१८ वैशाख २०८१, मङ्गलवार

मेचीनगरमै ३३७ प्रजातिका चरा, ‘बर्ड सेन्चुरी’ घोषणा गर्न माग

१७ चैत २०८०, शनिवार
Image

झापा, १७ चैत । चरा तथा बन्यजन्तु संरक्षण अभियन्ता देबेन्द्र खरेलले मेचीनगरलाई चरा संरक्षण क्षेत्र (बर्ड सेन्चुरी) घोषणा गर्नुपर्ने बताउनु भएको छ । 

नगरभित्र ३३७ प्रजातिका चरा पाइने र दुर्लभ मानिएका चरा समेत ठूलो संख्यामा यही क्षेत्रमा पाइने भएकाले ‘बर्ड सेन्चुरी’ घोषणा गर्न आवश्यक रहेको उहाँको तर्क छ ।

रिडर्स झापाले पर्यटन कार्यालय काँकरभिट्टाको सभाहलमा आज आयोजना गरेको ‘चरी चर्चा’ कार्यक्रममा बोल्दै उहाँले स्थानीय सामुदायिक बनहरुद्वारा संरक्षित बाँसबारी र कालिका सिमसार क्षेत्रलाई एकीकृत गरी बर्ड सेन्चुरी’ निर्माण गर्न सकिने र त्यसबाट पर्यटक आकर्षण बढ्ने बताउनुभयो ।

नेपालबाट लोप भइसकेको घोषणा गरिएको हङरायो (हर्नबिल) चरा इलाममा खोजेर विश्वभर चर्चा पाउनु भएको मेचीनगर–७ निवासी खरेलले मेचीनगर वडा नं. १५ मा दुर्लभ हरित परेवा रहेको पत्ता लगाउनु भएको थियो । ढुकुर प्रजातिको यो चरा मेचीनगर बाहेक नेपालमा अन्यत्र पाइएको छैन ।

उहाँका अनुसार नेपालमा पाइएका सातै प्रकारका चिबे र पाँचै प्रकारका रुप्पी मेचीनगरमा पाइएको छ भने नेपालमा पाइएका चार प्रजातिका धनेश चरामध्ये हङरायोबाहेक तीन वटा प्रकार यहीँ भेटिएको छ । अतिसंकटापन्न अर्थात दुर्लभ चरामध्ये ठूलो बगर बट्टाई, हरित परेवा, पेटकैले कोइली, बगाले बगेडी, कालोटाउके बगेडी, कालो टाउके बिरहीचरी, ठूलो माकुरी चरी, प्याजीकाने बुंगेचरा र कानकैले बगेडी मेचीनगरमा पाइएका छन् ।

नेपाल र भारतकै सबैभन्दा सानो मानिएको आठ सेमी छोटो रातोठुँडे पुष्पकोकिल र १२० सेमी लामो भुँडीफोर गरुड चरा मेचीनगरमै रहेको उहाँले सप्रमाण पुष्टि गर्नु भएको छ । 

मेची चरा तथा बन्यजन्तु संरक्षण समाजका अध्यक्ष समेत रहनु भएको उहाँले चराको खोजीमा लाग्दाको अनुभव, चराको परिचय र महत्व बारे चर्चा गर्नु भएको थियो । उहाँले ‘मेचीनगरलाई के कुराले चिनाउँछ’ भनेर छोरीले सोधेको साधारण जस्तो लाग्ने प्रश्नबाट प्रभावित भएर चराबाटै नगरको पहिचान दिलाउने अभियानमा होमिएको बताउनुभयो ।

यस क्षेत्रमा लाग्न सरकारी र संस्थागत रुपमा उल्लेख्य आर्थिक प्रोत्साहन नभए तापनि व्यक्तिगत रुपमा ठूलो लगानी गरेर टाढैबाट सटिक तस्वीर खिच्न सक्ने शक्तिशाली लेन्सयुक्त क्यामेरा किन्ने गरेको र मिडिया जगतले धेरै माया गरेर संसारभर चिनाएको उहाँले बताउनुभयो ।

परिवारबाट राम्रो सहयोग पाएको जनाउँदै उहाँले चरालाई नमार्न आग्रह गर्नुभयो । कार्यक्रमको सुरुवातमा रिडर्स झापाकी सदस्य सञ्जु साम्पाङले विषय प्रवेश गराउँदै चरा संरक्षण अभियानबाटै खरेलले नेपालको नाम उचो पार्नु भएको बताउनु भएको थियो ।

कार्यक्रम हात्ती संरक्षण अभियन्ता शंकर लुइँटेलले हात्ती र चराबीच गहिरो सम्बन्ध रहेको बताउनुभयो । हात्ती हिँड्ने मार्गलाई चराचुरुंगीहरुले पछ्याउने गरेको र गाईबस्तुको वरिपरि दिनभर चर्ने बकुल्ला, रुप्पी लगायतका चराका बारेमा उहाँले चर्चा गर्नु भएको थियो ।

नेपालमा ८८६ प्रजातिका चरा रहेकोमा आफुले नै हरित परेवा नामक नयाँ चराको खोजी गरेर मुलुकमा पाइने चराको संख्या ८८७ पुर्याएको उहाँले जानकारी दिनुभयो ।