१५ वैशाख २०८१, शनिवार

खुला सीमाका कारण झापाका बेकरी उद्योग संकटमा

१६ चैत २०८०, शुक्रवार
Image

भद्रपुर, १६ चैत । जिल्लाका बेकरी उद्योग संकटमा रहेको व्यवसायीहरुले बताएका छन् ।

झापाको भद्रपुर–७ स्थित नव दुर्गा मन्दिरको सभाहलमा शुक्रबार आयोजित बेकरी उद्योग व्यवसायी संघ झापाको चौथो साधारणसभा व्यवसायीहरुले त्यस्तो गुनासो गरेका हुन् ।

साधारणसभामा व्यवसायीहरुले झापामा खुला सीमाका कारण सस्तो भारतीय उत्पादन नेपाली बजारमा छ्याप्छ्प्ती पाइने, विभिन्न कारणले नेपाली उत्पादनले भारतीय उत्पादनसँग प्रतस्पिर्धा गर्न नसकेकोले झापाका बेकरी उद्योग संकटमा रहेको बताएका थिए ।

साधारणसभाको अध्यक्षता गरिरहेका संघका अध्यक्ष नरबहादुर गिरीले आफ्नो मन्तव्यका क्रममा झापामा बेकरी उद्योग निकै अप्ठ्यारोमा रहेको भन्दै तीनै तहका सरकारले यो उद्योगको संरक्षणका लागि योजनाहरु ल्याउनुपर्ने बताउनुभयो ।


साधारणसभाका प्रमुख अतिथि प्रेमप्रकाश सापकोटाले संघीय र प्रदेश सरकारको नीति अनुरुप बेकरी उद्योगी व्यवसायीको समस्या समधान गर्न लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भारतबाट अवैध रुपमा आयात हुने बेकरी आइटम र दक्ष कामदार अभावको विषयमा अनुगमन र तालिम आयोजना गर्ने पनि बताउनुभयो ।


कार्यक्रममा विशेष अतिथि झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठले सरकारी नीतिका कारण मुलुक परनिर्भर बन्दै गएको बताउनुभयो । उहाँले सरकारी नीति सुधारसँगै भ्रष्टाचार नियन्त्रण गर्न सके मात्र मुलुक समृद्ध हुने धारणा व्यक्त गर्नुभयो ।


त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका झापा अध्यक्ष ओमकृष्ण बिमलीले उद्योग खोल्नु उद्योगीका लागि दुर्भाग्यजस्तै बनेको गुनासो गर्नुभयो । उद्योग खोल्नेदेखि सञ्चालन गर्नेसम्मका अनेक झण्झटले गर्दा नेपालको उद्योग–व्यवसाय फस्टाउन नसकेको उनको भनाइ थियो ।


कार्यक्रममा नव दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष यादवप्रसाद पोखरेलले सरकारले उद्योगी–व्यवसायीमैत्री कानून ल्याउनुपर्नेमा जोड दिनुभयो । अधिवक्ता डम्बर वनले कानूनी जटिलताले गर्दा उद्योग, संस्थालगायतका दर्ता–खोल्न असहज परिस्थित रहेको औंल्याउँदै सोको अन्त्य हुनुपर्ने बताउनुभयो ।

साधारणसभामा संघका उपाध्यक्ष दिनेश अधिकारीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संघले २०७९ सालदेखि गरेका गतिविधि, बेकरी व्यवसायमा देखा परेका चुनौती र संघको भावी रणनीतिका बारेमा जानकारी गराएका थिए ।

नेपाल गुणस्तर तथा नापतौल कार्यालय झापाका प्रतिनिधि विजय चौधरीलगायतको आतिथ्य रहेको कार्यक्रममा स्वागत सदस्य सन्देश पौडेलले गरेका थिए भने सञ्चालन सदस्य भीमा शिवाकोटीले गरेकी थिइन् ।

साधारणसभासँगै भएको दोस्रो अधिवेशनले आगामी दुईवर्षे कार्यकालका लािग सुमन चिमरियाको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नवनिर्वाचित संघको उपाध्यक्षमा रमेशकुमार राजवंशी, सचिवमा दिनेश अधिकारी, कोषाध्यक्षमा नेत्र सोनी तथा सदस्यमा सागर दाहाल, राजु ढकाल, सन्देश पौडेल, कल्पना राजवंशी र गणेश घोष चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिले दुईजना सदस्य मनोनयन गर्ने जनाइएको छ ।

खगेन्द्र पोखरेलको संयोजकत्वमा प्रेम श्रेष्ठ, हरि राजवंशी, कञ्चन दास र शिव कार्की सदस्य रहेको निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि भूमिका निर्वाह गरेको हो ।