३० कार्तिक २०८२, शनिवार

झापामा एमालेको शक्तिप्रदर्शन

३० कार्तिक २०८२, शनिवार
Image

झापा, २९ कात्तिक । नेकपा एमाले झापाले आज विर्तामोडमा जागरण सभामार्फत शक्ति प्रदर्शन गरेको छ ।

जिल्ला कमिटीको आयोजनामा जेनजी आन्दोलनपछि एमालेले झापामा गरेको यो जनप्रदर्शन हो । उल्लेख्य संख्यामा कार्यकर्ताहरु प्रदर्शनमा पार्टीको झण्डा र चुनाव चिह्नसहित सहभागी भएका थिए । सहभागीले सिटी सेन्टर अगाडिको कार्यक्रमस्थल भरिभराउ थियो । 

जनसभालाई पार्टीकी केन्द्रीय सचिव पदमा अर्याल, युवा नेता मनोज ताम्ली लगायतले सम्बोधन गर्नु भएको थियो । 

केन्द्रीय सचिव अर्यालले झापामा भएको प्रदर्शनमा देखिएको विशाल सहभागिताले सिंगो मुलुकलाई सन्देश दिएको बताउँदै प्रतिगमनविरुद्ध झापाली जनताले एमालेलाई बलियो साथ दिएको बताउनुभयो ।

उहाँले मुलुकमा राष्ट्रिय झण्डा ओढेर देशलाई खरानी बनाउनेविरुद्ध एमाले चुप लागेर नबस्ने चेतावनी दिँदै जनताले बलिदान दिएर ल्याएको संविधानको रक्षा गर्ने दायित्व एमालेको काँधमा रहेको बताउनुभयो ।

उहाँले बाम ध्रुवीकरणका क्रममा गठन भएको नेपाली कम्युनिस्ट पार्टी र नयाँ पार्टीहरु एमालेको विरोध गर्न गठन भएको आरोप लगाउँदै आकाशमा हजारौं तारा भए तापनि एउटै सूर्य काफी भए जस्तै एउटै एमाले संविधान र लोकतन्त्रको रक्षाका लागि सक्षम रहेको दावी गर्नुभयो ।

एमाले युवा नेता मनोज ताम्लीले सिंहदरवार र सर्वोच्च अदालत जलाउनेहरु नेपाली हुन नसक्ने धारणा व्यक्त गर्दै लोकतन्त्रका लागि जस्तोसुकै बलिदानी गर्न नेकपा एमाले तयार रहेको बताउनुभयो ।

जनसभाको अध्यक्षता जिल्ला अध्यक्ष प्रेम गिरीले गर्नु भएको थियो भने सभालाई एमाले झापाका उपाध्यक्ष शिव ढुङ्गेल, बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई लगायतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा एमालेका केन्द्रीय नेताहरु अग्नि खरेल, रविन कोइराला, दिपक कार्की लगायतको उपस्थिति रहेको थियो ।