२३ वैशाख २०८१, आइतवार

झापामा फुटबलका सात सय बढी व्यवसायिक खेलाडी

९ माघ २०८०, मङ्गलवार
Image

झापा, ९ माघ । झापा फुटबल खेलको उर्वर भूमि बनेको छ । यहाँ सात सय बढी फुटबलका व्यवसायिक खेलाडी रहेका झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले बताउनुहुन्छ । 

उहाँका अनुसार जिल्लामा बार्षिक रुपमा एउटा अन्तर्राष्ट्रिय स्तरको, २५ वटा प्रादेशिकस्तर र दर्जनौं वडा, टोलस्तरका फुटबल प्रतियोगिता आयोजना हुने गरेका छन् ।

झापामा बिगतमा खसी र भाले पुरस्कार राखेर सहर र गाउँमा प्रशस्त फुटबल प्रतियोगिता सञ्चालन हुन्थे । दसैं र तिहारका बेला आयोजना हुने यस्ता प्रतियोगिताले स्थानीय खेलाडी उत्पादनमा ठूलो योगदान दिएका थिए । अहिले त्यस्तो चलन तोडिएर नगद राशीको पुरस्कारमा रुपान्तरण भएको छ । स्थानीय सहकारी, उद्योगी र व्यापारीहरुले फुटबल प्रतियोगितामा आर्थिक सहयोग पुर्याएर खेलकुद क्षेत्रको विकासमा हौसला बढाइरहेको उहाँको भनाई छ ।

कोरोना महामारी अघिसम्म झापामा बार्षिक चार वटासम्म अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएका थिए । उहाँले महामारीको असर फुटबल खेलमा पनि परेको बताउनुभयो ।  

विगतमा झापा गोल्डकप, शिवसताक्षी गोल्डकप, काँकरभिट्टा गोल्डकप र रोलिङ च्यालेन्ज गोल्डकप हुने गरेका थिए । अहिले भद्रपुर गोल्डकप थपिएको छ । “अहिले ठूला पुरस्कार राशीका प्रतियोगिता झापा र भद्रपुर गोल्डकपमा सीमित भयो”, उहाँले भन्नुभयो, “त्यही पनि वर्षेनी आलोपालो आयोजना हुने सहमतिमा ।”

अस्मिता खवास लगायतका महिला खेलाडीले राष्ट्रिय टिममा बसेर योगदान पुर्याउनुभयो भने हरि खड्का, मिन बस्नेत, प्रवेश कटुवाल, विशाल राई, सचिन्द्र धिमाल लगायतका खेलाडीहरुले पुरुष राष्ट्रिय टोलीको विभिन्न जिम्मेवारी सम्हाल्नुभयो ।

अध्यक्ष आलेले फुटबल खेलमा धेरै युवाहरु आकर्षित भए पनि भविष्य सुनिश्चित नदेखेर विदेशिने क्रम बढेको समस्या सुनाउनुभयो । सरकारले खेल क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गरेर शिक्षामा जस्तै लगानी गर्ने नीति अवलम्बन गर्न आवश्यक रहेको उहाँको धारणा छ ।

उहाँले जिल्लामा हाल ‘ए’ डिभिजनका आठ वटा र ‘वी’ डिभिजनका ११ वटा गरी १९ वटा क्लवहरु रहेको बताउनुभयो । जिल्लाबाट नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी लगायतका विभागीय टिममा खेल्ने खेलाडीहरु पनि उत्तिकै रहेको बताउनुभयो । उहाँले सात सय बढी व्यावसायिक खेलाडीले झापाको फुटबल प्रतियोगितामा सहभागिता जनाउने गरेको बताउनुभयो ।

झापामा बिजेताले रु. एक लाखदेखि १३ लाखसम्म पुरस्कार पाउनेगरी फुटबल प्रतियोगिताहरु आयोजना हुने गरेका छन् । खेलाडी उत्पादन र उत्कृष्ट खेलाडी चयनका लागि झापा लिग हुने गरेको छ । झापाको रोलिङ च्यालेन्ज गोल्डकपको उत्पादन भनेर चिनिनु भएको पंकजविक्रम नेम्वाङ हाल अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष नै हुनुहुन्छ ।

जिल्लामा हुने वडा र टोलस्तरीय फुलबल प्रतियोगिताका लागि संघसँग अनुमति लिनु नपर्ने हुँदा बार्षिक रुपमा हुने सयौं खेलको लेखाजोखा छैन । नयाँ खेलाडी र प्राविधिक जनशक्ति उत्पादन गर्न संघ लागि परेको उहाँले बताउनुभयो । उहाँले प्राविधिक र नयाँ खेलाडी उत्पादनमा जोड दिइरहेको बताउनुभयो ।

उहाँले जिल्लामा खेल सिकाउन हाल ६० जना दक्ष प्राविधिक र २४ जना रेफ्री रहेको बताउनुभयो । उहाँँले चालु आर्थिक बर्ष भित्रमै थप दक्ष प्राविधिक उत्पादनको तयारी गरिरहेको बताउनुभयो । उहाँले युवालाई कुलतमा फस्न नदिन र विदेश पलायन रोक्ने माध्यम फुटबल नै भएको हुँदा सरकारले तत्काल नीति बनाएर लगानी बढाउनु पर्ने धारणा व्यक्त गर्नुभयो । 

छिमेकी मुलुक भारतको दार्जीलिङ, कालिम्पोङ र सिक्किमका बासिन्दाले फुटबल खेलेको देखेर झापाली युवाहरु फुटबल क्षेत्रमा दशकौं अघिदेखि आकर्षित भएको उहाँले जानकारी दिनुभयो । उहाँले भद्रपुर, कनकाई र अर्जुनधारा नगरपालिकाका प्रमुखहरु क्रमशः गणेश पोखरेल, राजेन्द्र पोखरेल र बलदेव गोम्देन पनि जिल्लाका चर्चित फुटबल खेलाडी रहेको बताउनुभयो । 

झापामा मेची रंगशाला मात्र राम्रो र सुविधा सम्पन्न खेल मैदान छ । उहाँले विर्तामोडमा रहेको डोमालाल रंगशालालाई पनि सरकारी स्तरको बनाउन तीन तहको सरकारले पहल गर्नुपर्ने बताउनुभयो । डोमालाल रंगशाला फराकिलो, एकान्त स्थानमा, यातायातको सुविधा भएको र सुरक्षाको दृष्टिकोणले उपयुक्त रहेको उहाँले जानकारी दिनुभयो । 

हाल जिल्लामा रहेका सामुदायिक वन क्षेत्र भित्र भएका खेल मैदान र विद्यालयका खेल मैदानलाई फुटबल प्रतियोगिताका लागि प्रयोग गरिँदै आएको उहाँले बताउनुभयो । स्थानीय पालिकाहरुले आफ्नो अलग्गै रंगशाला निर्माणमा चासो देखाइरहेका छन् । त्यसले झापाको फुटबल भविष्य अझ राम्रो हुने उहाँको कथन छ ।


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।