१५ वैशाख २०८१, शनिवार

कनकाईमा पहिलोपटक कला–साहित्य महोत्सव हुँदै

४ फागुन २०८०, शुक्रवार
Image

कनकाई, ४ फागुन । कनकाईको रोटरी क्लवले कला–साहित्य उत्सवको आयोजना गर्ने भएको छ ।

कनकाई कला, संस्कृति र साहित्य महोत्सव नाम दिइएको उक्त उत्सव यही फागुन १४, १५ र १६ गते सुरुंगाको पशुपति माविमा सञ्चालन हुनेछ ।

रोटरी क्लव अफ सुरुंगाले आज पत्रकार सम्मेलन गरी उत्सवको तयारी र कार्यक्रमको विस्तृत जानकारी दिएको छ ।

क्लवका अध्यक्ष शिवकुमार कँडेलका अनुसार तीन दिवसीय महोत्सवको पहिलो दिन स्थानीय र वरपरका पालिकाका साहित्यकार, दोस्रो दिन जिल्लाका साहित्यकार र अन्तिम दिन राष्ट्रिय साहित्यकारहरुको प्रस्तुति रहने छ ।

कार्यक्रमका लागि कम्तीमा २५ लाख खर्च हुने अनुमान गरिएको छ । यसअघि मेचीनगरमा हुँदै आएको कला साहित्य उत्सव पहिलोपल्ट कनकाईमा आयोजना हुन लागेको हो ।

कनकाई साहित्य प्रतिभा प्रतिष्ठानका अध्यक्ष जीवराज सुबेदीले प्रतिष्ठानले अग्रसरता लिनु पर्ने महोत्सवको आयोजना रोटरी क्लवले गरेकोमा खुशी व्यक्त गर्दै कार्यक्रममा व्यापक सहभागिताका लागि आह्वान गरेका छन् ।

कनकाई नगर झापाको भौगोलिक केन्द्र मात्र नभएर राजनीति र साहित्यको समेत आकर्षक केन्द्र बन्दै गएको सन्दर्भमा कला साहित्य उत्सवको सोच विकास भएको सुबेदीले बताएका छन् ।

उनले कार्यक्रमको सफलताका लागि सहयोग पुर्याउन सम्पूर्ण साहित्यकार, जनप्रतिनिधि र सञ्चारकर्मीसँग अपिल गर्नुभएको छ ।

महोत्सवबाट साहित्य, कला र संस्कृतिप्रति कनकाई नगरबासीको अगाध प्रेम झल्किने र कनकाईको पहिचानमा नयाँ आयाम थपिने महोत्सवका संयोजक अखिलकुमार कोइरालाले बताएका छन् ।

रोटरी क्लब अफ सुरुंगाका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले महोत्सवमा तुलसी दिवस, अर्जुन पराजुली, डा. रामप्रसाद ज्ञवाली, डा. देवी नेपाल, मनु मञ्जिल, धीरेन्द्र प्रेमर्षि, प्रदीप रोदन, लक्ष्मण गाम्नागे, कुन्ता शर्मा, सुमन स्मारिका, हरिमाया भेटवाल, गीतकार शिशिर योगी लगायतका साहित्यकारको सहभागिता रहने पोखरेलले जानकारी दिएका छन् ।

उनका अनुसार फागुन १४ र १५ गते सञ्चालन हुने साँस्कृतिक कार्यक्रममा मनोज गजुरेल, रचना रिमाल लगायतका चर्चित कलाकर्मीहरुको प्रस्तुति रहने छ ।