झापा, १७ चैत । पाठ्यक्रम विकास केन्द्रले स्वीकृत भएका पाठ्यपुस्तक तथा पाठ्यसामग्री मात्र प्रयोग गर्न गराउन स्थानीइ तह लगायत सरोकारवालालाई आग्रह गरेको छ ।
शुक्रबार सबै स्थानीय तह, सामुदायिक तथा संस्थागत विद्यालयहरूका नाममा सूचना जारी गर्दै केन्द्रले स्वीकृतप्राप्त पाठ्य तथा सिकाइ सामग्री मात्र प्रयोग गर्न आग्रह गरेको हो ।
शिक्षा नियमावलीमा विद्यालयहरूले प्रयोग गर्ने थप पाठ्यसामग्री तथा पाठ्यपुस्तक पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेको हुनुपर्ने प्रावधान छ ।
साथै पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका बमोजिम गठित पाठ्यसामग्री व्यवस्थापन तथा मूल्याङ्कन समितिको सिफारिशका आधारमा विद्यालय तहका पाठ्यसामग्री सूचीकरण गर्ने व्यवस्था रहेको छ ।
सोही व्यवस्था अनुरूप पाठ्यक्रम विकास केन्द्रले प्रत्येक वर्ष पाठ्यपुस्तक तथा सिकाइ सामग्री स्वीकृत गरी सूचीकरण गर्दै आएको छ । केन्द्रले यसरी सूचीमा रहेका पूर्व प्राथमिकदेखि कक्षा १२ सम्मका पाठ्यसामग्री मात्र प्रयोग गर्न आग्रह गरेको हो ।