२७ वैशाख २०८१, बिहिवार

खाडीबाट फर्किएकामा मिर्गौला रोगको बढी जोखिम

२४ असोज २०८०, बुधवार
Image

झापा, २४ असोज । खाडी मुलुक र मलेसियामा बाहिरी ड्युटी गर्नुपर्ने नेपाली कामदारमा मिर्गौला सम्बन्धी रोगको बढी जोखिम रहेको अध्ययनले देखाएको छ । 

खासगरी एकै स्थानमा लामो समय खटिनु पर्ने र ‘आउटडोर ड्यूटी’ पर्ने नेपाली कामदार यस्तो जोखिममा रहेको बेलायतको बर्नमथ विश्वविद्यालयले नेपालमा आएर गरेको स्थलगत अध्ययनमा देखिएको हो ।

विश्वविद्यालयले धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा विगत एक वर्षभित्र खाडीका ६ मुलुक कतार, साउदी अरब, कुबेत, ओमान, यूएई, बहराइन र मलेसियामा काम गरी फर्किएका नेपालीमा यस्तो अध्ययन गरेको थियो ।

नेपाल फर्किएका ७१८ जना पुरुष र स्थानीय ७२० जना ९३७९ पुरुष र ३४१ महिला० बीच तुलना गरेर सो अध्ययन गरिएको अध्ययनका नेतृत्वकर्ता डा. निर्मल अर्यालले जानकारी दिए । डा. अर्याल मिर्गौला रोग विशेषज्ञ समेत हुन् ।

डा। अर्यालका अनुसार मृगौलाको रोगको जोखिम उच्च भएकाहरुमा सबैभन्दा धेरै लामो समयसम्म एकै स्थानमा काम गरेका कामदार रहेका छन् । सुरक्षा गार्ड र सवारी चालकहरुमा समेत मिर्गौलाको समस्या अन्य काम गर्ने कामदारको तुलनामा धेरै पाइएको छ । प्रत्यक्ष घाममा, आउटडोर, धुलो–धुवाँमा काम गर्ने कामदारमा समेत यो समस्या धेरै पाइएको अध्ययनले देखाएको छ ।

यस अध्ययनका सिलसिलामा रगत र पिसाबको नमूना लिइएको थियो । त्यसपछि प्रश्नहरु सोधिएको थियो ।

अध्ययनमा मिर्गौला रोगको सम्भावित जोखिम जनाउने सिरम क्रियटिनिनको मात्रा औसतमा आप्रवासीहरुमा बढी देखिएको अर्यालले जानकारी दिए ।

‘मृगौलाको अवस्था जनाउने सबैभन्दा महत्वपूर्ण परीक्षण मानिने ‘ग्लोमेरुलर फिल्ट्रेसन रेट’को कमी ५।८ प्रतिशत अप्रवासी र ३।६ प्रतिशत गैरआप्रवासीहरुमा देखिएको छ,’ अध्ययनको नतिजाबारे अर्यालले भने ।

मिर्गौला रोगको अर्को परीक्षण पिसाबमा प्रोटिनको मात्रा भने खाडीबाट आउने नेपाली भन्दा धेरै स्थानीयमा देखिएको छ । खासगरी पुरुषमाभन्दा महिलाहरुमा यो समस्या बढी देखिएको छ । यसको कारकतत्व खोज्न भने बेग्लै अध्ययन गर्नुपर्ने देखिएको उनको भनाइ छ ।

खाडी मुलुक र मलेसियाबाट फर्किएका नेपाली र स्थानीयको  तुलना गर्दा उच्चरक्तचापको समस्या विदेशबाट नेपाल फर्किएका कामदारमा धेरै देखिएको छ । खाडीबाट फर्किएका नेपालीमा ३८ प्रतिशतलाई रक्तचापको समस्या देखिएको छ । स्थानीयमध्ये १९।४ प्रतिशतमा यस्तो समस्या देखिएको छ ।

मधुमेहको समस्या समेत विदेशबाट नेपाल फर्कनेमा धेरै देखिएको छ । खाडी मुलुक र मलेसियाबाट फर्किएका नेपालीमा ७।४ प्रतिशतलाई मधुमेह देखिएकोमा स्थानीय ४।७ प्रतिशतमा यो समस्या देखिएको छ ।