२१ वैशाख २०८१, शुक्रवार

कोशी प्रदेशमा छ महिनामा क्षयरोगबाट ७९ को मृत्यु

९ चैत २०८०, शुक्रवार
Image

झापा, ९ चैत  कोशी प्रदेशमा क्षयरोगबाट मृत्यु हुनेको दर गतबर्षको तुलनामा बढेको स्वास्थ्य निर्देशनालय धनकुट्टा कार्यालयले जनाएको छ । 

कार्यालयका क्षयरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाईले चालु आर्थिक बर्षमा क्षयरोगबाट मृत्यु हुनेको दर कोशी प्रदेशमा ४ दशमलव ८ प्रतिशत रहेको बताउनुभयो । उहाँका अनुसार गत आर्थिक बर्ष २०७९÷०८० मा जम्मा जनसंख्याको अनुपातमा चार प्रतिशत क्षयरोगबाट मृत्यु दर रहेको थियो ।

उहाँले चालु आर्थिक बर्षको साउनदेखि पुस मसान्तसम्ममा कोशी प्रदेशका १४ जिल्लामा ७९ जनाका क्षयरोगबाट मृत्यु भएको  जानकारी दिनुभयो ।  

फोकल पर्सन गुरागाईले कोशीमा एक हजार ११४ वटा उपचार केन्द्र, १३२ स्थानमा खकार परीक्षण गर्ने ल्याब, १९ वटा जीन एक्सपर्ट मेसिन, चार वटा क्षयरोग प्रतिरोधी उपचार केन्द्र र एउटा आवासीय गृह रहेको जानकारी दिनुभयो । 

सरकारले प्रदेश भरिका क्षयरोगका विरामीहरुलाई प्रादेशिक अस्पताल भद्रपुर, ओखलढुंगा सामुदायिक अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको नेपाल क्षयरोग निवारण संस्थामार्फत निःशुल्क उपचार गर्दै आएको छ । 

चालु आर्थिक बर्षको छ महिना दुई हजार २३ क्षयरोगी फेला परेका छन् । जसमध्ये आफैं स्वास्थ्य जाँच गराएर पत्ता लगाउने ३७ दशमल ९ प्रतिशत, निजी अस्पतालमा चेक जाँच गर्दा ३९ दशमलव ३ प्रतिशत र सरकार अस्पतालमा परीक्षण गर्दा क्षयरोग पत्ता लागेको १८ दशमलव चार प्रतिशत रहेको उहाँको भनाई छ । 

उहाँले कोशीका १४ जिल्लामध्ये सबैभन्दा बढी क्षयरोगी झापा, मोरङ र सुनसरीमा रहेको बताउनुभयो । झापामा ५७९, मोरङ्गमा ५२३ जना, सुनसरीमा ४७९ जना, उदयपुरमा १४५ जना, इलाममा ८२, पाँचथरमा २२, तेह्रथुमा २१, धनकुट्टा २३, भोजपुर २८, खोटाङमा १६, ओखलढुङ्गा ५३, सोलुखम्बु १६, संखुवासभा २२ र ताप्लेजुङमा २३ जना क्षयरोगका विरामी फेला परेको बताउनुभयो ।

जिल्लामा रहेका स्वास्थ्य कार्यालय, पालिकामा रहेका स्वास्थ्य स्वास्थ्य संस्थालगायतले स्वयम्सेवक नै खटाएर क्षयरोगीहरुको खोजी गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले बिरामीले खोक्दा, हाछ्युँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम बढी हुने बताउनुभयो ।

झापा, मोरङ्ग र सुनसरीमा जनधनत्व बढी भएका कारण पनि क्षयरोगका विरामी बढी भएको उहाँको भनाई छ । सरकराले सन् २०३५ सम्म क्षयरोगको महामारी अन्त्य गर्ने लक्ष्य लिएको छ ।