४ असोज २०८१, शुक्रवार

प्रहरीले घाटबाटै उठायो ‘जलाउन लगिएको लाश’

२२ साउन २०८०, सोमवार
Image

झापा, २२ साउन । कनकाई आर्यघाटबाटै प्रहरीले आज कनकाई–३ सुरुंगाकी ३२ वर्षीया पूजा कोचकारको शब नियन्त्रणमा लिएको छ । दाहसंस्कारका लागि उक्त शब आर्यघाट पुर्याइएको थियो ।

प्रहरीका अनुसार मृतक पूजा ठेक्कापट्टा सम्बन्धी काम गर्ने चोपेन्द्र कोचकारकी कान्छी पत्नी हुन् । उनको आज विहान १० बजेतिर उपचारको क्रममा विर्तामोडको कञ्चनजंघा अस्पतालमा मृत्यु भएको थियो । परिवारले लाश बुझेर जलाउनका लागि कनकाईको आर्यघाट लगेको थिए । 

तर, मदिरा पिएर अरुवेला समेत घरमा झगडा भइरहने कारण स्थानीय बासिन्दाले प्रहरीलाई पूजाको मृत्यु पति र जेठी श्रीमतीको कुटपिटबाट भएको हुनसक्ने सूचना दिए ।

स्थानीयले प्रहरीमा दिएको मौखिक उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सुरुंगाको टोली कनकाई आर्यघाट पुग्यो र जलाउने तयारी भइरहेका बेला शब नियन्त्रणमा लियो ।

अहिले शबलाई नियन्त्रणमा लिएर पोस्टमार्टम जाँचका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल पुर्याइएको छ ।  

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार पूजालाई साउन १८ गते प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि साउन २० गते उनलाई विर्तामोडका कञ्चनजंघामा लगिएको थियो ।

कञ्चनजंघा अस्पतालका डा. प्रमोदकुमार साहले पूजाको लिभरमा समस्या देखिएको बताएका छन् । पोस्टमार्टम रिपोर्ट आएपछि अनुसन्धान अगाडि बढ्ने प्रहरीको भनाई छ ।