२६ वैशाख २०८१, बुधवार

पर्यटकको रोजाईमा किच्चकबध

११ माघ २०८०, बिहिवार
Image

झापा, ११ कात्तिक । महाभारतकालीन कथासँग जोडिएको धार्मिक तथा पर्यटकीय स्थल किच्चकबध आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेे गरेको छ । 

भद्रपुर नगरपालिका–२ मा १० विगाह जमिनमा फैलिएको यस स्थानमा पुग्नका लागि चन्द्रगढी विमानस्थलबाट दक्षिण १० किलोमिटर रहेको छ । प्राकृतिक दृश्यावलोकनका लागि सुन्दर मेची र देउनिया नदीको दोभानमा अवस्थित किचकबध स्थलमा हाल भीमसेनले किचकलाई बध गरिरहेको दुई वटा मूर्ति छन् ।

२०३८ सालमा निर्मित पुरानो मूर्ति भत्किन थालेपछि उत्तरी भागमा नयाँ मूर्ति बनाइएको किचकबध धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेले बताउनुभयो । सतीदेवी, विष्णुपादुका र शिवको मन्दिर पनि यहाँ छ । जसका कारण नेपालगञ्ज, जनकपुर, धनुषा, विराटनगर र भारतको विहारदेखि यहाँ अवलोकन गर्न र बनभोज खानका लागि आउने गरेको उहाँले बताउनुभयो । 

“यहाँ शनिवार र विदाका दिन बनभोजका लागि स्थान पाउन मुश्किल हुने गरेको छ”, अध्यक्ष थेबेले भन्नुभयो, “विहारसँग सीमा जोडिएको हुँदा दैनिक उतैदेखि पनि घुम्न र बनभोजका लागि पर्यटक आउँछन् ।” विजुली वत्ती, खानेपानी र शौचालयको राम्रो व्यवस्था र सुरक्षाको दृष्टिकोणले पनि सुरक्षित भएका कारण किच्चक बधमा पर्यटकको चाप बढेको उहाँको भनाई छ । जहाँ प्रहरीको अस्थायी विट र सेनाको व्यारेक छ । बनभोजका लागि रु पाँच सय र चिल्ड्रेन पार्क प्रवेशमा रु ३० मात्र शुल्क लिइने गरेको उहाँले बताउनुभयो । 

किच्चक बध पुग्नका लागि भद्रपुरदेखि सगरमाथा चोकसम्म कालोपत्रे सडक छ भने सो स्थानबाट पूर्व एक किलो मिटर ग्राभेल सडक छ । नगरपालिकाले हाल सो स्थानमा पुग्नका लागि कालोपत्रेसहितको रिङरोड नै निर्माण गरेको अध्यक्ष थेबेले बताउनुभयो । 

महाभारत कथामा पाँच पाण्डवकी रानी द्रौपदीमाथि कुदृष्टि राख्ने ‘किचक’ नामको पात्रलाई मारिएको स्थान भएकाले यस ठाउँको नाम ‘किचकबध’ रहन गएको किम्बदन्ती छ । यस क्षेत्रमा दुई हजार वर्ष भन्दा पहिलेको दरवार, किल्ला, पर्खाल, भाडाकुँडा र इँटाहरु पुरातत्व विभागको उत्खननबाट फेला परिसकेको छ । 

वरिपरि गहिरो खेतीपाती हुने कोसौँ टाढासम्मको उर्वर फाँटको विचमा अग्लो डाँडामा किचकबध स्थल रहेको छ । हरेक वर्ष माघ शुक्ल पूर्णिमाका दिन यहाँ धार्मिक मेला लाग्दै आएको छ भने मेलामा सबै धर्म र सम्प्रदायका मानिसको घुइँचो लाग्ने गरेको अध्यक्ष थेबेले बताउनुभयो । 

पुराणकालीन महाभारत कथाको किम्बदन्ती जोडिएको झापाको महत्वपूर्ण स्थल भएको हुँदा किचकबधमा पर्यटकीय आकर्षणयुक्त वातावरण बनाउन र भौतिक संरचना निर्माणमा विगतमा स्थानीय, प्रदेश र सङ्घीय सरकारले सहयोग गरेको थियो । 

पर्यटक आकर्षित गर्न सक्दा यस क्षेत्रकै विकासमा टेवा पुग्ने भएता पनि हाल कही कतैबाट सहयोग पाउन नसकेको उहाँको भनाई छ । समितिले पिकनिक स्पट, वाल उद्यान, सामुदायिक भवन, झोलुङ्गे पुललगायतका संरचना निर्माण भएको जनाएको छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।