१२ जेठ २०८१, शनिवार

झापाको पन्ध्रै पालिकामा फैलिदैछ विषालु ‘उल्टा काँडा’ झार

१८ माघ २०८०, बिहिवार
Image

झापा, १८ माघ । लज्जावती झारजस्तै देखिने विदेशबाट भित्रिएको ‘उल्टा काँडा’ नामक मिचाहा प्रजातिको झार फैलिएर झापामा जैविक विविधता र पशुपालनमा संकट थपिएको विज्ञहरुले जनाएका छन् ।

फरेस्ट एक्सन नेपालका अनुसन्धाता डा. लीलानाथ शर्माले झापाको मेचीनगरमा हालै भएको ताजा अध्ययनले १५ वटै वडामा ‘उल्टा काँडा’ फैलिएको भेटिएको र त्यसबाट जैविक विविधतामा संकट निम्तिएको बताउनुभयो ।

डिभिजन वन कार्यालय झापा, सामुदायिक वन उपभोक्ता महासंघ र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको सहकार्यमा फरेस्ट एक्सन नेपालले मेचीनगरमा छ जना प्राविधिक टोली खटाएर स्थलगत अध्ययन गरेको थियो । अध्ययनले सबै वडामा फैलिएको तथ्य फेला परेपछि यसको नियन्त्रण अभियानमा मेचीनगर नगरपालिकाले समेत चासो बढाएको छ ।

वैज्ञानिक नाम ‘मिमोसा डिप्लोट्राइका’ रहेको यो आगन्तुक झारलाई स्थानीयले ‘उल्टा काँडा’ भन्ने गर्छन् । लज्जावती झारसँग मिल्दोजुल्दो यो झारको पात, डाँठ र फूलमा विषालु झुस हुन्छ भने यसको घाँस खाएका पशुहरु बिरामी भएर मर्ने गर्छन् ।

झापा, मोरङ र सुनसरी जिल्लाका अधिकांश सामुदायिक वन र खाली जमिनमा ‘उल्टा काँडा’ झार डरलाग्दो रुपमा फैलिरहेको अनुसन्धाता शर्माले बताउनुभयो । यसको तत्काल नियन्त्रण गर्न विशेष कार्यक्रम नै चाहिने उहाँको सुझाव छ ।

‘उल्टा काँडा’ झार नियन्त्रण अभियान सञ्चालन गरिरहेको फरेस्ट एक्सन नेपालले केही वर्ष अघि गरेको अर्को अध्ययनले झापाका अधिकांश सामुदायिक बन, सहरका नयाँ घडेरी क्षेत्र र सडक किनारमा यसले रैथाने झारहरुलाई विस्थापित गरिरहेको निष्कर्ष निकालेको थियो । 

झापा र मोरङमा एक दशकमा ५०० भन्दा बढी चौपाया ‘उल्टा काँडा’को घाँस खाएर मरिसकेको फरेस्ट एक्सन नेपालले जनाएको छ । ‘उल्टा काँडा’को विषाक्त घाँस खाँदा मरेका पशुहरुमा बाख्रा खसीको संख्या आधाभन्दा बढी रहेको बताइएको छ ।

‘उल्टा काँडा’ बहुवर्षीय मिचाहा प्रजातिको झार हो । यसको बोट हरेक वर्ष फैलिरहन्छ । यसको उद्गम थलो अमेरिकी महाद्विप मानिएको छ । दुई दशक अघिदेखि नेपालमा यसले फैलिन थालेको मानिन्छ । भूटानी शरणार्थी शिविरको घेराबाराका लागि यसको बीज ल्याएर छरिएको र त्यहीँबाट फैलिएको विज्ञहरुको अनुमान छ । हाल पूर्वी नेपालमा मात्र यो पाइएको छ ।

अरेली काँडाको जस्तो काँडा र लज्जावतीको जस्तो पात हुने यसको झाडी तीब्र गतिमा फैलिन्छ । खोलाको किनार, बगर, खुल्ला ठाउँ, जंगल, सडक छेउछाउ र ढुंगाबालुवा छरिएको ग्रावेल बाटोमा यो जताततै भेटिने गर्छ । खोलाबाट ढुंगा र बालुवा ल्याइएको कारण सहरका घडेरी र सडकमा यसको झाडी फैलिएको हो ।

यसले खेतबारीमा फैलिएर अन्नबाली र चरन क्षेत्र मास्ने गरेको सामुदायिक वन महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारीले बताउनुभयो । झापाका २२ सामुदायिक बनमा अध्ययन गर्दा यसले जैविक विविधतामा संकट निम्त्याइसकेको पाइएको उहाँले बताउनुभयो ।

“यो झार जहाँ फैलिन्छ, त्यहाँ रैथाने झार र बुट्यान मासिन्छन्,” भण्डारीले भन्नुभयो–“फूल, जरा र लहराको माध्यमबाट यसको झाडी छिटो बढ्ने गरेको छ । झाडीभित्र बन्यजन्तु समेत छिर्न नसक्ने अवस्था सिर्जना हुन्छ ।”

मिमोसिन नामक विषालु रसायन हुने भएकाले उल्टा काँडाको घाँस खाएका अर्जुनधाराका थुप्रै पशु चौपाया मरेको उहाँले बताउनुभयो । यसको झुस र काँडा बिझेमा पशु र मानिसको शरीरमा चिलाउने र घाउ बन्ने गर्दछ । यसको डाँठमा उल्टो परेको काँडा हुने भएकाले स्थानीयले यसको नाम नै ‘उल्टा काँडा’ भन्ने गरेका हुन् । 

झापाको टिमाई, विरिङ, रतुवा, मावालगायतका खोला किनारबाट ल्याइने बालुवासँगै यसको विज गाउँवस्तीमा फैलिने गरेको छ । विर्तामोडको निचाझोडा सामुदायिक वनको २० हेक्टरभन्दा बढी जमिनमा ‘उल्टा काँडा’ झारले रैथाने बनस्पतिलाई विस्थापित गरिसकेको छ ।

“जहाँ फैलिएको छ, त्यहीँ यसलाई मास्ने कार्य गरेमा मात्र नियन्त्रण प्रभावकारी हुन्छ,” फरेस्ट एक्सन नेपालका अनुसन्धाता डा. शर्मा भन्नुहुन्छ–“स्थानीय तह, बन समिति र नागरिक समाज नै यसको नियन्त्रणमा हातेमालो गरेर अघि बढ्न आवश्यक छ ।” झाडीलाई समूल फाँडेर र उखेलेर आगो लगाई नस्ट गरेर यसको नियन्त्रण गरिदै आएको उहाँले बताउनुभयो ।

जैविक विविधता जोगाउन यस्ता मिचाहा झारको नियन्त्रणको खाँचो औल्याउँदै फरेस्ट एक्सन नेपालले झापाको हल्दिबारी, मेचीनगर लगायतका पालिकामा विशेष अभियान सञ्चालन गरिरहेको छ । “यो माइकेनिया झार भन्दा पनि डरलाग्दोसँग फैलिएको छ”, उहाँले भन्नुभयो “तत्काल नियन्त्रण गर्न पहल नगर्ने हो भने मास्नै नसक्ने गरी फैलिनेछ ।”

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।