१८ वैशाख २०८१, मङ्गलवार

अध्यक्षमा प्रेम गिरी र उपाध्यक्षमा शिव ढुंगेल निर्विरोध निर्वाचित

१७ चैत २०८०, शनिवार
Image

विर्तामोड, १७ चैत । नेकपा एमाले झापाको अध्यक्षमा प्रेम गिरी निर्विरोध निर्वाचित हुनु भएको छ । उहाँसँगै उपाध्यक्ष पदमा शिव ढुंगेल पनि निर्विरोध निर्वाचित हुनुभयो ।

पार्टीको ११ औं जिल्ला अधिवेशन अन्तर्गत आज दिउँसो ११ बजेदेखि ३ बजेसम्म उम्मेद्वार मनोनयन दर्ता गर्ने कार्यतालिका थियो ।

उक्त अवधिभित्र अध्यक्षमा गिरी र उपाध्यक्षमा ढुंगेलको मात्र उम्मेद्वारी दर्ता भएको थियो । यसअघि दुबै जना अध्यक्ष पदको आकांक्षी थिए । तर, पार्टीको उच्च नेतृत्वले पहल गरेर अध्यक्ष र उपाध्यक्ष दुबै पदमा सर्वसम्मतको वातावरण बनाएको हो ।

निर्वाचन समितिका अनुसार सचिव पदमा तुलसी कार्की र बोधराज घिमिरेको उम्मेदवारी दर्ता भएको छ भने दुई जना उपसचिवमा असारु राजवंशी, अनिता कन्दङ्वा, टीका मग्रान्ती र चन्द्रा सुब्बा गरी चार जनाको उम्मेदवारी परेको छ ।

सहमतिको पहलकर्ताहरुले मतदानमा जानु अघिसम्ममा दुबै पदमा सर्वसम्मत उम्मेद्वारको चयन गरिसक्ने दावी गरेका छन् ।

जिल्ला अधिवेशनबाट १५० सदस्यीय कमिटी निर्वाचित हुने भएको छ । जसका लागि तीन सयभन्दा बढीले उम्मेदवारी दिएका छन् । भूगोल, जनवर्गीय संगठन र क्लस्टरहरुबाट समेत सर्वसम्मत उम्मेद्वार छान्न कसरत भइरहेको छ ।