६ पुष २०८१, शनिवार

जगद्गुरुले पढेको गुरुकुलमा आसामदेखि आउँछन् बटुक

८ पुष २०८०, आइतवार
Image

झापा, ८ पुस । गुरुकुल शिक्षामा विद्यार्थीको आकर्षण बढ्न थालेको छ । झापाको अर्जुनधारा जलेश्वर धाममा सञ्चालित गुरुकुलमा भारतको आसामदेखि आएका विद्यार्थी अध्ययन गरिरहेका छन् ।

पूर्वोत्तर भारतको आसाम प्रान्तस्थित रंगियाका १७ वर्षीय कुमार मिश्र डेढ वर्षदेखि अर्जुनधारा संस्कृत बेद विद्यापीठमा पढ्दै हुनुहुन्छ । अर्जुनधारा नगरपालिका वडा नंं ३ मा रहेको यो गुरुकुलमा मिश्र जस्तै ४५ जना बटुक (विद्यार्थी)ले अध्ययन गर्दै आएका छन् ।

“पिताजी मेघालयको कोइलाखादमा काम गर्न जानुभएको छ,” गुरुकुलको कक्षा ४ मा पढिरहनु भएका मिश्र भन्नुहुन्छ–“माताजी हाजिरा गरेर कमाउनुहुन्छ । आफ्नो खेतबारी केही छैन । नेपालको अर्जुनधारा धाममा राम्रो संस्कृत पढाई हुन्छ भन्ने सुनेर घर सल्लाहमै यहाँ आएको हुँ ।”

उहाँले आसामको रंगियाबाटै एसइइ समकक्षताको औपचारिक शिक्षा पूरा गरिसकेर संस्कृत पढ्ने तीब्र चाहनाका कारण नेपाल आएको बताउनुभयो । भविष्यमा बनारस वा वृन्दाबन गएर आचार्य तहको पढाई पूरा गरेर धर्म, संस्कृति र समाजको सेवा गर्ने उहाँले आफ्नो लक्ष्य सुनाउनुभयो ।

बिगतमा संस्कृत अध्ययनका लागि पूर्वी नेपालबाट भारतको बनारस र वृन्दावन जाने प्रचलन थियो । धरानको पिण्डेश्वर लगायतका केही नेपाली संस्कृत विद्यालयले मात्र संस्कृत पढ्न चाहनेको लहर धान्दैनथ्यो । भारतमा संस्कृतको उच्च शिक्षा लिने र नेपाल फर्केर पुराण लगायतका धार्मिक अनुष्ठानको नेतृत्व गर्ने कुरा अहिले पनि सामान्य लाग्छ । तर, समयको परिवर्तनसँगै नेपालमा संस्कृत पढ्न भारतबाट बटुकहरु आउन थालेका छन् ।

वि.सं. २०४० सालतिर आचार्य पुष्पलाल निरौलाले अर्जुनधारा धाममा गुरुकुलको स्थापना गर्नुभएको थियो । निरौलाले प्राचार्यको रुपमा आजीवन सेवा गर्नु भएको उक्त गुरुकुल संस्कृत पढ्न चाहनेका लागि झापाकै उत्कृष्ट गन्तब्यको रुपमा परिचित रहेको अर्जुनधारा जलेश्वर धाम समितिका कोषाध्यक्ष मनोज जोशी बताउनुहुन्छ ।

सरकारले कक्षा ५ सम्म अनुमति दिएको यो गुरुकुलमा अध्ययनका लागि वर्षेनी सयौं इच्छुकहरु टाढादेखि आउने गर्छन् । तर, सीमित स्रोत र साधन भएकाले ४५ जनालाई मात्र पठनपाठन गराउन सकिएको जोशीले बताउनुभयो । पढ्छौं भन्दै आउने अरुलाई जिल्लाको अन्यत्र गुरुकुलमा सम्पर्क गराएर पठाउने गरिएको उहाँले जानकारी दिनुभयो ।

“केही वर्षयता गुरुकुलमै बसेर संस्कृत पढ्न चाहनेहरुको संख्या बढिरहेको छ,” उहाँ भन्नुहुन्छ–“हामीसँग भए जति भवन, कक्षा कोठा र सुविधाले पढ्न इच्छुक सबै नयाँ विद्यार्थीलाई धान्न सक्दैन । जिल्लामा रहेका अरु गुरुकुलमा पठाउन बाध्य छौं ।”

झापा, इलाम, मोरङ र सुनसरी जिल्लाबाट मात्र नभएर ताप्लेजुङ, जनकपुर र वीरगञ्जदेखि बटुकहरु अध्ययनका लागि अर्जुनधारा आएका छन् । खान, बस्न र पढ्न कुनै शुल्क नलाग्ने भएकाले विपन्न समुदायका अभिभावकहरुको रोजाई गुरुकुल हुने गरेको छ । संस्कृत भाषा र हिन्दू धर्मप्रति बढ्दो आकर्षणले समेत विद्यार्थीहरु गुरुकुल पुग्ने गरेको पाइएको छ ।

कक्षा ४ मा अध्ययन गरिरहेका १४ वर्षीय सक्रिश निरौलाको घर मोरङको बेलबारी हो । उहाँका बुवा वैदेशिक रोजगारीमा जानु भएको छ । उहाँकी आमा र भाइ घरमा छन् । सानैदेखि धर्म, संस्कार र संस्कृत भाषाप्रति रुचि राखेको देखेर सक्रिशलाई आमाबुवाले नै अर्जुनधारा संस्कृत बेद विद्यापीठमा भर्ना गरिदिनु भयो । उहाँ अहिले यस गुरुकुलका मेधावी बटुकमा गनिनुहुन्छ ।

“सानैदेखि संस्कृत भाषाका मन्त्रहरु उच्चारण गर्न चाख लाग्थ्यो,” बटुक सक्रिश निरौलाले भन्नुभयो–“मामली हजुरबुवाले अर्जुनधारा गुरुकुलमा राम्रो पढाई हुन्छ, पढ्छस् भनेर सोध्नुभयो । मैले पढ्छु भनेँ । वुवाआमाको मञ्जुरीले यहाँ पढिरहेको छु ।” भविष्यमा आचार्य (संस्कृत भाषामा स्नातकोत्तर तह) उत्तीर्ण भएर गुरुकुलको प्राचार्य बन्ने उहाँको सपना छ । व्यासासनमा बसेर पुराण सुनाउने पनि उहाँको रहर छ ।

जगद्गुरुले पढेको गुरुकुल

अर्जुनधारा संस्कृत बेद विद्यापीठ नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले अध्ययन गरेको गुरुकुल हो । उहाँले संस्कृतको प्रारम्भिक शिक्षा यही गुरुकुलमा बसेर लिनुभएको धाम समितिका कोषाध्यक्ष मनोज जोशी बताउनुहन्छ ।

झापाको हडिया बुधवारेमा वि.सं. २०३३ सालमा जन्मनु भएको जगद्गुरु देवाचार्य आठ वर्षको उमेरमा अर्जुनधारा गुरुकुलमा अध्ययनका लागि आउनु भएको र तीन वर्षपछि वृन्दाबन जानुभएको जोशीले जानकारी दिनुभयो । जगद्गुरु हाल सुनसरीको प्राचीन हरिद्वारको रुपमा कहलिएको चतराधाममा स्थायी रुपमा बस्नुहुन्छ ।

“जगद्गुरुले शिक्षा आर्जन गरेको गुरुकुल भएकाले पनि अर्जुनधाराको चर्चा चारैतिर फैलिएको हो,” उहाँ भन्नुहुन्छ–“गुरुकुल बस्दा दाउराका झिक्रा खोजेर भात पकाएर खाने गरेको संस्मरणहरु जगद्गुरु आफैले कार्यक्रमहरुमा सुनाउने गर्नुभएको छ ।”

यस गुरुकुलबाट दीक्षित भएकाहरु थुप्रै संख्यामा विद्यावारिधि उपाधिप्राप्त र महत्त्वपूर्ण ओहोदामा पुगिसक्नु भएको छ । यही गुरुकुलबाट दीक्षित आचार्य कुबेर निरौला हाल अर्जुनधारा जलेश्वर धामको व्यासाचार्य हुनुहुन्छ ।

हालै बालाचतुर्दशी पर्वको विशेष अनुष्ठानमा भारतको हरिद्वारबाट आउनु भएको पतञ्जलि योगका प्रख्यात गुरु आचार्य बालकृष्णले समेत अर्जुनधारा गुरुकुलको अवलोकन गर्नु भएको थियो ।

धामले व्यहोर्छ सबै खर्च

गुरुकुल सञ्चालनको सम्पूर्ण खर्च अर्जुनधारा जलेश्वर धाम समितिले व्यहोर्दै आएको छ । धामका स्वर्गीय व्यासाचार्य पुष्पलाल निरौलाले चालीस वर्षअघि गुरुकुल सुरु गर्दा मुठ्ठीदान नै सञ्चालनको मुख्य स्रोत थियो ।

बटुकहरुलाई लिएर प्राचार्य निरौला आफै धाम वरिपरिका गाउँमा मुठ्ठीदान संकलन गर्न हिँड्नुहुन्थ्यो । मुठ्ठीदानबाट चामल संकलन हुन्थ्यो भने केही दाताहरुले नगद पनि सहयोग गर्थे । मन्दिरमा चढाएका फलफुल बटुकहरुको भोजन हुने गथ्र्यो ।

त्यस्तो दयनीय अवस्थाबाट सुरु गरिएको यस गुरुकुलमा हाल सुविधाहरु मनग्ये थपिएका छन् । धाम समितिले वर्षेनी रु. १५ लाखसम्म बजेट दिएका कारण गुरुकुल सञ्चालन सहज हुने गरेको गुरुकुलका प्राचार्य हेमन्त भण्डारी बताउनुहुन्छ ।

अहिले गुरुकुलका लागि तीन तलाको भब्य पक्की भवन धामले निर्माण गरिदिएको छ । पाँच जना शिक्षक कार्यरत छन् । जसमध्ये तीन जना आवासीय र दुई जना बाहिरबाट आउने गर्नुभएको छ । संस्कृत, कर्मकाण्ड, रुद्री, चण्डी, बेद बाहेक नेपाली, अंग्रेजी, गणित लगायतका विषयका पाठ्यपुस्तकहरु पनि पठनपाठन हुने गरेको छ । 

गुरुकुलका लागि एउटा गौशाला छ । जसमा २० वटा गाईबाच्छा छन् । दुध, दही, मोही र घिउको कुनै अभाव छैन । चामल, दाल, तेल र तरकारी धाम समितिले चाहिए जति दिने गरेको छ । बटुक र शिक्षकलाई आवासीय सुविधा उपलब्ध छ ।

सरसफाई, गौशाला र भान्साका लागि पर्याप्त कर्मचारी नियुक्त गरिएको छ । “असुविधा र अभाव भन्ने केही पनि छैन,” प्राचार्य भण्डारीले भन्नुभयो–“शिक्षकहरुले पनि मासिक रुपमा पारिश्रमिक पाइरहनु भएको छ । शिक्षाको पवित्र मन्दिरको रुपमा सेवा, समर्पण र परोपकारी भावनाका साथ व्यवस्थित ढंगले गुरुकुललाई सञ्चालन गरिरहेका छौं ।”

कम्प्युटर पढाउने भावी योजना

समयानुकूल शिक्षा प्रदान गर्ने उद्देश्यले धाम सञ्चालन समितिले गुरुकुललाई थप सुविधासम्पन्न भवनमा सार्ने र कम्प्युटर शिक्षा समेत प्रदान गर्ने योजना अघि सारेको छ ।

धाम समितिका कोषाध्यक्ष जोशीका अनुसार पुस्तकालय स्थापना अन्तिम चरणमा पुगेको छ । सोही पुस्तकालयमा एक दर्जन कम्प्युटर राखेर सिकाउने धामको तयारी छ । धामको गुरुयोजनामा गुरुकुललाई सुविधासम्पन्न बनाउने उल्लेख रहेको र दाताहरुको सहयोगमा उक्त लक्ष्य पूरा गरिने उहाँले बताउनुभयो । 

हाल कम्प्युटर सिक्नका लागि सात जना बटुकहरु निजी खर्चमा धाम बाहिर इन्स्टिच्युट धाइरहेको पाइएको छ । बाहिर गएर कम्प्युटर सिक्न धामले अनुमति दिएको तर खर्च चाहिँ विद्यार्थी आफैले व्यहोर्नु पर्ने प्राचार्य भण्डारी बताउनुहुन्छ ।

परम्परागत रुपमा सञ्चालन भइरहेका गुरुकुलहरुलाई आधुनिक शिक्षाको स्वरुपमा ढाल्नु पर्ने र राज्यबाट सहयोग पुर्याइनु पर्ने आवाज उठ्न थालेको छ । तर, गुरुकुलका शिक्षकहरु भने आधुनिक शिक्षामा लैजाने नाममा गुरुकुलीय शिक्षा पद्धति मास्न नहुने बताउँछन् । 

सरकारले धार्मिक विद्यालयको रुपमा मान्यता प्रदान गर्दै गुरुकुलमा कक्षा ४ तहको औपचारिक अध्ययनको अनुमति प्रदान गर्दै आएको छ । यस गुरुकुलमा सरकारले एकमुष्ठ रु. दुई लाख शैक्षिक अनुदान उपलब्ध गराउँदै आएको छ । यस्तो अनुदान झापाका संस्कृत, गुम्बा र मदरसा विद्यालयहरुले पनि पाउँदै आएका छन् ।

महर्षि फाउन्डेसनको भरथेग

झापामा २२ वटा गुरुकुल सञ्चालनमा छन् । ती सबै मठमन्दिरमा संकलन हुने दान दक्षिणामा निर्भर हुँदै आएका छन् । आफ्नै स्रोत र साधन भएका गुरुकुल नगण्य छन् ।

गुरुकुल विद्यालयका लागि नेपाल महर्षि वैदिक फाउन्डेसन दर्बिलो दाता बनेको पाइएको छ । देशभरबाट छानिएका गुरुकुलहरुले फाउन्डेसनबाट आर्थिक सहयोग पाउँदै आएका छन् ।

“हरेक गुरुकुलमा कम्तीमा दुई जना शिक्षक कार्यरत हुनुहुन्छ,” मेचीनगर–१५ ज्यामिगरगढीस्थित ओमकारेश्वर गुरुकुलका प्राचार्य निरोज खनाल भन्नुहुन्छ–“एउटा शिक्षकको सम्पूर्ण पारिश्रमिक फाउन्डेसनले व्यहोर्दै आएको छ । फाउन्डेसनले सहायता बन्द गरेका दिनदेखि अधिकांश गुरुकुल बन्द हुनसक्ने चुनौति छ ।”

सरकारले वार्षिक रुपमा दिएको अनुदान भौतिक निर्माणमा खर्च हुने गरेको र गुरुकुलका विद्यार्थीलाई दिवा खाजामा समेत विभेद् गरेको उहाँले गुनासो गर्नुभयो । गुरुकुलका विद्यार्थी आवासीय हुने र विपन्न परिवारबाट आउने भएकाले उनीहरुको शिक्षा र भरणपोषणको दायित्वबाट स्थानीय सरकार पन्छिन नहुने उहाँको धारणा छ ।

फाउन्डेसनले दैनिक रुपमा रुद्राभिषेक गराउँदै आएको छ । रुद्राभिषेक गराउन फाउन्डेसनले ध्यान गुरु नियुक्त गरेर मासिक पारिश्रमिक दिने गरेको अर्जुनधारा संस्कृत बेद विद्यापीठका ध्यान गुरु चिरञ्जीवी ढुंगानाले बताउनुभयो । फाउन्डेसनकै सहयोगका कारण गुरुकुलका विद्यार्थीले नियमित रुपमा दैनिक २० मिनट भावातीत विधिको ध्यान र योग सिकिरहेको उहाँले जानकारी दिनुभयो । 

ध्यान र योग नियमित गरेका कारण गुरुकुलका विद्यार्थी अनुशासित, संस्कारी, स्वस्थ र तेजस्वी हुने गरेको ध्यान गुरु ढुंगाना बताउनुहुन्छ । गुरुकुलमा विद्यार्थीले हरेक विहान साढे चार बजे उठ्ने र राति ९ बजे गीता पाठ अनिवार्य रुपमा गर्नुपर्दछ । सन्ध्या पूजामा पाँच बजे पुगिसक्नु पर्दछ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।