१८ वैशाख २०८१, मङ्गलवार

हात्तीको आक्रमणमा पाँच महिनामा झापामा छ जनाको मृत्यु

१८ चैत २०८०, आइतवार
Image

झापा, १८ चैत । दैनिकजसो हुल बाँधेर आउने जंगली हात्तीले धनसँगै जनको क्षति गर्न थालेपछि झापाली चिन्तित बनेका छन् ।

चालु आर्थिक बर्षको मंसिरदेखि चैत १७ गतेसम्मको पाँच महिनामा जंगली हात्तीको आक्रमणमा परी ज्यान गुमाउनेको संख्या जिल्लामा छ पुगेको हो ।

हात्तीले जंगलमा घाँस दाउरा गएका, वर्निङवाकमा रहेका र घरमै सुतिरहेको अवस्थामा कुल्चेर मारेको डिभिजन वन कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ ।

कार्यालयका प्रमुख मेघराज राईका अनुसार यही साता मात्र जंगली हात्तीको आक्रमणमा परी दुई जनाको ज्यान गएको छ । गत शुक्रवार राति कमल गाउँपालिका वडा नं। ५ की ५८ वर्षीया खड्गमाया माबो, र बुधबार साँझ शिवसताक्षी–११ का ६० वर्षीया पवित्रा भेटुवालको हात्तीको आक्रमणम मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

एक सातामै छिमेकी पालिकाका दुई महिलाको मृत्यु भएपछि स्थानीय त्रासमा छन् । कुन बेला कसलाई आक्रमण गर्ने हो भनेर रातभर निदाउन नसकिरहेको कमल–५ की ७० वर्षीया रुमा सुब्बाले बताउनुभयो । जिल्लाका १५ वटै पालिका हात्ती प्रभावित रहेको छ । जसमध्ये दमक नगरपालिकामा एक जना, शिवसताक्षीमा दुई जना, हल्दिबारीमा दुई जना र कमल गाउँपालिकामा चालु आर्थिक बर्षको छ महिनामा हात्ती आक्रमणबाट मृत्यु भएको छ ।

छ महिनायता झापा लगायत मोरङ र सुनसरी जिल्लामा जंगली हात्तीको बिगबिगी बढेको छ । भारतबाट बाहुनडाँगी नाका हुँदै नेपाल प्रवेश गरेका २९ वटा जंगली हात्ती नफर्किएका कारण तीन जिल्लाको जनजीवन त्रस्त बनेको छ । हाल तीन जिल्लामा ६० वटा भन्दा बढी जंगली हात्ती रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।–––