१८ वैशाख २०८१, मङ्गलवार

कार्गिल सहिद स्मृति फुटबल

रोमाञ्चक जीतसहित ब्रदर्स युनाइटेड सेमिफाइनलमा

१७ चैत २०८०, शनिवार
Image

बाहुनडाँगी, १७ चैत   सनसिटी फुटबल क्लबमाथि रोमाञ्चक जीत निकाल्दै ब्रदर्स युनाइटेड चन्द्रगढी दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । 

कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा जारी प्रतियोगितामा सनसिटीविरुद्ध १–० को संघर्षपूर्ण जीत निकाल्दै चन्द्रगढी सेमिफाइनल प्रवेश गरेको हो ।

ब्रदर्स युनाइटेड चन्द्रगढीका लागि पहिलो हाफको इञ्जुरी समयमा सञ्जिव गिरीले गरेको गोलनै निर्णायक बन्यो । दोश्रो रोजाईमा परेका चन्द्रगढीका शक्ति राईको पासलाई सदुपयोग गर्दै सञ्जिवले गोललाई जाली चुमाउँदै टिमलाई जीततर्फ डो¥याएका थिए ।

सनसिटीले शुरुवातदेखिनै आक्रामक खेलेको थियो । १२ औँ मिनेटमा सनसिटीका आयुष श्रेष्ठले विपक्षी खेलाडी सबै बिट भइसकेको अवस्थामा बललाई सही दिशा दिन नसक्दा अग्रता लिनबाट चुकेको थियो । १३ औँ मिनेटमा चन्द्रगढीका कर्ण लिम्बूले गरेको प्रिकिक पोष्ट माथिबाट बाहिरियो । चन्द्रगढीका सुरज लिम्बूले १८ औँ मिनेटमा गरेको प्रहार सेकेण्ड बार हुँदै बाहिरिएको थियो ।

त्यसैगरी, ३४ औँ मिनेटमा चन्द्रगढीका शक्ति राईको वान भर्सेस वान गरेको प्रहार गोलरक्षक सन्दिप लिम्बूले उत्कृष्ट बचाउ गरेका थिए । पहिलो हाफ १–० को स्थितिमा रहेको सनसिटीले दोश्रो हाफमा उत्कृष्ट मुभ बनाए पनि बल फ्रेममा राख्न नसक्दा गोल फर्काउन सकेन । सनसिटीका लागि ५१ औँ मिनेटमा विशाल तामाङले गरेको प्रहारलाई विपक्षी गोलरक्षक दिपान्सु राउतले विफल बनाइदिए । घरेलु दर्शकको पूर्ण समर्थन पाएको सनसिटीका लागि ६० औँ मिनेटमा सञ्जोग मगरले प्रहार फ्रेममा रहन सकेन ।

८० औँ मिनेटमा चन्द्रगढीले पेनाल्टीमार्फत दोश्रो गोल गर्ने मौका पाएको थियो । सनसिटीका कप्तान विप्लब तामाङले चन्द्रगढीका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टी विकास थुलुङले प्रहार गरेका थिए । पेनाल्टीको सदुपयोग गर्न नसकेपछि चन्द्रगढी अग्रता दोब्बर हुन चुक्यो । सनसिटीको अधिकांश प्रहार गोलमा परिणत हुन नसकेपछि खेलमा चन्द्रगढी विजयी बन्यो । चन्द्रगढीका सञ्जीव गिरी म्यान अफ दी म्याच घोषित भएसँगै नगद १ हजार ५ सय रुपैयाँ, ट्रफी प्राप्त गरे ।

बाहुनडाँगी जेसीजको आयोजनामा जारी प्रतियोगिता चैत २२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आठवटा टिमले सहभागिता जनाएका छन् । बिजेता टिमले एक लाख १ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ५१ हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडीले नगद ५ हजारसहित ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

बाहुनडाँगी जेसीज सचिवालय निर्माण गर्ने हेतुले आयोजित फुटबल प्रतियोगितामा झापा गोल्डकप र जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको छ । भोलिको अन्तिम क्वाटरफाइनल खेल काँकरभिट्टा फुटबल टे«निङ सेन्टर र किलारामजोत एकलब्य युवा संघ भारतबीच हुने आयोजकले जनाएको छ ।