२२ वैशाख २०८१, शनिवार

इमरानलाई जस्तै अभियोग नेपालका नेतालाई लाग्छ कि लाग्दैन ?

२० साउन २०८०, शनिवार
Image

बेलायतकी महारानीले  दिएको बग्गी  उपहार ।

झापा, २० साउन । शीर्षकमा गरिएको प्रश्नको जवाफमा ढुक्कले भन्न सकिन्छ, लाग्दैन । 

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान आज तीन वर्षको जेल र एक लाख रुपैयाँको सजाय अदालतबाट सुनाइएपछि जेल पुगेका छन् । उनी पक्राउ परेको र उनका बयानबाजीहरु मिडियामा छरपस्ट छन् । तर, उनलाई लागेको आरोप बारेमा चर्चा कम नै छ ।

के थियो आरोप ?

इस्लामाबादस्थित तल्लो अदालतले आज सुनाएको फैसलामा इमरानलाई तोसखाना काण्डमा दोषी ठहर गरिएको छ ।

पाकिस्तानमा तोसखाना नामको एउटा सरकारी अड्डा छ । जसले पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री, सेनापति, निजी क्षेत्रका उच्च व्यक्ति लगायत उनीहरुका पत्नीले विदेशीबाट पाएका मूल्यवान उपहारहरु संग्रह गरेर राख्ने काम गर्दछ ।

सैन्य शासनको लामो र बदनाम इतिहास भएको मुलुक भए पनि पाकिस्तानमा विदेशी उपहारहरु राज्यको रेकर्डमा राख्नुपर्ने राम्रो कानूनी व्यवस्था छ । जुन नेपालमा कल्पना पनि गरिएको छैन ।

नेपालमा राजकीय ओहोदामा भएकाहरुले पाएका मूल्यवान उपहारहरु घरमा लैजाने चलन छ । राजाको पालामा त्यस्तै हुन्थ्यो । अहिले गणतन्त्र कालमा पनि उस्तै छ ।

सन् २०१८ मा प्रधानमन्त्री चयन भएपछि एकपटकको विदेशी भ्रमणमा तत्कालीन प्रधानमन्त्री इमरान खानले रु. १४ करोडको हिरा र सुनजडित घडी उपहार पाएका थिए । उक्त घडी उनले तोसखानामा इमानदारीका साथ बुझाए ।

त्यहाँको कानून अनुसार राज्यले ती उपहारहरु निश्चित प्रतिशत मूल्य तिरेर घर लैजान सम्बन्धित व्यक्तिलाई अनुमति दिन्छ । इमरानले १५ प्रतिशत मूल्य भुक्तान गरेर ती सामान लगेको बताइएको छ । 

तर, खानले ती सामान लगेको र त्यसबाट आर्जित गरेको सम्पत्ति सार्वजनिक गरेनन्, अर्थात लुकाए । उनलाई लगाइएका धेरै आरोपमध्ये एउटा यो पनि हो । जसलाई पाकिस्तानमा भ्रष्टाचार ठहर गरियो । 

नेपालका प्रधानमन्त्रीहरुले विदेश जाँदा के कस्ता उपहार पाउँथे, आजसम्म सार्वजनिक रुपमा भनिएको छैन । सीधा घर लैजान पाउने भएकाले  यसको सार्वजनिक चासो नभएको हो । 

गत वर्ष बीएन्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईले दुबईका राजकुमारबाट चन्द्रगढी एयरपोर्टमै एउटा सुनको लौरो उपहार पाएको सार्वजनिक भएको थियो । उनले त उपहार सार्वजनिक गरेँ । तर धेरै नेताहरुले उपहार लुकाएर राखेका छन् । 

नेपालका पूर्व प्रधानमन्त्रीहरुका निजी निवासमा विदेशबाट पाएका महँगा उपहारहरु कतिपय सजाएर राखिएको देखिन्छ । सुन, हिरा, घडी, मोवाइल, ल्यापटप जस्ता सामान भने बाहिर भन्ने गरिदैन ।

उहिले राणाकालमा जंगबहादुर राणाले पहिलोपल्ट विदेश भ्रमणको परम्परा बसाएको मानिन्छ । बेलायतबाट आउँदा उनले गिद्धे प्रेस (छापाखाना) नै ल्याएका थिए । उनले ल्याएको गिद्धे प्रेसमै गोरखापत्र छापिएको थियो ।

 दुबइका राजकुमारले दिएको सुनको लौरो ग्रहण गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाई।