्यसलाई व्यवस्थित गर्नुपर्छ । मेची डाँडाका स्थानीयलाई नक्कली धनीपुर्जा वितरण लगायतका समस्या समाधान गर्नुपर्छ ।

सन्दिप थापा : सामाजिक अभियन्ता

युवाहरु लागुऔषधको दुव्र्यशनीमा फसेका छन् । यीनीहरुको संरक्षण गर्नुपर्छ । प्रहरीले लागुऔषधमा लागेका, प्रयोग गर्ने वा कारोवारी हेरेर मात्र समात्ने, जेल हाल्ने गर्नुपर्छ । विना वित्थामा हेरेसमेन्ट दिनु हुँदैन ।

भीम लुइटेल : सामाजिक अभियन्ता

सीमा नाकामा लागुऔषधको महामारी छ । यसको रोकथामका लागि भारतसँग सहकार्य गर्नुपर्छ ।

शुवर्ण भट्टराई : शिक्षक

प्रहरीले लागुऔषधको क्षेत्रमा गरेको काम प्रशंसनिय छ । प्रहरीमा थन्किएका विभिन्न मुद्दाहरुको फायल ओपन गर्नुपर्छ ।

गणेश चौहान : अटो संघ अध्यक्ष

सिटीरिक्सा र अटोलाई व्यवस्थापन गर्न नगरपालिका र प्रहरीले समन्वय गर्नुपर्छ । यी सवारी साधानको दर्ता र लाईसेन्सको प्रकिया चाँडो टुंग्याउनु पर्छ ।

विष्णुकुमार श्रेष्ठ : मेचीबसका अध्यक्ष

मेची पुलमा सिटीरिक्साको जाम, अव्यवस्थित पार्किङ, प्रहरी र मेची भन्सार कार्यालयका कर्मचारीहरुको चेकजाँचले यात्रु हैरान भएका छन् । यसको समाधान गर्न सबै एकजुट हुनुपर्छ ।

गणेशकुमार खरेल : देवकोटा पार्क अध्यक्ष

सिसि क्यामेराहरु काम नलाग्ने अवस्थामा छन् । बिग्रिएका छन् । बसपार्कमा पार्किङको समस्या छ ।

नवराज सुवेदी : सञ्चारकर्मी

काँकरभिट्टा, ईटाभट्टा, धुलाबारी, चारआली लगायतका स्थानका सिसि क्यामेराहरु बिग्रिएका छन् । त्यसको मर्मत सम्भार कसले गर्ने हो । नाकामा प्रतिबन्धित भारतीय लट्री (चिठ्ठा) को विगविगी छ । चिठ्ठाका कारण नागरिको उठिबास हुने स्थिति छ । यसबाट लाखौँ रुपैयाँ भारत गइरहेको छ । नकलबन्दा, सतिघट्टा लगायतका स्थानबाट खुलेआम तस्करी भइरहेको छ । यसमा किन प्रहरी मुकदर्शक भएर बसेको छ । 

राजु दाहाल : सहकारीकर्मी

प्रतिबन्धित भारतीय चिठ्ठा, अव्यस्थित पार्किङ लगायतका विषयमा सरोकारवाला निकायहरु गम्भीर बन्नु पर्छ । भारतबाट चिठ्ठा भित्राउन प्रहरीकै मिलोमतो रहेको छ ।

फडिन्द्र घिमिरे : सामाजिक अभियन्ता

यहाँ उठेका सबै विषयलाई कार्यान्वयनको पक्षमा लानुपर्छ ।

उदय प्याकुरेल : सामाजिक अभियन्ता

नाकामा प्रहरीले सामान चेकजाँच गर्दा अभद्र व्यहार गर्छन् । विशेष गरेर महिलाहरुलाई त्यस्तो गर्छन् । महिलाहरुको व्याग निकालेर खोतालखुतुल पार्ने गरेका छन् । त्यस्तो व्यवहार प्रहरीले सच्चाउनु पर्छ ।

ईन्साक सेन्चुरी : सामाजिक अभियन्ता

यातायात व्यवस्था कार्यालयले सवारी अनुमति पत्र(स्मार्ट लाईसेन्स) दिन किन ढिलाई गरेको हो । एउटा नागरिकको लाईसेन्स दिन एकवर्ष बढी लाग्छ । त्समा सुधार गर्न आवश्यक छ ।

रमेश गुरुङ : सामाजिक अभियन्ता

मनव तस्करीमा संलग्न दलालहरुले विभिन्न मोडल चेन्ज गरेर नेपाली चेलीवेटी भारतमा लगेर वेचविखन गरिरहेका छन् । भीआईपी गाडीलाई पनि प्रहरीले निगरानी गर्नुपर्छ । दलालको पहुँचको आधारमा प्रहरीले पीडित महिलाहरुको मुद्दा दर्ता नगरेको अवस्था छ ।

अर्जुन राई : सामाजिक अभियन्ता

नाकामा लागुऔषधको अवस्था भयावह छ । यसको रोकथामका लागि अब लागुऔषध सम्बन्धी पाठ्यपुस्तक प्रकाशन गर्नुपर्छ । यसका विषयमा विद्यार्थीहरुलाई पढाउनु पर्छ ।

दुर्गाराज रेग्मी : एसपी 

केन्द्रको नीति अनुसार सूचना दिँदा एकरुपता कायम होस् भनेर जिल्लाले हेर्ने गरेको छ । झापामा १४४ दशमलव २ किलोमिटर खुल्ला सीमा नाका छ । लागुऔषधको कारोवार अत्यधिक छ । १० महिनामा १ केजी साढे २ सय ग्राम ब्राउन सुगरसहित मानिस पक्राउ परेको अवस्था छ । 

नाकामा प्रविधिमैत्री यन्त्र नभएका कारण चेकजाँच अलिक बाक्लो छ , झनझटिलो पनि छ । रिह्याव सेन्टरहरुमा ठुलोधन्दा हुने गरेको छ । सेन्टरले लागुऔषधमा फसेकाहरुलाई राम्रो उपचार तथा परामर्श दिनुपर्छ । भरातको पानीट्याङ्कीका विभिन्न औषधि पसलहरु लागुऔषध बिक्री गर्छन् । त्यो सबैलाई थहा छ । तर, त्यहाँ गएर हाम्रा वा उताका नागरिकलाई समातेर कारवाही गर्ने अवस्था छैन ।

सिसि क्यामेरा ब्रिगिसकेपछि मर्मत गर्ने श्रोत छैन । यसमा स्थानीय सरकारले सहयोग गर्नुपर्छ । प्रतिबन्धित भारतीय चिठ्ठाका विषयमा भरातीय कारोवारीलाई पक्राउ गर्ने गरेको छ । तर हाम्रा नेपाली नागरिकलाई आइन्दा नखेल्ने शर्तमा कागज गराएर छाड्ने गरिएको छ । यसलाई कडाईका साथ नियन्त्रण गरिनेछ ।

व्यापारीले भारतबाट ल्याएको समानका विषयमा प्रहरीले हात मिलाउनु ठिक होइन । विकृति हो । यसलाई कडाईका साथ पालना गरिनेछ । सार्वजनिक सुनुवाईमा उठेका विषयलाई केन्द्रमा पनि ध्यानाकर्षण गरिनेछ ।

गोपालचन्द्र बुढाथोकी : मेयर

यी सबै समस्या खुल्ला सीमाका कारण भएको हो । सीमामा पर्खाल निर्माण गर्नुपर्छ । लागुऔषध नियन्त्रणका लागि विद्यालयदेखि अभिभावकसँग कार्यविधि बनाएर जेठ महिनाभित्र वृहत कार्यक्रम गरिनेछ । 

सिसि क्यामेराको व्यवस्थापन गरिनेछ । सिटीरिक्सा तथा अटोहरुको ब्लुबुकको व्यवस्था गरिनेछ । दर्ता र लाईसेन्सको प्रकियामा जानेछौँ ।

प्रहरी नाकामा बदनाम भएको अवस्था छ । यो ठाउँलाई बाहिरका नागरिकले दुरगन्धित भनेर चिनिएको छ । नाकामा प्रहरी र व्यापारीको हात मिलाउने कुराको अन्त्य हुनुपर्छ ।

शिवराम पोखरेल : सीडीओ

पूर्वी सीमा नाका काँकरभिट्टा एउटा अन्तराष्ट्रिय नाका हो । हरेक कुराको समाधान दुई देशबीचको सहकार्यमा मात्र हुन्छ । बंगलादेश वा भुटानसँगको व्यापार तथा अन्य विषयमा भारतसँग अनुमति नमागी कुनै काम पुरा हुँदैन । सीमा नाका प्रहरीको ऐना हो । त्यसैपनि प्रहरीले सुरक्षा बढाएको हुन्छ । यस्तो कार्यक्रमले सरोकारवाला निकायलाई फिडबेक हुनेछ ।

जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले तथा कार्यक्रमको औचित्यमाथि प्रकाश र सञ्चालन प्रहरी निरीक्षक गुरुप्रसाद तिम्सिनाले गरेका थिए ।

कार्यक्रममा मेचीनगरका प्रायःसबै संघ–संस्थाका प्रमुख प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।







लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।