२५ वैशाख २०८१, मङ्गलवार

महिलाले घन्काए नौमति बाजा

७ पुष २०८०, शनिवार
Image

झापा, ७ पुस  भारतको दार्जीलिङबाट कोलकाता जन्ती जाँदा नौमति बाजा टोलीकी सदस्य बिर्तामोड–२ लालमाटीकी कल्पना भट्टराईले सुरताल मिलाएर दमाहा बजाउँदा धेरैको ध्यान तानिएको थियो । कतिले ‘दमिनी’ भनेर कानेखुशी गर्न भ्याए । एकजनाले चाहिँ उहाँको गलामा झुण्डिएको आइडी कार्ड पढेर चकित हुँदै ‘भट्टराई पो हुनुहुँदोरहेछ’ भने ।

झापाका महिलाले नौमति बाजा बजाउँछन् भन्ने थाहा पाएपछि दार्जीलिङका एकजना सैनिक जर्नेलले आफ्नो छोराको बिहेमा नेपालबाट बाजा बजाउने टोली झिकाएका थिए । त्यही टोलीमा कल्पनाले दमाहा बजाउनु भएको थियो ।

झापामा नौमति घन्काउने महिलाको दुई दर्जनभन्दा बढी टोली तयार भइसकेका छन् । विवाह, ब्रतबन्ध, गुन्यूचोली, पुराण, उद्घाटन र साधारणसभामा एउटै पहिरनमा सजिएका महिला टोलीले नौमति बाजा घन्काउँदै गरेको रोचक दृश्य झापामा बाक्लै देख्न पाइन्छ ।

विर्तामोड–२ की शान्तादेवी पौडेलको नेतृत्वमा झापामा महिलाको नौमती बाजा बजाउने पहिलो टोली बनेको थियो । पाँच वर्ष अघि पश्चिम नेपालमा एउटी महिलाले नर्सिङा बाजा फुकेको देखेपछि उहाँलाई महिलाको अलग्गै टोली बनाउने रहर जाग्यो ।

त्यसबेला शान्ताको नेतृत्वमा गाउँकै महिलाहरु नाटक खेल्थे । उहाँहरुले रुवा र खरानीको धागो जस्ता राम्रा नाटकमा उत्कृष्ट अभिनय गर्नुभएको थियो । विर्तामोड लगायत झापाका विभिन्न स्थानमा नाटक मञ्चन भएपछि उक्त महिला टोली कलाकारको रुपमा परिचित बनेको थियो ।

सोही टोलीलाई समेटेर शान्ताले नौमति बाजा बजाउने समूह खडा गर्नुभयो । आवश्यक तामिल लिएपछि विर्तामोड वडा नं. २ का तत्कालीन वडाध्यक्ष नगेन्द्र संग्रौलाले टोलीलाई बाजा किन्न रु. डेढ लाख बजेट दिनुभयो । नमुना कार्य भन्दै कनकाई नगरपालिकाले पनि बाजा खरिदका लागि रु. ३० हजार थपिदियो ।

केही नयाँ काम गरौं भन्ने शान्ताको त्यही हुटहुटीले झापामा महिलाहरु मात्र रहेको पहिलो नौमति बाजा बजाउने टोलीको जन्म भयो । उहाँहरुले टोलीलाई संस्थागत गर्दै ‘आर्ट स्टुडियो महिला नौमति बाजा संस्था’ दर्ता गर्नुभएको छ ।

टोलीमा १४ जना सदस्य छन् । सबै महिला छन् । उहाँहरुसँग नौमति बाजामा चाहिने दमाहा, टेम्को, बाम्ताल, झ्याम्टा, ढोलक, सनाई र नर्सिङा छन् । कार्यक्रमहरुमा उहाँले शुल्क लिएर बाजा बजाउँदै आउनुभएको छ । अवधि, र अवस्था हेरेर शुल्क निर्धारण हुने गरेको बताइएको छ ।

एउटा कार्यक्रममा बाजा बजाए वापत रु. दुई लाखभन्दा बढी शुल्क पाएको संस्थाकी कोषाध्यक्ष गोमादेवी बिमलीले बताउनुभयो । एउटा कार्यक्रम वापत टोलीले नेपालमा रु. १५ हजारदेखि ३० हजारसम्म शुल्क लिने गरेको छ । भारतमा भने भारु. ५० हजार शुल्क निर्धारण गरिएको बिमलीले जानकारी दिनुभयो ।

“दार्जीलिङबाट कोलकातामा जन्ती जाँदा रु. ५० हजार भाडा कबोल गरिएको थियो,” बिमलीले भन्नुभयो–“हामीले नौमति बजाएको मन पराएर उहाँहरुले भारु. डेढ लाख दिनुभयो ।” बाजा बजाउन आमन्त्रण गर्नेहरुले टोली र बाजा बोक्नका लागि गाडी भाडा व्यहोर्ने गर्नुभएको उहाँले जानकारी दिनुभयो ।

काठमाडौंमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी चढाउँदा झापाको यही टोलीले नौमति बाजा बजाएको थियो । उसबेला बाजा बजाए वापत रु. एक लाख शुल्क दिइएको थियो । 

भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले एउटा कार्यक्रममा नौमति बजाउन उहाँहरुको टोलीलाई निमन्त्रणा गर्नुभएको थियो । तामाङले महिलाहरुको नौलो र राम्रो कार्य भनेर प्रशंसा गर्दै भारु. एक लाख पुरस्कार दिनुभएको थियो । टोलीले चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीमा बाजा बजाउँदै दोहोरी समेत खेल्ने अवसर पाएको थियो ।

संस्थाकी अध्यक्ष शान्तादेवी पौडेलले नौमति बाजा बजाउन सुरु गर्दा आफु र आफ्ना साथीले पारिवारिक र सामाजिक असहयोग खेप्नु परेको बताउनुभयो । दलितले मात्र बजाउने बाजा भनेर अपहेलना गर्न खोजिए तापनि आफुहरुले बलियो आत्मविश्वास र लगनका साथ डटेर सामना गरेको उहाँले अनुभव सुनाउनुभयो ।

“यस्तो दमाई बाजा पनि महिलाले बजाउने भनेर परिवारका सदस्यहरुबाटै साथीहरुले अपहेलना भोग्नुपर्यो,” अध्यक्ष पौडेलले संघर्षका दिनहरु सम्झिदै भन्नुभयो–“सुरुमा कसैले पनि साथ दिएनन् । तथापि हामी पछाडि हटेनौं । अहिले चाहिँ राम्रो आम्दानी र सामाजिक रुपमा प्रशंसा हुन थालेपछि परिवारकै सदस्यहरु खुशी छन् ।”

टोलीका सदस्यहरुले घरको कामधन्धा छाडेर बाजा बजाउन जाने भएकाले संकलन भएको आम्दानीको ९० प्रतिशत बाँडेर लिने गरेका छन् । दश प्रतिशत आम्दानी चाहिँ संस्थाको कोषमा जम्मा गर्दै आएको कोषाध्यक्ष बिमली बताउनुहुन्छ ।

लोकभाका र चल्तीका जुनसुकै गीतमा सुमधुर धुन निकाल्ने महिलाको नौमति टोलीलाई अचेत कार्यक्रमहरुमा भ्याइनभ्याइ छ । व्यावसायिक रुपमा शुल्क लिने भएकाले आयआर्जनका दृष्टिले राम्रो स्रोत बनेको छ भने सामाजिक रुपमा दलितले मात्र बजाउने बाजा भन्ने पुरानो मान्यतालाई भत्काउन समेत उहाँहरुले योगदान दिनुभएको छ ।


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।