१८ वैशाख २०८१, मङ्गलवार

बाइस महिने बच्चाको बोनम्यारो प्रत्यारोपणका लागि सहयोगको अपिल

१६ चैत २०८०, शुक्रवार
Image

मेचीनगर, १६ चैत । मेचीनगर–६ निवासी दिपेन बराल र गायत्रीदेवी कडरियाको बाइस महिनाको छोरा सिद्धार्थबाबु बराल रगतमा क्यान्सर संक्रमण भएर भारतको भेलोरस्थित सीएमसी हस्पिटलमा बोनम्यारो प्रत्यारोपणको पर्खाइमा छन् ।

पाँच महिनादेखि भेलोरमा उपचार गराइरहेका सिद्धार्थको बोनम्यारो प्रत्यारोपण गराउन चिकित्सकले रु. एक करोड खर्च लाग्ने जानकारी दिएपछि उनका बुवा दिपेनले उपचार खर्च जुटाउन देश विदेशमा रहनु भएका मनकारी दाताहरुसँग सहयोगको याचना गर्नु भएको छ ।

मेचीनगर प्रेस क्लवमा आज पत्रकार सम्मेलन गरी उहाँले छोराको जीवन रक्षाका लागि आर्थिक सहयोग गरिदिन अपिल गर्नुभयो । अस्पतालले आगामी १५ दिनभित्र रकम जुटाइसक्न म्याद दिएकाले आर्थिक सहयोग जुटाउन उहाँ नेपाल फर्किनु भएको छ भने छोरोलाई हस्पिटलको बेडमा स्याहारेर बसिरहनु भएकी आमा गायत्रादेवी उनको उपचार कसरी गराउने होला भन्दै चिन्तित हुनुहुन्छ ।

‘म छोरोलाई बेडमा स्याहारेर बस्छु, तपाई घरगाउँमा साथीभाइ गुहारेर जसरी भए पनि रकम जुटाएर आउनु भनेर मलाई गायत्रीले पठाएकी छन्,’ दिपेनले भन्नुभयो–‘आफुसँग भएको सबै जायजेथा सकियो । साथीभाइले स्वतस्फुर्त दिएको पनि उपचारमै सकियो । अहिलेसम्म २३ ालख रुपैयाँ उपचारमा सकियो । अब बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने बेलामा देश विदेशमा रहनु भएको तपाईहरु सबै मनकारी दाताहरुसँग सहयोगका लागि याचना गर्दछु । कृपया मेरो छोरो बचाउन सहयोग गरिदिनुहोस् ।’

सिद्धार्थ १७ महिनाको हुँदा झापा र काठमाडौंमा देखाउँदा वरिष्ठ चिकित्सकहरुले उनको रगतमा क्यान्सर भएको पत्ता लगाएका थिए । नेपालमै उपचार गराउन हरसम्भव प्रयास गर्दा चिकित्सकहरुले दक्ष जनशक्ति र उपकरणको अभाव देखाउँदै सानो बच्चाको बोनम्यारो प्रत्यारोपण नेपालमा सम्भव नहुने बताएपछि सिद्धार्थलाई भारतको भेलोरस्थित सीएमसी हस्पिटल भर्ना गरिएको दिपेनले बताउनुभयो ।

भेलोरका चिकित्सकहरुले सिद्धार्थलाई बचाउन आगामी १५ दिनपछि बोनम्यारोको प्रत्यारोपण गराउनु पर्ने, तीन महिनासम्म हस्पिटलको बेडमै राख्नु पर्ने र त्यसपछि छ महिनासम्म डाक्टरको निगरानी भइरहनु पर्ने सल्लाह दिएको उहाँले जानकारी दिनुभयो ।


सहयोग समिति गठन

मेचीनगरका बौद्धिक युवा सागर शिवाकोटीको संयोजकत्वमा सिद्धार्थबाबु उपचार सहयोग समिति गठन गरिएको छ । समितिले नेपाल र विदेशमा रहेका नेपालीहरुबाट उपचारका लागि आर्थिक सहयोग जुटाउन पहल गर्ने भएको छ ।

संयोजक शिवाकोटीले उपचारका लागि एक करोड रुपैयाँ संकलन गर्नुपर्ने र त्यसका लागि सिद्धार्थका बुवा दिपेन बरालको विर्तामोडस्थित साढे १३ धुर जग्गा विक्रीमा राखिएको बताउनुभयो ।

‘एक करोड भनेको सानो रकम होइन, तर सिद्धार्थलाई बचाउन यति रकम जसरी पनि संकलन नगरी भएको पनि छैन,’ संयोजक शिवाकोटीले पत्रकार सम्मेलनमा भन्नुभयो–‘हामीसँग अब दुईवटा मात्र विकल्प छन् । एउटा सबैसँग आर्थिक सहयोग उठाउने र अर्को भनेको उहाँको जग्गा बेच्ने ।’

जग्गा विक्रीका लागि विभिन्न प्रयास भइरहे तापनि किन्ने व्यक्ति फेला नपरेको उहाँले बताउनुभयो । जग्गा बिक्रीका लागि समेत ग्राहक खोज्न सहयोग पुर्याइदिन शिवाकोटीले अपिल गर्नु भएको छ ।

सिद्धार्थबाबु बरालको नाममा नेपाल बैंक लिमिटेड काँकरभिट्टा शाखामा रहेको खाता नं. १०६१०६०७६१९३६४०००००१ मा सहयोग रकम जम्मा गर्न सकिने उहाँले जानकारी दिनुभयो । ‘फोन–पे’ मार्फत ‘नेपाल बैंक लिमिटेड ९८५२६६३२०३’मा समेत सहयोग रकम जम्मा गर्न सकिनेछ । 

सहयोग समितिका सदस्यमा मेचीनगरका हरि तिम्सिना, बिजय डालमिया, राजु कार्की, रुपसागर अधिकारी, गोपाल बस्नेत, प्रितम काफ्ले लगायत रहनु भएको छ ।

यसैबीच, मेचीनगर–८ का धर्मराज घिमिरेले सिद्धार्थबाबुको उपचारका लागि रु. पाँच हजार व्यक्तिगत सहयोग प्रदान गर्नु भएको छ ।

उहाँले आज साँझ मेचीनगर प्रेस क्लवमा आएर उक्त सहयोग रकम पुर्याइदिन क्लवका अध्यक्ष डम्बर बराललाई नगदै हस्तान्तरण गर्नुभयो ।

क्लवका अध्यक्ष बरालले प्राप्त सहयोग एकमुष्ठ रुपमा सिद्धार्थका बुवा दिपेन बराललाई उपलब्ध गराइने बताउनु भएको छ ।