२७ मंसिर २०८१, बिहिवार

नेताको वेवास्तापछि चन्दाले बन्ने भो ठूले–सानेको घर

२३ साउन २०८०, मङ्गलवार
Image

झापा, २३ साउन । शक्ति, सत्ता र पैसाको पछाडि कुदिरहेको आजको दुनियाँमा गरीव निमुखाको पक्षमा बोलिदिने कोही हुँदैन भन्ने गरिन्छ । तर, मेचीनगर–३ दोकानडाँडाका बस्नेत दाजुभाई गरीव भए तापनि उनीहरुका लागि बोलिदिने मात्र होइन, घरै बनाइदिने दाताहरु भेटिएका छन् ।

गाउँघरमा ठूले भनेर बोलाइने ४२ वर्षीय छत्रबहादुर बस्नेत र साने भनेर बोलाइने ३२ वर्षीय प्रदिप बस्नेतको एउटा नाम मात्रको घर छ । सुस्त मनस्थितिको भएका कारण उनीहरुको बिहे पनि भएको छैन । वरिपरिबाट झारजंगलले घेरेको र मक्किएका बासका खाँवाखुट्टिले बनेको जीर्ण घरमा उनीहरुको बास छ ।

अलिकति हावाको बेग बढ्यो भने ढल्ने र अलिकति पानीको वर्षा भयो भने घरभित्रै छाता ओढ्नु पर्ने खालको उनीहरुको घरको दूरावस्था देखेर पत्रकार एवम् शिक्षक देबु बानियाँको कमलो मन निकै अघिदेखि पग्लिरहेको थियो । जब उनी धरानका मेयर हर्क साम्पाङको श्रमदान शिविरमा सहभागी भएर फर्के, बानियाँको सोच अर्कै भयो । उनले बस्नेत दाजुभाइको घर दाता खोजेर बनाइदिने निधो गरेँ ।

उनले आफु कार्यरत बाहुनडाँगी जेसीज गुहारे । गाउँकै नवज्योति युवा क्लव गुहारेँ । नवज्योति क्लवका अध्यक्ष स्थानीय सुमन थापाको अध्यक्षतामा आफु सचिव बसेर बस्नेत दाजुभाइ घर निर्माण समिति गराएँ । त्यसपछि अहिले देश विदेशमा रहेका दाताहरुले घर निर्माणका लागि यथासक्य सहयोग गर्न थालिसकेका छन् ।

‘मैले बस्नेत दाजुभाइको घर बनाइदिनु पर्छ भनेर सरकारका सबै निकायलाई गुहारेँ,’ निर्माण समितिका सचिव बानियाँ भन्छन्–‘मेयर गोपालचन्द्र बुढाथोकीलाई सुनाएँ । प्रदेश सांसद् गोपाल तामाङलाई अनुरोध गरेँ । वडाध्यक्ष हर्क बस्नेतलाई पनि धेरैपटक भनेँ । कसैले चासो देखाएनन् ।’

नागरिकका समस्या समाधान गर्ने बाचा गरेर जनताबाट चुनिएका प्रतिनिधिले नै वेवास्ता गरेपछि चन्दा उठाएर घर बनाउने अभियानमा जुट्न बाध्य भएको सचिव बानियाँ बताउँछन् । घरको टिन फेर्न आग्रह गर्दा पनि स्थानीय सरकारले सुनुवाई नगरेको उनको गुनासो छ ।

अहिलेसम्ममा दाताहरुबाट रु. नगद र सामान सहयोग जम्मा भइसकेको छ । मलमास र बर्खा सकिए लगत्तै घर निर्माण सुरु गरिने बानियाँले बताए । 

सचिव बानियाँका अनुसार बस्नेत दाजुभाइको दुःखको अवस्था बारे थाहा पाएपछि कतारमा रहेका सन्तोष भट्टराईले घर बनाउन सहयोग भनेर सुरुमा पाँच हजार रुपैयाँ पठाइदिएका थिए । त्यसपछि स्थानीय राम गिरी र राम मगरले सिमेन्टको जिम्मा लिए । इँटा सुरज देवकोटाले दिने भए । धुलावारीका सोम ओझाले छानोका लागि टिन दिने भएका छन् । मेचीनगर आल्मुनियम व्यवसायीले झ्याल दिने भयो । ईश्वर गिरीले दुई वटा ढोका दिने भएका छन् । डिजेन पुरीले कतारबाटै ५० हजार रुपैयाँ नगद सहयोग पठाएका छन् । अहिलेसम्म एक लाख ८० हजार रुपैयाँ नगद जम्मा भइसकेको बानियाँले बताए । 

घर निर्माण समितिले देबु बानियाँ, सुमन थापा र प्रमिस थापाको नाममा प्राइम बैंकमा संयुक्त खाता खोलेको छ । ‘घरका लागि चाहिने ७० प्रतिशत श्रोत संकलन भइसक्यो,’ उनले भने–‘चार कोठे घरमा ट्वाइलेट बाथरुम बनाउने योजना छ । जग्गा उनीहरुको आफ्नै छ ।’ 

बस्नेत दाजुभाइको घरमा अहिले एउटा कराई, दुईवटा थाल र कुच्चिएको एउटा भाडो छ । दुईवटा काठका पुराना खाट छन्, जसमा पुरानो फोम ओछ्याएर उनीहरु सुत्छन् । निर्माण समितिले घरका लागि आवश्यक सबै सामान किनेर दिने योजना बनाएको छ ।

आउँदो दसैंको फुलपातीमा उनीहरुलाई नयाँ घरमा सार्ने योजना रहेको बानियाँले बताए ।