१४ वैशाख २०८१, शुक्रवार

नारी कल्याणकारीले दियो कृष्टलका गहना बनाउने तालिम

२० जेठ २०८०, शनिवार
Image

धुलाबारी, २० जेठ । नारी कल्याणकारी विकास संस्थाको आयोजनामा पाँच दिवसीय कृष्टलका माला तथा गहना बनाउने तालिम शनिवार सकिएको छ । 

मेचीनगर नगरपालिका वडा नम्बर –९ को आर्थिक सहयोगमा आयोजित तालिममा ४५ जना महिला गहना बनाउने तालिम सहभागी भएका थिए । 

कार्यक्रमका प्रमुख अतिथि तथा वडा नम्बर–९ का वडाध्यक्ष कञ्चन तामाङले तालिममा सिकेको कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभएको छ । उहाँले यहाँ उत्पादित सामाग्रीको बजारीकरणमा समेत सहयोग गर्ने आश्वासन दिनुभयो ।


उहाँले हरेक महिलाहरुलाई आफूले सिकेको सीपको आफैं र आफन्तलाई मात्र प्रयोग गराउन सके पनि ठूलो उपलब्धी हुने बताउनुभयो । उहाँले खुट्टेडाँगी क्षेत्रका महिलालाई कृष्टलको गहना बनाउने सीप भएका महिलाको पहिचान बनाउन र आम आमा, दिदी, बहिनी माझ पुर्याउन आग्रह गर्नुभयो ।  

समाज सुधार महिला संघकी संस्थापक अध्यक्ष लीला कट्टेलले महिलालाई आत्मनिर्भर बनाउन सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिनुभएको थियो । उहाँले फेसबुक र टिकटकमा दिन विताउनुभन्दा रचनात्मक काममा महिलाले सक्रिय भएर समाजमा पहिचान पनि बनाउने सक्ने हुन सबैलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा सहभागीका तर्फबाट इन्दिरा डाँगी, रिदम नेपालका अध्यक्ष रुद्र रोक्का, प्रशिक्षक यामुना रेग्मीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

संस्थाकी अध्यक्ष जानुका ओलीले संस्थामा आवद्ध महिलाहरुलाई व्यवसायिक रुपमा माला तथा गहना बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सीप सिकाएको बताउनुभयो । उहाँले मेचीनगरका विभिन्न महिला समूहका महिलालाई तालिममा सहभागी गराएको जानकारी दिनुभयो । 

वि.सं. २०७२ सालमा स्थापना भएको संस्थाले विभिन्न समयमा महिलाहरुको सशक्तिकरणका लागि तालिमहरुको व्यवस्था गर्दै आएको उहाँले बताउनुभयो । तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्दै संस्थामा आवद्ध अधिकांश महिलाहरु कृषि, व्यापार, व्यवसायमा संलग्न रहेर आत्मनिर्भर बन्दै आएको उहाँको भनाई छ ।  

कार्यक्रममा सञ्जीवनी महिला विकास संस्थाकी अध्यक्ष रेणुका डाँगी, समाज सुधार महिला संघकी अध्यक्ष संगीता थापा, पत्रकार अम्बिका भण्डारी, महिला नेतृ पुष्पा भण्डारी, प्रतिक्षा पराजुली, वडा नम्बर ९ का सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थाकी सचिव लक्ष्मी श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो स्वरुप तालिम महिलाहरुले बनाउनु भएका कृष्टलमा माला, चुरा, औंठी उपचार स्वरुप प्रदान गरिएको थियो ।