११ जेठ २०८३, सोमवार

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

११ जेठ २०८३, सोमवार
Image

झापा, ११ जेठ । संरक्षित वन्यजन्तुहरू मानव वस्तीमा पस्ने क्रम बढेसँगै तिनको सुरक्षित उद्धार, उपचार र पुनःस्थापनामा गम्भीर चुनौती देखिएको छ । 

पर्याप्त स्रोत, साधन र दक्ष जनशक्तिको अभावमा झापामा पछिल्लो दुई महिनाको अन्तरालमा एउटा चितुवा र एउटा गौरी गाई (गौर)को मृत्यु भएको छ । वन्यजन्तु संकटमा पर्दा समयमै र सुरक्षित उपायपूर्वक उद्धार हुन नसकेको भन्दै स्थानीय स्तरमा जनगुनासो समेत बढ्न थालेको छ ।

जिल्लामा हात्ती, बँदेल, बाँदर र मृग लगायतका वन्यजन्तु र मानवबिचको द्वन्द्व दिनानुदिन चर्किएको छ । सीमावर्ती क्षेत्र भएकाले भारतबाट समेत गौरी गाई लगायतका दुर्लभ वन्यजन्तुहरू यदाकदा नेपाली वस्तीमा आइपुग्ने गरेका छन् । आहाराको खोजीमा बालीनाली नष्ट गर्न वा बाटो बिराएर वस्ती पस्ने वन्यजन्तुलाई स्थानीयले धपाउने क्रममा ती घाइते हुने गरेका छन् । तर, जिल्लाभित्रै त्यस्ता घाइते वन्यजन्तुको उद्धारका लागि भरपर्दो संयन्त्र छैन ।

डिभिजन वन कार्यालय झापाको वन्यजन्तु शाखाका डा. जितेन्द्र यादवका अनुसार ठूला र हिंस्रक वन्यजन्तुको उद्धारका लागि डार्ट (लठ्याउने विधि) प्रयोग गर्नुपर्ने हुन्छ, जसका लागि कोशी टप्पु वन्यजन्तु आरक्षबाट प्राविधिक टोली र उपकरण झिकाउनुपर्ने बाध्यता छ ।

“घाइते हात्ती वा चितुवा जस्ता ठूला वन्यजन्तुलाई नियन्त्रणमा लिएर उपचार गर्न डार्ट अनिवार्य हुन्छ,” डा. यादवले भन्नुभयो– “हामीसँग सर्प र बाँदर समात्ने सामान्य उपकरण त छन्, तर डार्टका लागि आवश्यक सामग्री र दक्ष जनशक्ति छैन ।”

यही प्राविधिक कमजोरीका कारण दुई महिनाअघि बुद्धशान्ति–४ मा गाउँ पसेको एउटा चितुवालाई नियन्त्रणमा लिन कोशी टप्पुको टोलीले प्रयत्न गरिरहँदा स्थानीयको भीडले लठ्याइएकै अवस्थामा कुटेर चितुवा मारिदिएका थिए । 

त्यस्तै, यसै साता मेचीनगर–४ काँकडभिट्टामा भारतबाट आएको एउटा गौरी गाई (गौर) अत्तालिएर कुद्ने क्रममा लडेर हृदयाघातका कारण मर्यो । सहरको बिचमा घाइते अवस्थामा लडेको डेढ घण्टासम्म पनि उद्धार टोली नपुग्दा उक्त दुर्लभ वन्यजन्तुले ज्यान गुमाउनुपरेको मेची चरा तथा बन्यजन्तु संरक्षण समाजका अध्यक्ष देबेन्द्र खरेलले बताउनुभयो ।

यद्यपि, हरिण, मृग, कछुवा र अजिंगर जस्ता तुलनात्मक रूपमा कम हिंस्रक जीवहरू गाउँमा फेला पर्दा वनकै टोलीले उद्धार गर्दै आएको डा. यादवले बताउनुभयो । डिभिजन कार्यालयमा वन्यजन्तुको प्राथमिक उपचारका लागि औषधि भण्डारण र खोरको व्यवस्था भने गरिएको छ । सामान्य अवस्थाका घाइते वन्यजन्तुको उपचार वन कार्यालयकै टोलीले गर्ने र जटिल अवस्था भए भेटेरिनरी अस्पतालको सहयोग लिने गरिएको उहाँले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत अमृतबहादुर लिम्बूका अनुसार जिल्लामा कार्यरत वन कर्मचारी र सशस्त्र वन रक्षक टोलीले हात्ती वा चितुवा जस्ता हिंस्रक वन्यजन्तु धपाउने वा उद्धार गर्ने विशेष तालिम पाएका हँुदैनन् । यस्तो विशिष्टीकृत तालिम वन्यजन्तु आरक्ष केन्द्रका कर्मचारीसँग मात्र हुने उहाँको भनाइ छ ।

हाल झापाको दक्षिणी भेग कचनकबलस्थित दुर्गाभिट्टा र कनकाईको जामुनखाडी सामुदायिक वनमा वन्यजन्तुलाई सुरक्षित राख्ने आश्रयस्थल बनाइएको छ । वन कार्यालयले उद्धार गरेका अजिंगर, चितुवाका बच्चा, बाँदर र कछुवा लगायतका जीवहरूलाई तिनै दुई सामुदायिक वनमा पठाउने गरेको छ ।

विशेष गरी हात्तीको बढी समस्या खेपिरहेको मेचीनगरको बाहुनडाँगी क्षेत्रमा वन कार्यालयले सशस्त्र वन रक्षकको एउटा विशेष टुकडी तैनाथ गरेको सूचना अधिकारी समेत रहनुभएका सहायक वन अधिकृत लिम्बूले जानकारी दिनुभयो ।