२६ वैशाख २०८१, बुधवार

झापा अदालतमा सम्बन्ध विच्छेदका मुद्धा सबैभन्दा धेरै

१६ साउन २०८०, मङ्गलवार
Image

झापा, १६ साउन ।  जिल्ला अदालतमा दर्ता र फस्र्यौट भएका मुद्धाहरुमा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका छन् । 

आव २०७९/०८० मा एक हजार ७०७ वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका थिए । जसमध्ये ७६ प्रतिशत अर्थात एक हजार ३०६ वटा त्यस्ता मुद्धा फस्र्यौट भएको अदालतका श्रेष्तेदार वीरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार पारिवारिक विवाद अन्तर्गतको सम्बन्ध विच्छेद र अंशवण्डा मुद्धाले कूल मुद्धाको ३६ प्रतिशत अंश ओगटेको छ । उक्त अवधिमा ९६९ वटा अंशवण्डा मुद्धा दर्ता भएकोमा ५२१ वटा फस्र्यौट भएका थिए भने ४४८ वटा अर्को वर्षलाई सरेको छ ।

लिखत जालसाजी, लागू औषध, सवारी ज्यान, सम्पत्ति सम्बन्धी कसुरमा पनि तुलनात्मक रुपमा अरुभन्दा धेरै मुद्धा पर्ने गरेको पाइएको छ ।

लागू औषध र जालसाजी मुद्धा बढ्दै

आव २०७९/०८० मा लागू औषध सम्बन्धी कसुरमा ३७७ वटा मुद्धा दर्ता रहेकोमा २२० वटा फस्र्यौट भए भने १५७ वटा अर्को वर्षलाई सरेका छन् । लागू औषधसम्बन्धी कसुरमध्ये पनि ब्राउन सुगर ओसारपसार र प्रयोगमा ३१४ वटा मुद्धा दर्ता भएको थियो भने १८२ वटा मुद्धा फस्र्यौट भएका र १३२ वटा अर्को वर्षमा सरेका छन् । 

लिखत जालसाजी सम्बन्धी दर्ता भएका ४०७ वटा मुद्धामध्ये १५४ वटा फस्र्यौट भएका र २५३ वटा अर्को वर्षका लागि सरेका छन् । चेक अनादर सम्बन्धी २७१ वटा मुद्धा परेकोमा १५७ वटा फस्र्यौट भएका र १७२ वटा अर्को वर्षलाई सरेका छन् ।

उक्त आवमा सवारी ज्यान तथा अंगभंग सम्बन्धी १८४ वटा मुद्धा परेकोमा ११५ वटा फस्र्यौट भएका र ६९ वटा अर्को वर्षलाई सरेका छन् । जग्गा सम्बन्धी २५६ वटा मुद्धा परेको, ७७ वटा फस्र्यौट भएको र बाँकी १७९ वटा मुद्धा अर्को वर्षलाई सरेको पाइएको छ ।

यसैगरी, सम्पत्ति लेनदेन सम्बन्धी २३६ वटा मुद्धा परेको, ११२ वटा फस्र्यौट भएको र १२४ वटा अर्को वर्षलाई सरेको छ । लिखत बदर सम्बन्धी ४६२ वटा मुद्धा परेको, १८० वटा फस्र्यौट भएको र २८२ वटा अर्को वर्षलाई सरेको अदालतले जनाएको छ ।

बलात्कार सम्बन्धी तीन सय मुद्धा

बलात्कार, चोरी र बहुविवाह सम्बन्धी कसुरमा अदालतमा धेरै मुद्धा पर्ने गरेको देखिन्छ । आव २०७९/०८० मा बलात्कार (करणी) सम्बन्धी कसुरमा ३०३ वटा मुद्धा परेको, १५७ वटा फस्र्यौट भएको र १४६ वटा अर्को वर्षलाई सरेको पाइएको छ ।

अदालतको तथ्यांक अनुसार बलात्कार सम्बन्धी मुद्धाहरुमध्ये जबरजस्ती करणीमा २२४ वटा मुद्धा परेको, ११० वटा फस्र्यौट भएको र ११४ वटा अर्को वर्षलाई सरेको छ । जबरजस्ती करणी उद्योगमा ४४ वटा मुद्धा परेको, २८ वटा फस्र्यौट भएको र १६ वटा अर्को वर्षलाई सरेको छ । बाल यौन दूव्र्यवहार सम्बन्धी १६ वटा मुद्धा परेको, १० वटा फस्र्यौट भएको र ५ वटा अर्को वर्षलाई सरेको छ ।

चोरी तथा डाका सम्बन्धी कसुरमा २०९ वटा मुद्धा परेको, १४७ वटा फस्र्यौट भएको र ६२ वटा अर्को वर्षलाई सरेको जनाइएको छ । ठगीमा ६३ वटा मुद्धा परेको, १३ वटा फस्र्यौट भएको र ५० वटा अर्को वर्षलाई सरेको छ । मानव बेचविखन सम्बन्धी मुद्धा १७ वटा परेको, नौ वटा फस्र्यौट भएको र आठ वटा अर्को वर्षलाई सरेको पाइएको छ ।

उक्त अवधिमा झापा जिल्ला अदालतमा ज्यान सम्बन्धी कसुरको कत्र्तब्य ज्यानमा ४४ वटा मुद्धा परेको, २३ वटा फस्र्यौट भएको र २१ वटा अर्को वर्षलाई सरेको पाइएको छ । ज्यान मार्ने उद्योगमा ६३ वटा मुद्धा दर्ता भएकोमा ३५ वटा फस्र्यौट भएको र २८ वटा बाँकी रहेको थियो । बहुविवाहमा ५४ वटा मुद्धा परेको, ३० वटा फस्र्यौट भएको र २४ वटा बाँकी रहेको जनाइएको छ । बालविवाह सम्बन्धी कसुरमा दुई वटा मुद्धा परेकोमा दुबै मुद्धा अर्को वर्षलाई सरेका छन् ।

वैदेशिक रोजगारीमा गएका, अनमेल विवाह र अन्तरजातीय विवाह गरेका कारण पारिवारिक विग्रह भई सम्बन्ध विच्छेदका घटना धेरै हुन थालेको श्रेष्तेदार बस्नेतले बताउनुभयो ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।