२० फागुन २०८०, आइतवार

मेचीनगरमा अलपत्र बन्यो बहुआयामिक संग्रहालय

२९ माघ २०८०, सोमवार
Image

झापा, २८ माघ । हराउँदै गएको कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मेचीनगरमा निर्माण गरिएको ‘बहुआयामिक सांस्कृतिक संग्रहालय’ अलपत्र परेको छ ।

लक्षित समुदायको परामर्श र पहिचानलाई वेवास्ता गर्दै हचुवाको भरमा नाम मात्रको संग्रहालय बनाइएका कारण परियोजना अलपत्र परेको आदिबासी जनजाति अगुवाहरुको दावी छ ।

मेचीनगरका आदिबासी जनजातिले पहिचानका लागि बिगत दुई दशकदेखि संग्रहालयको माग गरेका थिए । जहाँ उनीहरुको परम्परागत कला, मौलिक संस्कृति, भेषभुषा र बाद्यबादनको जगेर्ना हुन सकोस् ।

मेचीनगर नगरपालिकाले वि.सं. २०७५ मा आदिबासी जनजातिहरुको संग्रहालय बनाउने योजना अघि सार्यो । विस्तृत परियोजना प्रस्ताव (डीपीआर)मा बहुजातीय सांस्कृतिक संग्रहालय बनाउने गरी विभिन्न भौतिक संरचनाको लागत अनुमान समेत नगरपालिकाले गरेको थियो ।

मेचीनगरको वडा नं. ११ मा स्थानीय बलभद्र माध्यमिक विद्यालयको तीन बिगाहा जग्गा भाडामा लिएर वि.सं. २०७८ मा ‘बहुआयामिक सांस्कृतिक संग्रहालय’को विभिन्न संरचना निर्माण भयो । सञ्चालनमा चासो नदेखाउँदा नगरको करोडौं लगानीमा बनेका संग्रहालयका संरचनाहरु अहिले प्रयोगविहीन बनेका छन् ।

मेचीनगर नगरपालिकाको योजना शाखाले जनाए अनुसार संग्रहालयको निर्माण कार्य तीन चरणमा सम्पन्न भइसकेको छ । पहिलो चरणमा संग्रहालय परिसरको पक्की घेराबेरा भएको थियो । दोस्रो चरणमा स्वागतद्वार, सार्वजनिक शौचालय, टिकट घर र पहुँच मार्गको निर्माण भयो । तेस्रो चरणमा पाँच वटा ठूलो हलसहितको भवन निर्माण भएका थिए ।

खनाल निर्माण सेवा मेचीनगर र ब्लूस्टार कन्स्ट्रक्सन प्रालि काठमाडौंले ठेक्कामा ती संरचनाहरु निर्माण गरेका हुन् । लागत इस्टिमेटभन्दा निकै कम रकममा ठेक्का लगाइएका ती भौतिक संरचनाको गुणस्तरमा समेत प्रश्न उठ्ने गरेको छ ।

स्रोतका अनुसार पाँच वटा भवन निर्माणका लागि रु. ६८ लाख ५० हजार ९१८ को लागत इस्टिमेट तयार पारिएकोमा खनाल निर्माण सेवाले रु. ४४ लाख ७६ हजार ७३० मा उक्त ठेक्का लिएको थियो । त्यसैगरी, संग्रहालयको पहुँच मार्ग, स्वागतद्वार, शौचालय र टिकट काउन्टर निर्माणको रु. ९१ लाख ८१ हजार १३५ लागत अनुमान गरिएकोमा ब्लूस्टार कन्स्ट्रक्सन प्रालिले रु. ७८ लाख ८४ हजार ६३९ मा उक्त ठेक्का लिएको थियो ।

मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक हृदय राजबंशीले वार्षिक रु. एक लाख विद्यालयलाई दिने शर्तमा नगरपालिकाले संग्रहालयका लागि जग्गा भाडामा लिने सम्झौता गरेको बताउनुभयो । हालसम्म नगरपालिकाले विद्यालयलाई भाडाको रकम उपलब्ध गराएको छैन ।

संग्रहालयको थप निर्माण कार्य अघि बढाउन र छिटो सञ्चालनमा ल्याउन नगरपालिकाले आवश्यक पहल गरिरहेको अवस्थामा अख्तियारमा संग्रहालय निर्माणका विषयमा मुद्धा परेको कारण समस्या थपिएको उहाँको भनाई छ । 

नेपालमै मेचीनगरमा मात्र पाइने ‘किसान’ जातिको बसोबास छ । यसबाहेक धिमाल, दनुवार, मेचे, थारू, मुण्डा, सुनुवार, राई, लिम्बु, भोटे, तामाङ, शेर्पा, नेवार, मगर, गुरुङ, भुजेल, राजवंशी, जोगी, ब्राह्मण, क्षेत्री, माझी र कुमाल गरी २२ जातिको बसोबास भएका कारण संग्रहालयमा २२ वटा भवन बनाएर सबै जातिलाई अलगअलग पहिचान दिलाउने संग्रहालयको विस्तृत परियोजना प्रस्तावमा उल्लेख छ ।

मेचीनगरको आदिबासी जनजातिका अगुवाहरु संग्रहालय निर्माणमा लक्षित समुदायसँग नगरपालिकाले कुनै परामर्श नगरेको आरोप लगाउँछन् । “कुन कुन जातिका लागि बनाएको हो हामीलाई थाहा भएन,” आदिबासी जनजाति महासंघ मेचीनगरका पूर्व अध्यक्ष ओमप्रकाश खापुङ भन्नुहुन्छ–“स्थानीय तह बन्नुभन्दा अघिदेखि आदिबासी जनजाति संग्रहालय बनाउनु पर्छ भनेर आवाज उठेको हो । नगरपालिकाले आफुखुशी नाम फेरेर बहुआयामिक बनाएछ ।”

नगरबासीको करबाट भएको करोडौं लगानी खेर जान नदिन नगरपालिकाले नगरभित्रका सबै जातीय समुदायसँग सल्लाह गर्नुपर्ने उहाँको सुझाव छ । उहाँले लक्षित समुदायको अपनत्व हुनेगरी परियोजना सञ्चालनका विषयमा छलफल गर्न नगरपालिकालाई आग्रह गर्नुभयो ।

गौचरन बन्यो परिसर

संग्रहालयका लागि निर्माण गरिएका अधिकांश संरचना बाहिरबाट दुरुस्त देखिए तापनि प्रयोगविहीन हुँदा भित्री रुपमा काम नलाग्ने हुन थालिसकेका छन् ।

परिसरको स्वागतद्वार आकर्षक छ । तर, ताला नलगाइएका कारण स्थानीयले परिसरलाई खुला गौचरन बनाएका छन् । दिनभर परिसरभित्र गाईबाख्रा चरिरहेका हुन्छन् ।

पक्की पर्खालमाथि काँडेतार लगाइएको छ । ड्रेनसहितको पहुँचमार्गमा सिमेन्टका ब्लक बिछ्याइएका छन् । प्रयोगमा नआउँदा ब्लकलाई झारपातले छोप्न थालिसकेको छ । परिसर पनि काँसघारी र झाडीले ढाक्न थालिसकेको छ ।

प्रवेशद्वार नजिकै टिकट काउन्टर र कार्यालयका लागि भवन बनाइएको छ । छेउमै मार्वल र टायल बिछ्याइएको सुविधायुक्त शौचालय भवन छ । त्यसपछि लहरै पाँच वटा उस्तै डिजाइनका हलसहितको पक्की भवन छन् । काउन्टर र शौचालयको छानो पक्की ढलानले बनेको भए तापनि संग्रहालयका पाँच भवनको छानो भने टिनको लगाइएको छ ।

नवनिर्मित कुनै पनि भवनमा बिजुली र पानीको सुविधा छैन । भवनहरु रङरोगन गरेर चिटिक्क पारिएका छन् । ढोकाका अधिकांश चुकुल काम नलाग्ने भएका कारण गाईबाख्राले गोब्राएर फोहोर बनाएका छन् ।

शौचालयको सेफ्टी ट्याङ्कको ढकन उघारै छाडिएको र गहिरो भौडीमा बर्खाको पानी भरिएको हुँदा दुर्घटनाको जोखिम छ । शौचालयका ढोका पनि प्रयोगमा नआई भत्किन थालेका छन् ।

जनप्रतिनिधिको वेवास्ता

नगरले बनाउने विकास निर्माणका परियोजनाहरु विस्तृत सम्भाब्यता अध्ययन नभई बनाउने गरिएको र सञ्चालनमा नल्याई अलपत्र छाड्ने गरिएको जनप्रतिनिधिमाथि आरोप छ ।

मेचीनगरमा प्यारीभिट्टा बसपार्क, महिला शिप विकास केन्द्र, युवा स्वरोगार भवन र कोभिड होल्डिङ सेन्टर लगायतका थुप्रै ठूला लगानीका परियोजना निर्माण भएर पनि सञ्चालनमा आउन सकेका छैनन् । काँकडभिट्टा भ्यूटावर निर्माण थालेर अलपत्र अवस्थामा छ भने नाका प्रवेशमा निर्माण गरिएको आकर्षक स्वागतद्वार एसियाली राजमार्ग निर्माणताका बन्नेबित्तिकै भत्काइयो ।

संग्रहालय रहेको वडा नं. ११ का वडाध्यक्ष रुद्र डाँगीले नगरपालिका आन्तरिक झमेलामा अलमलिएका कारण गौरवका आयोजनामा ध्यान केन्द्रित गर्न नसकेको बताउनुभयो ।

“नगरपालिका आन्तरिक झमेलामा फँसेको छ, म वडाकै काममा व्यस्त छु,” उहाँले भन्नुभयो–“बजेटको सुनिश्चितता नभएका कारण संग्रहालय जस्ता धेरै योजना सञ्चालनमा ल्याउन सकिएको छैन । यसलाई अघि बढाउनु पर्छ भन्ने सोचाई चाहिँ छ ।”

मेचीनगरका निवत्र्तमान नगरप्रमुख बिमल आचार्यले आफ्नो पालामा सुरु भएको संग्रहालयलाई सञ्चालनमा ल्याउन नयाँ जनप्रतिनिधिहरुले चासो नदेखाएको आरोप लगाउनुभयो । “नगरभित्रका २२ वटा जातिको पहिचान झल्काउने गरी सांस्कृतिक संग्रहालय बनाइएको हो,” उहाँले भन्नुभयो–“अहिलेका जनप्रतिनिधिलाई वेवास्ता गरेको देख्दा दुःख लाग्छ ।”     

पर्यटक आउने स्थानीयको आशा

संग्रहालय सञ्चालनमा आएपछि पर्यटकीय चहलपहल बढ्ने स्थानीयको आशा छ । पर्यटक आउँदा व्यापार व्यवसायको माध्यमबाट जीविकोपार्जन सहज हुने उनीहरुको अपेक्षा हो ।

विद्यालयको नाममा रहेको संग्रहालयको जग्गामा थुप्रै स्थानीयले खेतीपाती गर्दै आएका थिए । नगरपालिकाले परियोजना अघि बढाउने भएपछि स्थानीय किसानले विद्यालयको जग्गाको भोगचलन सहमतिमा छाडेको स्थानीय कालिका साामुदायिक बन समितिका अध्यक्ष योगेश भट्टराईले बताउनुभयो ।

उहाँले कालिका बनको सिमसार पर्यटकीय आकर्षणको केन्द्रमा परिणत भइसकेको हुँदा संग्रहालय सञ्चालनमा आए त्यहाँ पनि पर्यटकीय चहलपहल छिटै बढ्ने बताउनुभयो । निर्माण भइसकेका भौतिक संरचनाहरुलाई तत्काल सञ्चालनमा ल्याउन सकिने उहाँको धारणा छ ।

मेचीनगरमा मेचे, राजबंशी, धिमाल, किसान, मुण्डा, सन्थाल लगायतका आदिबासी समुदायको कला, संस्कृति, पहिरन र बाजा संरक्षण गरेर हाल निर्माण भइसकेका भवनलाई तत्काल प्रयोगमा ल्याउन सकिन्छ । तर, यसका लागि संग्रहालय कुन विधिबाट सञ्चालन कसरी गर्ने भनेर नीतिगत व्यवस्थाका लागि कार्यविधि बनाउन नगरपालिकाले हालसम्म कुनै चासो देखाएको छैन ।

नगरपालिकाले जुन समुदायको पहिचानका लागि संग्रहालय निर्माण गरेको हो, त्यही समुदायसँग कुनै छलफल नगरेकोमा मेचीगनरका जनजाति अगुवा ओमप्रकाश खापुङ असन्तोष प्रकट गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ–“बनाउनु त बनाइयो, जसका लागि बनाइएको हो उनीहरुले अपनत्व लिने वातावरण नगरपालिकाले बनाउनुपर्छ ।”–––   


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।