२२ वैशाख २०८१, शनिवार

ज्याला वृद्धिको माग गर्दै पूर्वीनाकामा चिया श्रमिकको प्रदर्शन

२० साउन २०८०, शनिवार
Image

तस्वीर : नवराज सुबेदी/रातो पोस्ट
झापा, २० साउन ।  झापाका चिया श्रमिकहरुले ज्याला वृद्धि, सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नुपर्ने लगायतका माग राख्दै आज पूर्वीनाका काँकडभिट्टामा प्रदर्शन गरेका छन् । 

चिया मजदुरका तीन वटा संगठनको अगुवाईमा भएको प्रदर्शनमा सयौं श्रमिक सहभागी भए । उनीहरुले न्यूनतम् पारिश्रमिक वृद्धि गर, पत्ति डबली वृद्धि गर, रोजगार सम्झौता लागू गर, योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर भन्दै चर्का नाराबाजीसहित बजार परिक्रमा गरेका थिए ।

श्रमिकहरुको प्रदर्शनका कारण केहीबेर यातायात समेत प्रभावित भएको थियो । बजार परिक्रमा पश्चात आयोजित विरोध सभालाई श्रमिक संगठनका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका केन्द्रीय उपाध्यक्ष सइकुमार राईले चिया श्रमिकहरुले बिगत तीन वर्षदेखि न्यूनतम् पारिश्रमिक समेत नपाएको गुनासो व्यक्त गर्दै मजदुरका माग वेवास्ता गरिए कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिनुभएको छ ।

श्रम ऐन २०७४ मा श्रमिकले न्यूनतम् दैनिक ज्याला रु. ५७७ पाउने स्पष्ट उल्लेख भए तापनि चिया बगान र प्रतिष्ठानहरुमा कार्यरत श्रमिकहरुले रु.४३७ मात्र पाइरहेको उहाँको भनाई छ ।

अखिल नेपाल चिया मजदुर संघका नेता भुपाल सापकोटाले चिया बगान र कारखानाका सञ्चालकहरुले राज्यको श्रम ऐनकै अवज्ञा गरिरहँदा सरकार टुलुटुलु हेरेर रमिते बनिरहेको आरोप लगाउनुभयो । 

उहाँले सरकारले तोकेको दैनिक ज्याला र सुविधा नपाउँदा चिया मजदुरहरु भोकै पर्ने अवस्था आएको हुँदा आन्दोलनमा होमिन बाध्य हुनु परेको बताउनुभयो । बीसौं वर्षभन्दा अघिदेखि कार्यरत श्रमिकहरुको रोजगारी, स्वास्थ्य, पेन्सन र सुरक्षाको कुनै ग्यारेन्टी नहुनु लज्जास्पद भएको उहाँको भनाई थियो ।

चिया श्रमिकसँग सम्बन्धित चार बुँदे माग राखेर विगत महिनादेखि नै नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघले संयुक्त आन्दोलन गरिरहेका छन् ।

श्रमिक संगठनहरुले नेपाल चिया उत्पादक संघ, साना किसान चिया सहकारी संघ, नेपाल चिया विकास निगमलगायत सरोकारवालाहरुसँग सम्वाद गरे तापनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।

विरोध सभाका वक्ताहरुले चार बुँदे माग पूरा नभए आगामी भदौ ७ गतेदेखि देशभरका चिया बगान बन्द गर्ने चेतावनी दिएका छन् । दिनानुदिन महँगी बढिरहेको हुँदा सोही आधारमा २० प्रतिशत ज्याला वृद्धि हुनुपर्ने र हरियो पत्ती टिपाइमा ठेक्काभन्दा बढी पत्तीको डबलीको दर वृद्धि गर्नु पर्ने श्रमिकहरुको माग रहेको छ ।

झापामा १३२ वटा साना चिया बगान र ६९ वटा ठूला तथा संस्थागत चिया बगान सञ्चालनमा रहेका छन् । झापामा लगभग दश हजार हेक्टरमा चिया खेती हुने गरेको छ । ती बगानहरुमा ७० हजार श्रमिकहरु कार्यरत छन् ।